Subscribe Us

लागुऔषधको अखडा बन्दै ठमेल,
ह्यान्डी क्राफ्ट पसलमा ‘पोलेन’

काठमाडौं । राजधानीको पर्यटकीय स्थलको रूपमा स्थापित ठमेल पछिल्लो समय लागुऔषधको अखडामा परिणत हुन थालेको छ । पर्यटकका लागि आवश्यक सामान बेचबिखन गर्न खोलिएका पसलहरू नै भित्री रूपमा लागुऔषधको धन्दा चलाउने गरेको प्रमाण फेला पर्न थालेका छन् । 
 
गत साता ठमेलस्थित सातघुम्तीमा ह्यान्डी क्राफ्ट पसलबाट ९ सय ग्राम ‘पोलेन’ नामक लागुऔषध प्रहरीले बरामत गरेको थियो । उक्त पसलका सञ्चालक सुनील क्षत्रीले ह्यान्डी क्राफ्ट पसलको आवरणमा चरेस प्रकारको एक किसिमको लागुऔषध ‘पोलेन’ बेचबिखन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

क्षत्रीलाई महानगरीय आयुक्त कार्यालयबाट खटिएको विशेष टोलीले उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको थियो ।  ठमेलमा व्यापार गर्ने नाममा होटल, रेस्टुरेन्ट, लाइफब्याड, ह्यान्डि क्राफ्ट पसल, डिस्को जस्ता जहाँ विषेश गरी विदेशी पर्यटकको जमघट हुन्छ, त्यहाँबाट लागुऔषधको कारोबार हुने गरेको प्रहरीको दाबी छ । 
 
यसअघि प्रहरीले रेस्टुरेन्टमा गमला राखी गाँजाको खेती गर्ने आधा दर्जन रेस्टुरेन्ट व्यवसायीलाई कारबाहीको दायरामा ल्याइसकेको छ । लैनचौर प्रहरी वृत्तमा डिएसपी सोमेन्द्रसिंह राठौरको आगमनसँगै ठमेललाई लक्षित गरी ल्याइएको ७ किलो चरेससमेत बरामत गर्न प्रहरी सफल भएको छ । दैनिकजसो ठमेलमा एक किलोको हाराहारीमा चरेस कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । प्रायः ठमेलमा धादिङ र मकानपुरबाट चरेस भित्रिने गरेको डिएसपी राठौरले बताए । 

अन्तर्राष्ट्रिय जगत्मा नेपालको चरेसको मागसमेत बढी भएको कारण नेपाल आउने पर्यटकहरूले चरेसको खोजी बढी गर्ने कारण ठमेलमा यसको कारोबार बढेको डिएसपीको राठौरको बुझाइ छ । पर्यटकदेखि लागुऔषधको सिकार बनेका नेपाली युवाले समेत ठमेलबाट लागुऔषध खरिद गर्ने गरेको पुष्टि हुदै आएको छ । दुई साताअघि लागुऔषधको कारोबार गर्ने गरेको अभियोगमा फेवा दोहोरीको सञ्चालक पक्राउ परेका थिए । दोहोरीका सञ्चालक सेते भन्ने दिनेश गुरुङलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

ठमेलमा दोहोरी सञ्चालन गर्न बहानामा सेतेले धादिङमा उत्पादित हुने चरेस ठमेलदेखि थाइल्यान्डसम्म पु¥याउने तथा थाइल्यान्डबाट मनोप्रदिक लागुऔषध नेपाल भित्र्याउने गरेको प्रमाण फेला परेपछि दुई साता अगाडि नियन्त्रणमा लिएको हो । हाल सेते मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय भद्रगोल डिल्लीबजारमा छन् । सेतेले चरेस बोकाएर भरियाको रूपमा थाइल्यान्ड पठाएको दुई महिलासमेत थाइल्यान्ड जेलमा रहेको सूचना पाएपछि प्रहरीले यस विषयमा समेत अनुसन्धान सुरु गरेको छ ।

Post a Comment

0 Comments