Subscribe Us

सर्लाही गाई तस्करीको ट्रान्जीट प्वाइन्ट, सिंहद्धयको यस्तो छ तस्करी रुट

पूर्र्व पश्चिम राजमार्गमा पर्ने पत्येक जिल्लाको प्रशासन देखि राजमार्गका प्रहरी र गुण्डा सेटिङ गर्दै सिंह द्वयले गोरूको बथानमा गाई मिसाएर तस्करी गर्दै आएका छन्
सर्लाही । नेपाली कानुनमा गाईगोरुको विक्रिको अनुमति भएपनि त्यसको प्रयोजनको कारण त्यति गहिरो गरी सोधिँदैन । साधारणतया नेपालमा गाईगोरु बधको प्रचलन नभएका कारण कानुन खुकुलो छ । तर, नेपाली गाईलाई बधकै लागि तेस्रो मुलुक पठाउने काम पनि रोकिएको छैन । अझ, तस्करी नै सुरु भइसकेको छ । यस्तै तस्करीको ट्रान्जिट प्वाइन्ट बनिरहेको छ, सर्लाही । 

जिल्लाको नेत्रगञ्ज गाविसको नवलपुर बजार पछिल्लो समय गाई तस्करीका ट्रान्जीट प्वाइन्ट  बन्दै गएको छ । पहाडी जिल्ला देखि पश्चिम मधेसबाट तस्करले गोरूसँगै गाईको समेत कलेक्सन गरेर सर्लाहीको नवलपुरमा पुराउँदै आएका छन् । नवलपुरमा जम्मा भएको गोरूको बथानसँगै माफियाले गाई मिसाएर झापाको काकडभित्ता बोर्डर हुँदै भारतको सिमानाबाट बंगालादेश पुराउँदै आएका हुन् । 

नेपालको विभिन्न जिल्लाबाट गाई कलेक्सन गर्ने भारत हुँदै बंगालादेश पुराउने चाँजोपाँजो नुनु सिंह र शम्भू सिंह नामक दुई पात्रले गर्दै आएका छन् । पश्चिम घर भई हेटौंडा बस्दै आएका नुनु सिंहले नवलपुरसम्मको बाटो क्लियर गर्दै आएका छन् भने सर्लाही बरथवा गाविसका शम्भू सिंहले त्यहाँबाट झापा हुँदै बंगालादेश पुराउने काम गर्छन् । कानूनले मार काट गर्ने उद्देश्य नराखी गाई गोरू किनबेच गर्ने छुट दिएको छ । त्यसको फाईदा उठाउँदै सिंहद्वयले गाई गोरू तस्करी गर्दै आएका छन् ।

 दैनिक जसो सिंहद्वयले सयौं गाई गोरू बंगलादेश सप्लाई गर्दै आएको स्रोत बताउँछ । नवलपुरबाट १२ चक्काको एक गाडीमा १२ देखि १५ वटा गोरू बोक्ने अनुमती पाएपनि प्रहरी सेटिङमा ५० देखि ६० वटा सम्म सिंहद्वयले गोरू बोकाउँदै आएका छन् । जुन बथानमा १५ देखि २० वटासम्म गाई छिराउने गर्छन् । जसको उद्देश्य बंगालीलाई गाईको मासु खुवाउने नै हो । मुस्लिम बाहुल्य बंगलादेशमा गाईगोरूको मासुको ठूलो परिणाम विक्रि हुने गर्दछ ।  

केही समय अगाडी मध्य क्षेत्रमा डिआईजी प्रकाश अर्यालले कमाण्ड सम्हाल्दा सिंहद्वयको धन्दा तीन महिनाका लागि चौपट भएको थियो । तीन महिना पछि पुनः सेटिङ मिलाएर धन्दा सुरू गरेका थिए । क्षेत्रीय ट्राफिक मोरङमा तत्कालिन एसपी पुजा सिंहले कार्यभार सम्हाल्दा पनि गाई तस्करीको धन्दा रोकिएको जानकारहरू बताउँछन् । कानून बमोजिम १५ वटासम्म बोके छुट दिने अन्यथा कानून बमोजिम हुने अडान लिएपछि धन्दा सुकेको थियो । 

गाडीमा १५ वटा मात्र बोक्दा भाडाले नधान्ने भएपछि पुजा सिंहलाई हटाउने खेलमा समेत उनीहरू सक्रिय भए । एसपी पुजा सिंहको सरूवासँगै फेरी उनिहरूको धन्दा फस्टाएको ईटहरीका एक प्रहरीले बताए । गाई गोरूको तस्करी गर्ने सिंहद्वयसँग जिल्लाका सिडीओ देखि प्रहरीका मध्य र पूर्व क्षेत्रका डिआईजीले समेत रकम असुल्दै आएको स्रोतको दाबी छ । पूर्व पश्चिम राजमार्गमा पर्ने प्रत्येक जिल्लाको प्रशासन देखि राजमार्गका प्रहरी र गुण्डा सेटिङ गर्दै सिंहद्वयले गोरूको बथानमा गाई मिसाएर तस्करी गरेको स्रोतको दाबी छ । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments