Subscribe Us

बिरामी पर्यटक उद्धारका लागि एकद्धार प्रणाली लागू गर्नुपर्छ

रामप्रसाद सापकोटा
उपाध्यक्ष
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)

नेपाल पर्यटकीय दृष्टिकोणले अत्याधिक धनी मुलुक हो । यहाँ धेरै नदीनाला, मठमन्दिर, सांस्कृतिक सम्पदा, रहनसहन, वेशभुषा, हिमाल, पहाड छन् । पछिल्लो समय यीनै पर्यटकीय दृष्टिकोणले महत्व राखेका वस्तुहरु हेर्न विदेशबाट लाखौँ पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । विदेशी नेपाल भित्रिएसँगै नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । हजारौँ मानिसहरुले व्यापार व्यवसाय गर्न पाएका छन् भने हजारौँले रोजगार समेत पाएका छन् । यीनै व्यापारीको भिडमा नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा जुटेका छन् रामप्रसाद सापकोटा । धादिङ जिल्लाको दुर्गम गाँउ त्रिपुरेश्वरमा जन्मेका अधिकारी एक दशकदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा लागेका छन् । केही वर्षको अमेरिका बसाईपछि स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यताका साथ नेपाल आएका सापकोटा हाल ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का उपाध्यक्ष समेत हुन् । उनीसँग नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था र आगामी पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका बारेमा जनप्रहारले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको अवस्था सन्तोषजनक नै छ । विस २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पर्यटन क्षेत्रमा केही प्रभाव पारेपनि अहिले पहिलेकै अवस्थामा फर्केको छ ।

पर्यटन क्षेत्रको थप विकासका लागि के गर्नुपर्ला ?
नेपालको पर्यटन क्षेत्रको विकासका लागि मुख्य त पूर्वाधारकै विकास आवश्यक हो । जहाँ पूर्वाधारको विकास छ त्यहाँ पर्यटकहरु आउने हुन् । पैसा भएका विदेशीलाई पैसा खर्च गर्ने वातावरणका साथै नभएका विदेशी जो घुम्नलाई आउँछन् उनीहरुलाई त्यहि किसिमको वाताबारण बनाइदिने हो भने पर्यटन क्षेत्रको विकास हुन्छ । पर्यटकलाई बस्नका लागि राम्रो होटल, सफासुग्घर चर्पी, राम्रो स्वास्थ्य सुविधा भएमात्र पर्यटन क्षेत्रको विकास हुन्छजस्तो मलाई लाग्छ ।

पर्यटन क्षेत्रमा कस्ता समस्या छन् ?
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको त पर्यटकहरु बिरामी भयोभने उद्धारकै गर्ने नै हो । कुनै पनि पर्यटक बिरामी प¥यो भने उद्धारका लागि विमा गरेको हुन्छ उक्त विमाको पैसा बिमाको नाममा खोलेका दलाल कम्पनीले खाइँदिँदा समस्या परेको छ । उद्धारको संख्या बढ्नुको कारण विमा कम्पनीलाई हामी उद्धार गछौँ भनेर विचौलिया बनेर पैसा कमाउने गरेका छन् यस्तालाई रोक्नु जरुरी छ । ट्रेकिङ कम्पनी वा हेलिकप्टर कम्पनीमार्फत उक्त पैसा जाने हो भने यो सबै समस्या हल हुन्छ । नेपाल सरकारले उद्धारका लागि एकद्धार प्रणाली लागू गर्नुपर्छ । अन्त्यथा नेपालको पर्यटन क्षेत्रको नकारात्मक सन्देश विदेशमा फैलाउने हुँदा पर्यटन आउने संख्यामा कमी हुन्छ ।

तपाईँ टानको उपाध्यक्षमा निर्वाचित भएपछि अहिलेसम्म के के काम गर्नुभएको छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, म टानको उपाध्यक्षमा निर्वाचित भएपछि ट्रेकिङ कम्पनीका साथीहरुलाई परेको अफ्याराहरुको समाधानका लागि लागेको छु । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पर्यटकले अत्याधिक मन पराएको लाङटाङ क्षेत्र ध्वस्त थियो त्यसलाई ध्वस्त भएको छैन भन्ने सकारात्मक सन्देश दिन मेरै नेतृत्वमा लाङटाङ म्याराथुन प्रतियोगिताको आयोजना गरियो । यस्तै नेपाल आउने विदेशी पर्यटकहरु विना गाइड ट्रेकिङमा जान पाईँदैन भनेर स्वदेशी युवाहरुलाई रोजगारी होस् भन्ने उदेश्यले गाइड राख्नुपर्ने व्यवस्था गरियो ।

नेपालको पर्यटन पूर्वाधारको विकास कस्तो छ ?
नेपालको पर्यटन पूर्वाधारको विकास सन्तोषजनक छैन । नेपालको पर्यटन पूर्वाधारको विकास जुन गतिमा हुनुपर्ने हो हुन सकिरहेको छैन । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल एकमात्र छ । पर्यटकको प्रचुर रुपमा विकास गर्ने हो भने एउटामात्र विमानस्थलले पुग्दैन । काठमाडौँ, लुम्बिीनी, पोखरा, भैरहवालगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बन्योभने पर्यटकहरु धेरै भित्र्याउन सकिन्छ ।
यस्तै पर्यटनको विकास गर्ने हो भने काठमाडौँ र पोखरामा मात्र पर्यटकीय होटलहरु खुलेर हुँदैन हिमाली क्षेत्रमा समेत खुल्नुपर्छ । पछिल्लो समय होमस्टे निकै फस्टाउँदै गएको छ । होमस्टेमा पर्यटकलाई बस्नका लागि खाना विदेशी प्रकृतिका हुनुका साथै तातो, चिसोपानीको व्यवस्था, आधुनिक खालको चर्पीसमेत हुनुपर्दछ ।

पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा कस्तो भूमिका खेलेको छ ?
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । पर्यटन क्षेत्र नभएको भए नेपालको अर्थतन्त्र अगाडि बढ्न सक्ने थिएन । त्यसैले पनि राज्यले पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपालको पर्यटन क्षेत्रको विकास गर्ने हो भने पूर्वाधार अनिवार्य आवश्यक बस्तु हो । हामीले लाखौँ पर्यटक भित्र्याउने लक्ष्यमात्र राखेर हुँदैन । पर्यटक बस्नका लागि त्यहिअनुसारका होटल, सवारी साधन, विमानस्थल आदी सबै आवश्यक पर्छ । साथै उनीहरुको देशमा खाने खानेकुरालाई पनि हामीले दिन सक्नुपर्छ ।


Post a Comment

0 Comments