Subscribe Us

यौन दुराचारको डरलाग्दो सञ्जाल,
भ्रमणको नाममा यौन दुराचारका लागि काठमाडौं आउँदै अमेरिकी नागरिक

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले बाल यौन दुराचारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । दुराचारको आरोपमा तीन साता अगाडि नेपाल छिरेका अमेरिकी नागरिक केनेथ जोसेफ कमबस र काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको हो । 

कमबस यौन दुराचारकै लागि तीन महिनाको भिसा लिएर ७ भदौमा काठमाठौं उत्रिका थिए । कमबस जस्ता यौन दुराचारीलाई लुच्चे जस्ता दलालले कलिला बालकको चाँजोपाँजो मिलाउने गरेको सिआइबीकोे अनुसन्धानबाट खुलासा भएको छ । ७ भदौमा नेपाल छिरेका कमबसको पहिलो सम्पर्क दलाली लुच्चेसँग भएका प्रमाण सिआइबीले हात पारेको छ । 

कमबसको भ्रमणको मुख्य उद्देश्य यौन दुराचार भएको समेत पुष्टि भएको सिआइबीको दाबी छ । उमेरले ४८ काटेका कमबस नेपाल आउनुको प्रमुख उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो । विषेश सूचनाको आधारमा सिआइबीले गत शुक्रबार ठमेलको होटल याम्बुको एक कोठाबाट कमबसलाई ११ देखि १४ वर्ष उमेरका तीन बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेपछि उनको भ्रमणको रहस्य खुल्यो । सिआइबीको नियन्त्रणमा रहेका कमबसले सुरुमा आफू सम्मानित व्यक्ति भएको भन्दै प्रतिकारसमेत गरेका अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । ब्युरोले होटलबाट समातिएका तीनसहित आठ बालक र कमबसलाई बालक उपलब्ध गराउने लुच्चेलाई पनि हिरासतमा लिएपछि मात्र उनको बोली बन्द भएको थियो । कमबसको नेपाल भ्रमण बाल यौन दुराचारका लागि रहेकोे तथा उसको अरू पनि समूह हुन सक्ने भन्दै सिआइबीले अनुसन्धान थालेको छ ।

 सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले भने, ‘कमबसजस्तै थुप्रै विदेशी र नेपालीलाई पनि लुच्चेले बालक उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलासा भएको छ ।’ नेपाल आउने बाल यौन दुराचारी विदेशीको पहिलो सम्पर्क व्यक्ति लुच्चे भएको र त्यहीअनुसार अनुसन्धान सुरु भएको सिलवालले बताए । इलिनोइसका बासिन्दा बताउने ५१७८१७११२ राहदानी नम्बर भएका कमबसले आफू ‘एप डेभलोपर’ भएको बयान दिएका छन् । कमबसको मोबाइल र ल्यापटपमा बालकहरूसँग गरेका अश्लील तस्बिर र भिडियोसमेत भेटिएका छन् । प्राविधिकसमेत रहेका कमबसले ल्याटपबाट मेटाएका डाटा रिकभर गर्दा धेरै प्रमाण फेला परेको सिआइबीले जनाएको छ । यौन दुराचारीको सिकारमा परेका आठै जना बालकले आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा हाजिर भएर बयान दिएका छन् । उनीहरूको बयान अदालतबाट प्रमाणितसमेत भइसकेको सिआइबीले जनाएको छ ।

बयानमा बालकहरूले केही वर्षदेखि आफूहरू माथि यौन दुराचार भइरहेको बयान दिएको सिआइबीले जनाएको छ । लुच्चेले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप दोलखालगायत जिल्लाबाट विभिन्न प्रलोभनमा पार्दै बालक काठमाडौं ल्याउने गरेको सिआइबीको अनुसन्धानबाट खुलासा भएको छ । ती बालकलाई लुच्चेले स्वयम्भूस्थित आफ्नो डेरा कोठामा राख्दै आएका थिए । विदेशीको मागबमोजिम ती बालक होटल र रिसोर्टमा उनले पु¥याउने गरेका थिए । लुच्चेले गाउँमा गएर सहरमा लगेर पढाउने, जागिर लगाइदिने र पैसा दिने भनेर बालक काठमाडौं ल्याउने गर्थे । नेपाल घुम्ने बहनामा यौनदुराचारको उद्देश्य बनाएर नेपाल आउने विदेशीको संख्या ठूलो हुनसक्ने अनुमान ब्युरोको छ । 

सामान्य लुच्चेको आर्थिक अवस्थासमेत एकाएक अकासिएको र उनको सम्पत्ति विवरण देख्दा ब्युरोका अधिकृत चकित खाएका छन् । उता पर्यटन व्यवसायी पनि शंकाको घेरामा तानिएका छन् । ब्युरोका प्रारम्भिक अनुसन्धानमा काठमाडौंका प्रचलित केही पाँचतारेदेखि नगरकोट, धुलिखेल, ककनी र थानकोटका रिर्सोटसम्म लुच्चेले बालकलाई यौन दुराचारका लागि पु¥याउँदै आएको खुलेको छ । ठमेलमा रहेका होटल र नाम चलेका टुर अपरेटरसम्मको अप्रत्यक्ष संलग्नता यसमा पाइएको ब्युरोले जनाएको छ । डिआइजी सिलवालका अनुसार विदेशीसँग पैसा लिएर केही ठूला पर्यटन व्यवासायी पनि यो धन्दामा संलग्न रहेको प्रमाण ब्युरोले फेला पारेको छ । 
विदेशीलाई बालक उपलब्ध गराउन मासिक लाखौं डलरसम्मको कारोबार भइरहेको छ, मात्र बाल यौन दुराचारका लागि नेपाल आउनेको सख्या पनि ठूलो छ, यसमा ठूलो सञ्जाल सक्रिय छ,’ सिलवालले भने । उनका अनुसार होटलमा बसेका विदेशीको कोठामा पटकपटक फरकफरक बालक गइरहनु र होटलका कर्मचारी मौन रहनु रहस्यमय छ । उनले भने, ‘यो समस्या सबैको हो, कलिला बालकमाथि भइरहेको अपराध रोक्न सबैको सहयोग अनिवार्य छ, यस्तो अपराध गर्नेलाई ब्युरोले छोड्दैन ।’ ब्युरोले काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत कमबस र लुच्चेलाई ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments