Subscribe Us

व्यक्ति होइन, सोच खराब हुन्छः गुरुङ

सिजन गुरुङ
अध्यक्ष, तरुण दल, सुनसरी
सुनसरीको इटहरी उपमहानगरपालिका उनको बाल्यकालमा हुर्किएको सहर हो । आफ्नो ठाउ“मा रहेका दीनदुःखीको सेवा गर्ने सकारात्मक सोचमा जब फर्किए तब उनले राजनीतिबाट परिवर्तन हुनसक्ने आकलन गरे ।
प्रजातान्त्रिक पारिवारिक पृष्ठभूमि भएका कारणले सिजन गुरुङले नेपाली कांग्रेसको छायाभित्र युवाका लागि राजनीति थाले । अहिले तरूण दल सुनसरीका अध्यक्ष निर्वाचित सिजनलाई विरोधाभाष बनाउने प्रयत्न पनि गरियो । तर, सक्षमताका साथ अघि बढ्नुपर्छ भन्ने मान्यता उनले ठानेका छन् । युवाले किन राजनीति गर्ने, अब कसरी अघि बढ्ने भन्ने विषयमा उनीस“ग जनप्रहारले गरेको कुराकानीको सम्पादित अंश

० राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
– म सानैदेखि राजनीतिमा रूचि राख्थें । समाज सेवा र युवाहरूलाई एक गरेर जान रहर लाग्थ्यो । युवाहरू बेरोजगार भएको, गाउँ घरमा भुमिका नपाएका युवाहरूलाई गर्ने व्यबाहारले मलाई घोच्थ्यो । त्यसैले म त्यस्ता साथीहरू माझ हुन्थें । उनीहरूलाई भुमिका दिएर सामाजिकीकरण गर्नु पो वास्तविक राजनीति रहेछ । यहि कार्य गर्दागर्दै म युवाहरू माझ प्रिय भै सकेछु । तरूण दलमा मलाई सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय उपसभापति बनाइयो । मेरो बुवा प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । ००७ सालमा प्रजातन्त्र प्राप्तिको लागि उहाँले गर्नुभएको संघर्षको कथा, पछि भारतमै भुमिगत भएर भारतीय सेनामा कांग्रेसलाई सहयोग गर्न लागेको लगायत परिवारिक पृष्ठभुमिले पनि मलाइ कांग्रेसमा जान प्रेरणा मिल्यो । र, म कांग्रेसको राजनीतिमा आकर्षित भएँ ।

० किन नेपाली कांग्रेसकै राजनीतिक पृष्ठभूमि समात्नुभएको हो ?
– कम्युनिस्टहरू सबै राम्रा र गतिलाहरूलाई मात्र पार्टीमा स्वागत गर्थे। भुमिका नपाएका बेरोजगार युवालाइ गुण्डाको ट्याग लागाएर पार्टी बाहिर राख्थे । म सोच्थे ती युवाहरू चै देशका नागरिक हैनन् ? तिनीहरूलाई सहि मार्गमा ल्याएर जिम्मेवारी दिनु पर्दैन ? कम्युनिस्टहरूले व्यक्ति हेरेर राजनीति गरे, व्यक्तिभित्रको इच्छाशक्ति हेरेनन् । खराब र सही व्यक्ति छुट्याए, व्यक्तिभित्रको खराब चरित्रको न्युनिकरण गर्ने विषयमा सोचेनन् । व्यक्ति गलत होइन, चरित्र गलत हुनसक्छ त्यो सुधार्न सकिन्छ भन्ने मान्यता ममा पलायो । मेरो यो सोचमा कांग्रेसको सहयोग भयो । कम्युनिस्टका ठुला भनिएका नेताहरू एउटा जन्जिर भित्र जेलिएको पाएँ । त्यसैले मेरो सोचको पर्याय कांग्रेस बन्यो । पार्टीभित्र आफ्नो कुरा खुलेर राख्न पाइने, नेताहरू सजिलै कार्यकर्ताको पहँुचमा रहने भएकाले र प्रजातान्त्रिक सासन व्यवस्था अन्त्यमा सबैले स्विकार्नुपर्ने सासन व्यवस्था हो ।

० युवा पलायन भइहेका अवस्थामा तपाई भने युवा राजनीतिमा आउनुपर्छ भनेर लागिरहनुभएको छ किन ?
– आज युवाहरू पलायन हुनुको कारण के हो ? राज्यसँग यी युवाहरूलाई रोजगार दिने, राज्यको विकास निर्माणमा सरिक गराउने स्पष्ट नीति भएन । यो कसले बनाउने त ? राजनीति गर्नेले हैन ? हो त्यसैले हामी सबै राजनीतिबाट पलायन भयौं भने आउने पुस्ताले हामीलाई के भन्छ ? आउने पुस्ताका लागि गतिलो व्यवस्था कसले राखिदिने ? त्यसैले म युवा साथीहरूलाई आ–आफ्नो पार्टीमा जागरूकताका साथ जिम्मेवारीमा आउन आग्रह गर्दछु । हामी युवा नारा जुलुस, शक्ति प्रदर्शन, सभा सम्मेलनमा संख्या देखाउने साधन, विपक्षीसँग लडाउने भिडाउने अस्त्र मात्र बन्ने होइन पार्टीमा हैसियत वृद्धि गर्ने र युवाहरूको समस्या समाधान गर्न नीति निर्माण र कार्यान्वयन गर्ने सोचका साथ राजनीतिमा आउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसकारण म राजनीतिमा आएको हुँ ।

० तरुण दलको जिल्ला अध्यक्ष चलाउन कति मुस्किल, कति सहज छ?
– जिम्मेवारी महसुस गर्दा यो पद ठूलो हो । एमफिल, पिएचडी, डाक्टर, इन्जिनियर भएर पनि बेरोजगार भए भन्ने युवाहरू यहिँ हुनुहुन्छ । समाजिक व्यवाहार, घर परिवारको व्यवाहारले विरक्तिएर बेरोजगार युवा साथीहरू बहकिएर लागुपदार्थ, धूम्रपान, मद्यपान सेवन गर्ने कार्यमा लागेकाहरू पनि यहि समाजमा हुनुहुन्छ । त्यसैले ती बेरोजगारहरूको सहारा पनि हुनुपर्छ । राजनीतिक दलभन्दा अन्य क्षेत्रबाट समाज सुधार्न सकिन्न । अत्यन्तै कठिन छ, सहयोग गरेका युवाहरू एकजुट हुने बितिकै प्रहरीले पनि गुण्डाको ट्याग लगाइदिन्छ । त्यो पनि चिर्न आवश्यक छ । ठुलो मेहनत र जोखिम उठाएर पनि पदिय जिम्मेवारी अहिले निभाइरहेको छु । जिम्मेबारी पुरा गर्न असहज छ । तर, अर्कोतिर समाजमा युवाको भुमिकालाई संगठित गर्न पाउँदा सहज ठानेको छु ।

० नेताको नजिक नभई नेतृत्वमा आउन पाईदैन भन्ने छ, तपाईलाई सुजाता कोइरालाको नजिकको मान्छे भनेर पनि हल्ला छ नि ?
– खोइ म त राजनीतिमा धेरै अगाडि देखि थिएँ । म पहिला स्थापित भैसकेपछि सुजाता दिदीसँग नजिक भएको हुँ । मैले धेरै नेताहरूसँग सङ्गत गरें । उहाहरूलाई बुझ्ने प्रयत्न गरें युवा, महिला र गरिब दुखीका समस्या बुझ्ने र अत्यन्तै  माया गर्ने नेताहरू कम नै पाएँ । एकातिर समय लगानी, अर्कोतिर महिला भएर पनि पुरूष सँग प्रतिस्पर्धा गर्ने, पार्टीको आधारस्तम्भ नै हो उहाँ । त्यसैले उहासँगको सामिप्यता बढेको हो । उहाँ मेरो अभिभावकको भुमिकामा हुनुहुन्छ । तर नेताको नजिक नभै अगाडि बढिदैन भन्ने मान्यता म राख्दिन । कार्यकर्ताको नजिक नेता हुने हो । म पनि कार्यकर्ताको मित्र, साथी हुने प्रयासमा छु । मेरा लागि सवै नेता बराबर हो, सवैको माया र सद्भाव पाएको छु ।

० तरुण दल कांग्रेसको युवा बनाउने हैन थन्क्याउने र प्रयोग गर्ने संठन हो भन्ने हल्ला छ नि?
– यो हल्लामा आंशिक सत्यता छ तर यो सत्य काम नगर्ने, जिम्मेवारी लिएर पदिय दायित्व पूरा नगर्नेको हकमा हो । तरूण दलको स्थापना आवश्यकताको सिद्धान्तले ऐतिहासिक परिवेशमा भएको थियो । पार्टीको आधारस्तम्भ, मनोबल हो तरूण दल । काम गर्नेको लागि अवसर, काम नगर्नेका ेलागि अन्तिम खुड्किलो हो यो संगठन । आज मन्त्री हुने धेरै यसकै उत्पादन हुन् । केन्द्रिय समितिमा तरूण दलको पृष्ठभुमिका धेरै छन् । त्यसैले अवसर पनि त हो रहेछ यो । रचनात्मक काममा पार्टीले हामिलाई उपयोग ग¥यो भने यसलाइ ऐतिहासिक जिम्मेवारी सम्झनु पर्छ । तर हामिलाइ हनुमान ठानियो भने हामी आवश्यक परेका बखत रचनात्मक बन्न सक्छौं ।

० युवा संघ, योङ्ग कम्युनिस्ट लिग जस्तै तरुण दलमा पनि ठेक्का गर्ने, युवाहरू भेला पारेर नेता खुशी बनाउने मात्र हैन यताउता काम गर्नेहरूको पनि बाहुल्य छ भन्छन नि?
– तपाइले भनेको यो कहीँ कतै होला । तर यो एकादेशको कथालाई बारबार सम्झाएर युवाहरूलाई बदनाम बनाउनु हुँदैन । प्रक्रिया सम्मत ढंगले कोहि युवा ठेक्का पट्टामा लाग्छ, केही युवाहरूलाई रोजगारि दिन्छ भने यसलाइ त सह्रायिन मान्नुपर्छ । यसरी काम गर्न खोज्दा, प्रक्रियामा बाध्नु पर्छ । गुण्डाको उपनाम भिराएर निरूत्साहित गर्नु हुन्न । युवा सङगठित हुनुहुन्न, युवाले आम्दानी मुलक कार्य गर्नुहुँदैन भन्ने नकारात्मक भावना हाम्रो मनमा जरा गाडेर बसेको छ । त्यसैले यो सोच, मानसिकता देखिएको हो । यसविरुद्ध लड्न आवश्यक छ । अब युवा जागरूक भैसके । कसैको लागि प्रयोग हुने सम्भावना छैन । त्यस्कारण नेताहरूले प्रयोग गर्ने भन्ने प्रश्न रहँदैन । यताउता काम भन्ने कुरा गलत हो । युवा आफ्नै बलबुतामा बाँच्छन् कसैको आशामा बाच्दैनन् ।

० तरुण दलको अधिवेशन सरेको छ । तपाइको भुमिका के हुन्छ ? कसरी अगाडी बढ्नु हुन्छ ?
अधिवेशन सर्यो राम्रै भयो । अब बाँकी रहेका जिल्लाहरूको वैद्यानिक र लोकतान्त्रिक प्रक्रियाले अधिवेशन हुन्छ । यसले अधिवेशन भव्य र सभ्य रूपमा हुन सक्छ । यो ऐतिहासिक संगठनको गरिमा वृद्धि गर्दै केन्द्रिय अधिवेशन भव्यतारूपमा सफल पार्न म लगायत सुनसरी जिल्ला लाग्नेछ । हामी नयाँ जोश र उमङ्गका साथ अधिवेशनमा आउनेछौ । योग्य व्यक्ती चयन गर्ने छौं । को व्यक्तिको समय र देनको हिसाबले कति लगानी छ सबै मुल्यांकन गरेर उपयुक्त व्यक्ती छनौट गर्ने छांै । सिजनलाइ भेटे पनि नभेटे पनि संगठनलाई चाहिने व्यक्तिलाइ भोट हाल्छु । मलाई मेरो भन्दा नि तरूण दलको माया छ । हाम्राले भन्दा राम्राले तरूण दल बनाउन सक्छन् ।

० धेरैपछि महाधिवेशन हुँदै छ,विना अवरोध यो महाधिवेशन पूरा हुनेमा कति विश्वस्त हुनुहुन्छ ?
जे कुरा अरूले शंका गर्छन् त्यही समस्या कांग्रेस सहज ढंगबाट समाधान गर्छ । त्यसैले विना अवरोध महाधिवेशन हुन्छ यो मेरो ठोकुवा हो । तरूण दललाई शसक्त पार्नु पर्ने अन्यथा पार्टी धाराशायी हुने समस्या आइसकेको छ । त्यसैले यसलाई जीवनमरणको सवाल मानेर शिर्ष नेतृत्वले आफ्नो जित हैन पार्टी विजय गराउन सबै असन्तुष्टि समाप्त गरेर अधिवेशन हुनेछ ।

० अन्त्यमा युवा राजनीतिमा आउनुपर्ने, अगाडि बढ्नुपर्ने के कारण  छन् ? किन आउनुपर्छ ?
आज हाम्रो देशको युवाहरू लगेर रंगशाला बनाइ विश्वकप गर्ने आँट गर्छन्, देश बाहिर भएका लाखौं युवाले विदेशको व्यापार, विकासलाई समृद्ध बनाइरहेका छन् । तिनिहरूको श्रम, पसिना बेचेर हामी रेमिट्यान्समा रमाइरहेका छौं । त्यसैले उहाँहरूलाई स्वदेशमा फर्काइ विकास निर्माणमा लगाउने, स्वदेशमा बिग्रन लागेको युवालाई सत्मार्गमा लगाउन, सामाजिक भुमिका र जिम्मेवारीमा युवाहरूलाई ल्याउन शशक्त योजना निर्माण तथा यसको कार्यान्वयन जरूरी छ । त्यसैले हामी राजनीतिमा आउन जरूरी छ । धेरैलाई बनायांै अब हामी युवा आफै बन्ने दिन आएको छ । आफ्नो सवाल, आफ्नै नेतृत्व भन्ने दिन आए युवाले, अन्त्यमा युवाहरूलाई झुठो मुद्धा लगाइ दुख दिने, असामाजिक बनाउन खोज्नेहरूलाई त्यस्ता नकारात्मक सोच त्याग्न र राज्य समेत जिम्मेवार भई युवाका सवालहरूमा गम्भीरता पूर्वक प्रस्तुत हुन जरूरी छ ।

Post a Comment

0 Comments