Subscribe Us

बैठकमा कसले होच्यायो बादललाइ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो रोग अहिले होच्याएर बोल्ने बनेको छ । पार्टी एकता भए पनि सांसद शून्य पक्षका नेताहरूको जम्बो टोली लाजिम्पाटमा बोलाएर गरिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले नेता बादललगायतलाई होच्याएर बोलेका थिए । 

नेता रामबहादुर थापा बादलको लागि तस्बिर परिणामहरिबोल गजुरेल, वर्षमान पुनलगायतले होच्याउन थालेपछि माओवादी केन्द्र विवादको चरमचुलीमा पुगेको थियो । त्यही कारण विभाजको मुखमा पुगेको माओवादी सम्हाल्न प्रचण्डले समाधानको उपाय खोजेका छन् । काठमाडौंमा तीन दिनसम्म बसेको केन्द्रीय कार्यालय समिति र सचिवालय समिति बैठकमा मत विभाजन हुँदा पार्टी विभाजनको संघारमा पुगेको थियो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टीका नेता रामबहादुर थापा बादल समूहका नेताबीच मत बाँझ्दा माओवादी केन्द्र फुटको संघारमा पुगेको थियो । प्रचण्ड पक्षधरका नेताले बादल, मातृका यादव, मणि थापा, तिलक परियार समूहका अन्य नेताहरूलाई होच्याएर कुरा गरेपछि विवाद चुलिएको थियो ।

हाल कायम रहेको झन्डै २५ सय जनाको केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउन बसेको बैठकमा प्रचण्ड पक्षधरका नेताहरूले एकताबाट आएका बादल, मातृका, मणि, तिलक परियारलगायत पक्षधरको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । एकताबाट आएका समूहले ६ जेठमा पार्टी एकता हुँदा भएको संयुक्त एकता अधिवेशनले पारित गरे बमोजिम ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउनुपर्ने अडान राखेको थियो ।
तर प्रचण्ड पक्षधरका नेताहरूले ४ सय ९९ जनालाई आधार मानेर अगाडि बढ्दा आफ्ना पक्षका सिनियर नेताहरू पाखा लाग्ने र एकताबाट आएकाको जुनियर नेताहरू पनि केन्द्रीय समितिमा आउने भन्दै असहमति राखेका थिए । प्रचण्ड पक्षका प्रभावशाली नेताहरूले एकताको संयुक्त अधिवेशनले पारित गरेको नीतिबमोजिमको काम नहुने स्पष्ट पारेपछि विवादले उग्र रूप लिएको थियो । 

प्रचण्ड पक्षका नेताहरूको उक्त भनाइपछि एकताबाट आएका समूहले पुरानो एमाओवादी पक्षधरका नेताहरूले विचारमा एकता चाहे पनि भावना र व्यवहारमा एकता नचाहेको भन्दै आफूहरू पुरानै ठाउँमा फर्केर जाने बताएका थिए । ‘६ जेठमा भएको संयुक्त एकता अधिवेशनले पारित गरेको नीति र भावनालाई यदि तपाईंहरूले अस्वीकार गर्नुहुन्छ भने हामी भूल भयो, माफ गर्नुहोला भन्दै फर्किनेछौँ’ बैठकमा एकताबाट आएका एक नेताले भनेका थिए ।

बादल समूहका प्रभावशाली नेताको उक्त भनाइपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत हच्किएका थिए । तीन दिनसम्म लगातार बसेको बैठकले कुनै पनि निष्कर्ष निकाल्न नसकेपछि प्रचण्डले दिमाग लगाए । नेता बादलसँगको सल्लाहमा प्रचण्डले राष्ट्रिय भेलामार्फत विवाद समाधान गर्ने उपाय निकालेपछि तत्कालका लागि पार्टी फुटनबाट जोगिएको छ । माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गतेका लागि राष्ट्रिय भेला बोलाएको छ ।

Post a Comment

0 Comments