Subscribe Us

ज्ञानेन्द्र मख्ख पर्दा किन हिस्स परिन राष्ट्रपति

काठमाडौं । सामान्यतया राष्ट्राध्यक्षले नै सांस्कृतिक परम्परालाई निरन्तरता दिने गणतन्त्र नेपालले संस्कार राखेको थियो । तर, यसपटक सरकारका कारण राष्ट्रपति हिस्स हुने अवस्था आएको छ, जहाँ पूर्वराजा ज्ञानेन्द्र मख्ख पर्दै छन् । 

पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्तो दिए । जबकि, त्यहाँ राष्ट्रपति पुग्नुपर्ने हो । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका हुन् ।

मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दै छन् ।

०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रूपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् । ‘सरकारले वास्ता नगरेपछि जात्रा रोक्ने काम हुँदैन । राजा नै हुन्, उनले गरेका छन् । अभिभावक हुन् भनेर बोलाएका हौं’, आयोजक स्रोतले भन्यो, ‘यो सरकारले वास्ता नगरेपछि राष्ट्रपतिलाई बोलाउन असम्भव भयो ।’

तामामा सुनको लेपन गरेर बनाइएको घ्याम्पो निर्माणमा २६ लाख रूपैयाँ खर्च लागेको छ । कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन । घ्याम्पो निर्माणलगायत जात्रा सञ्चालनका लागि संस्कृति मन्त्रालयलाई जानकारी गराउँदा कुनै प्रतिक्रियासम्म नदिएको आयोजकले जनाएको छ । 

उता, ज्ञानेन्द्रको उक्त सवारीका क्रममा राजावादीले राजतन्त्रका लागि अपिल गर्ने योजना बनाएका छन् । सरकार कमजोर भएको र संविधानमा पनि विवाद आइरहेका बेला राष्ट्राध्यक्षले गर्ने काममा निस्कन लागेका पूर्वराजाका लागि तीन हजार बढी युवाले व्यवस्थापनको जिम्मा लिएका छन् । उनीहरूले राजतन्त्र फर्काउन सार्वजनिक अपिलको पनि तयारी गरेका छन् ।

Post a Comment

0 Comments