Subscribe Us

एसपी थापालाई तस्कर र माफियाको चुनौती

चितवन । चितवनमा नयाँ प्रहरी प्रमुखको परिवर्तनसँगै तस्कर र माफियाहरू सक्रिय हुन थालेका छन् । एसपी दिपक थापा चितवन आए लगत्तै ब्रिफिङ्का क्रममा उनले गुण्डा नाइके, तस्कर र माफिया सल्बलाएको आफूले जानकारी पाएको बताएपछि यसको रहस्य खुलेको हो । 

एसपी बसन्त कुँवरको एक वर्ष चितवन बसाईका क्रममा गुण्डागर्दी नियन्त्रणमा आए पनि चोरी र तस्करी जस्ता अवैध क्रियाकलापमा कमी भने आउन सकेन । जिल्ला प्रहरी कार्यालयमा दशौं वर्षदेखि जरा गाडेर बसेका केही प्रहरी अधिकारी र अवैध धन्दा गर्नेहरूबीच भित्रभित्रै गोप्य कारोबारको सूचना कुँवरले नपाउँदा गिरोह सक्रिय हुन थालेको हो । 

एक हजार भन्दा बढी चोरीका मोटरसाइकल र दर्जनौ गाडीको तस्करी गरेर प्रहरी कारवाहीमा परिसकेको गिरोहलाई एसपी थापाले कारबाही गर्न कठिनाई हुने देखिएको छ । किनकी, उनले पनि अवैध क्रियाकलाप नियन्त्रणका लागि पुरानै प्रहरीको टोलीलाई परिचालन गर्न लागेका छन् । 

एसपी थापाले आफूभन्दा मुनिका डिएसपी, इन्सपेक्टर, सईहरूको कनेक्सन कोसँग छ भन्ने कुरा पत्ता लगाउन निकै गाह्रो हुने एक प्रहरी अधिकारीले बताए । चितवनमै घर भएका डिएसपी दिपक श्रेष्ठ इन्सपेक्टर हुँदा देखि नै चितवनमै छन् । चितवनका दुई नम्बरी कारोबारीसँग उनको उठबस रहेका कारण एसपी थापा चितवनमा सफल हुन नसक्ने विश्लेषण हुन थालेको छ ।

 चितवन प्रहरीले दुई वर्ष अघि तस्करीमा संलग्न पूर्वी चितवनका दिपेन्द्र श्रेष्ठ ‘दीपु’, भारतको गोरखपुर थाना स्थित निजापुरका ३४ बर्षिया गुड्डु भनिने मोहम्द आलमलाई दुई बर्ष अघि कारवाही गरेको थियो । अहिले नेपाल भरी नै चोरीको गाडिको कारोबार गर्दै आएको उक्त गिरोहसँग डिएसपीको पनि कनेक्सन रहेको स्रोतको भनाई छ । 

दीपुसँगको सेटिङमा भारत घर भएकै टिएन मिश्र र आलमले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर चितवन, पर्सा, नवलपरासीदेखी काठमाडौं र ललितपुरसम्म पु¥याई बिक्री गर्दै आएको सूचना प्रहरीकहाँ पुगेपनि केही बद्नाम प्रहरी अधिकारीका कारण यो गिरोह कारबाहीमा पर्न सकेको छैन । 

गिरोहले वीरगञ्ज र भैरहवा भन्सारमा सेटिङ मिलाएर अबैध गाडीको कारोबार समेत गर्दै आएको छ । गिरोहले भारतबाट पुराना तथा नयाँ गाडीहरू चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने, कवाडीको भाउमा भन्सार सकार्ने र पछि नयाँ गाडी चोरेर ल्याई त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएको छ । गिरोहले बिशेषगरी स्करपियो, बुलेरो, स्यान्ट्रो र मोटरसाईकलको कारोबार गर्दै आएको प्रहरी अधिकारी नै बताउँछन् । 

दुई बर्ष अघि चितवन प्रहरीले दर्जनौ चोरीका गाडी र मोटरसाइकल सहित विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्बर समेत बरामद गरेको थियो । तर, अहिले प्रहरीको सक्रियता नहुँदा र केही प्रहरी अधिकारीकै मिलेमतोका कारण दीपुको समूहले गिरोह परिचालन गरी काठमाडौं, ललितपुर, भैरहवा, नवलपरासीमा हराएका अधिकांश मोटरसाइकल आप्mनो मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउसमा ल्याएर पार्टपुर्जा झिकी अबैध कारोबार गर्दै आएको एक प्रहरी अधिकारीले बताए । 

दीपुले ग्लोवल आईएमई बैंक लुटपाट काण्डका अभियुक्त काठमाडौं बानेश्वर बस्ने टिका थापा मगर, खोल्डे भन्ने सुभराज थापा मगर र उदयपुर घर भएका श्याम थापा भन्ने सुमित लामालाई परिचालन गरी काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा ल्याई पाटपुर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर विक्री गर्दै आइरहेको स्रोत बताउँछ । चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर गिरोहले अबैध कारोबार गर्दै आएको छ । 

दीपुले घरमा नै चोरीका मोटरसाइकल भित्र्याउँदा समेत प्रहरीले उनलाई कारबाही गर्न सकेको छैन । जगतपुरमा मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउस, बकुलहर टाँडीमा मनकामना रिकन्डिसन हाउस र बकुलहर टाँडीमै मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर खोलेर दीपुले चोरीका गाडी र मोटर साइकलको अबैध कारोबार तथा नक्कली लाइन्सेन्स र बिलबुकको अबैध धन्दा गर्दै आएको खुलेको छ । 

यस्ता धन्दा गर्नेहरूलाई अन्य जिल्लामा सरुवा भएपनि वर्षौंदेखि चितवनमा नै एकछत्र राज गर्दै आएका बद्नाम प्रहरी अधिकारीले संरक्षण दिंदै आएको प्रहरी स्रोत नै उल्लेख गर्छ । अवैध धन्दा गर्नेहरूबाट पैसा असुलेकै भरमा सई देवराज शर्माले जागृति चोकमा तीन तल्ले घर बनाएका छन् । वडा प्रहरी कार्यालय पर्सा वीरगञ्जमा दरवन्दी भएका शर्माले मध्य क्षेत्रका डिआईजी पशुपति उपाध्यायलाई खुसी बनाएकै भरमा चितवनमा थमौती पाएको स्रोत बताउँछ ।

चरित्रमा बद्नाम डिआईजी उपाध्यायले क्षेत्रका इन्सपेक्टर बेनीमहादेव पौडेललाई परिचालन गरी सरुवा भईसकेका प्रहरी अधिकारीहरूबाट रकम असुल्दै रमाना नदिई थमौती दिंदै आएको क्षेत्रीय प्रहरी कार्यालय स्रोतले बतायो । चार वर्षदेखि शर्माले जिल्ला प्रहरी कार्यालय चितवनको विशेष शाखामा बसेर काम गर्दै आउनुको रहस्य पनि डिआईजी उपाध्यायलाई खुसी बनाउनु नै हो । चितवनमा यस्ता प्रहरी अधिकारीहरूबाट डिआईजी उपाध्यायले राम्रै नजराना लिएर सरुवा भइसकेका प्रहरीहरूलाई थमौती दिएको स्रोत बताउँछ । त्यस्तै सिपाही हुँदा देखि नै चितवनमा बस्दै आएका झलक श्रेष्ठ अहिले सई भइसकेका छन् । 

पोखराको सशस्त्र प्रहरी गणमा सरुवा भएका श्रेष्ठले जिल्लामा बर्षैपिच्छे परिवर्तन हुने एसपीहरूलाई रिझाएर चार वर्षदेखि प्रशासन शाखामा मस्ती मार्दै आइरहेका छन् । त्यस्तै मकवानपुर दरबन्दी भएका असई धर्मप्रसाद पौडेल पनि शक्तिकेन्द्रलाई रिझाएकै भरमा १५ वर्षदेखि चितवनकै विभिन्न स्थानमा कार्यरत छन् । चितवन बसेर जुवाडे, काठ तस्कर, लागूऔषध तस्करदेखि चोरीका गाडिको गिरोहसम्म सम्बन्ध गाँसेर करोडौं सम्पत्ति कमाएक यि प्रहरी अधिकारीहरूको पहुँच आईजीपीको सचिवायलसम्म पुगेका कारण उनीहरूको सरुवा जहाँ भएपनि कहिल्यै पनि चितवन छाड्नु पर्दैन । माओवादी केन्द्रको दबाबमा चितवन सरुवा गरिएका नम्र स्वभावका एसपी दीपक थापाले यस्ता बद्नाम प्रहरी अधिकारी र अवैध असुली गर्ने गिरोहको सम्बन्धलाई तोड्न सक्छन् कि सक्दैनन् ? समयले नै बताउला ।

Post a Comment

0 Comments