Subscribe Us

२३ अाैं क्यान इन्फोटेक सम्पन्न

Image result for can infotech nepal 2017

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘सुबिसु क्यान इन्फोटेक २०१७’  मेला सम्पन्न भएको छ । क्यानले सन्र १९९५ देखि लगातार रूपमा आयोजना गर्दै आएको मेला यसपटक २३ औं क्यान मेला रहेको थियो । २३ औं मेलामा तीन लाख १० हजार ९८ जनाले अवलोकन गरेको मेला आयोजकले बताएका छन् । महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ । 

प्रदर्शनीको अन्तिम दिन मंगलबार अवलोकनकर्ताको उत्साहजनक उपस्थिति एवं सहभागिता थियो । मेलाको अन्तिम दिन मात्रै ५५ हजार ७१३ जनाले मेलाको अवलोकन गरेका थिए । 

प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद् उदयशमशेर राणालगायत नेता, चर्चित कलाकार, राष्ट्रिय खेलाडीलगायतले इन्फोटेकको अवलोकन गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्व, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेकाले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुग्ने आयोजकको विश्वास छ । 

यसपटकको मेलामा नयाँ नयाँ प्रविधिहरुका बारेमा इन्फोटेकमार्फत प्रत्यक्ष जानकारी लिने अवसर पाएको महासंघका महासचिव विश्वराम बलामीले बताएको खबर राससले लेखेको छ । 

प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपिएस, इन्डक्सन चुलो, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टिभी, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिकलगायतका स्टलहरु आकर्षणको केन्द्र बनेको थियो । 

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १ सय ५८ कम्पनीका २ सय २२ वटा स्टल रहेका थिए । 

Post a Comment

0 Comments