Subscribe Us

यसो नगरे त्यसो हुन्छ,
तनावको घेराभित्र प्रचण्ड

काठमाडौं । १ फागुनमा नेकपा माओवादी (नेत्र विक्रम चन्द)को विशाल सभा देखेपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनमा चिसो र दिमागमा अधिकतम करेन्डको झड्का लागेको छ । 

प्रधानमन्त्रीको कुर्सी, शक्तिको प्रमुख केन्द्रविन्दुमा भएपनि उनी चारतिरको चेपुवामा छन् । भारतीय पक्ष, संयुक्त मधेसी मोर्चा, नेपाली कांग्रेसको दबाब र प्रमुख प्रतिपक्ष एमालेको प्रतिरोधात्मक दबाबले उनलाई चाम्रो बनाएको छ । उनले यो चक्रव्युहबाट सफलतापूर्वक निस्कने कुनै बाटो देखेका छैनन् । 

विभिन्न झुण्डमा विभक्त माओवादीको संगठन पनि कमजोर बनेका बेला लिएको सत्ताको चाबी अहिले उनकै लागि घातक बनेको छ । ‘जनउत्तरदायी काम गरेर अघि बढ्ने कोशिश भएपनि सत्ताघटकको दबाबले धेरै काम गर्न सकिएको छैन, छाडेर बाहिर निस्कने कोशिश गर्दा सतहमा एमालेको घेराबन्दिले संगठन कमजोर भएको छ’, स्रोतले भन्यो,‘यता पनि घाटा उता पनि घाटाको अवस्थामा पुगेको छ, नेकपा माओवादी केन्द्र ।’

पार्टी जोगाउँदा सत्ता जाने, सत्ता जोगाउँदा धुलोपिठो भइने त्रास उनमा कायम रहेको छ । सत्ता जोगाउनका लागि विभिन्न पक्षसँग गरेको सहमति कार्यान्वयन गरी चुनावमा जानैपर्ने दबाबमुलक बाध्यतामा पुगेका प्रचण्ड अहिले दुवै कुरालाई थाँती राखेर अघि बढ्ने मुडमा भएपनि त्यसो गरेर बस्नसक्ने अवस्था विल्कुलै छैन । 

सत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरेर चुनाव घोषणा गरी अघि बढ्नका लागि दबाब दिएका कारण पनि उनी अप्ठेरोमा परेका छन् । ‘सत्ता साझेदारको कुरा नमान्दा नहुने र मान्दा पनि माओवादीको भविष्य खतरामा पर्ने भएपछि प्रधानमन्त्री प्रचण्ड अहिले संकटमा छन्, उनको कुर्सी पनि अप्ठेरोमा परेको छ’, स्रोतले भन्यो, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार चुनावका लागि दबाब दिइरहेका छन् । प्रधानमन्त्री त्यो चहाँदैनन् ।’

भारतको एकतर्फी दबाबका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको समर्थन फिर्ता लिएर सरकारको चाबी आफ्नो हातमा लिएका प्रचण्डका लागि अहिले समर्थक कांग्रेस नै घाँडो भएको छ । विभिन्न निकायमा हुनुपर्ने नियुक्तिमा कांग्रेसको बलजफ्तीलाई उनले थेग्न सकेका छैनन् भने बाहिरको राजनीतिक वृत्तले एमालेलाई गरेको भारी समर्थन उनका लागि घातक बनेको छ । 

‘अध्यक्ष अहिले चारतिरको घेराबन्दिमा हुनुहुन्छ, जसरी समिकरण बदलाव भयो, त्यसैगरी कांग्रेसले फेरि समिकरणमा बदलाव ल्याएको खण्डमा माओवादीका अप्ठेरो दिन सुरु हुनेछ’, प्रधानमन्त्री निकट एक माओवादी नेताले भने,‘संगठन कमजोर भएको अवस्थामा अहिले नै स्थानीय निकायको चुनावमा जाने कि नजाने भन्ने दोधारमा अध्यक्ष हुनुहुन्छ ।’वामपन्थी र राष्ट्रवादीहरूको समिकरण भत्काएर नयाँ समिकरण बनाएरै माओवादीलाई कमजोर बनाउन लागि परेका देउवाका अगाडी प्रचण्डको हार हुन लागेको छ । 

सरकारमा रहेपनि विभिन्न नियुक्तिका विषयमा प्रचण्डलाई विवादमा तान्न देउवा सफल भएका छन् भने त्यसो नगरे प्रचण्डलाई सत्ताच्युत गर्नका लागि पनि उनलाई कुनै कठिनाई छैन, उता एमाले सत्तामा पुग्नका लागि खुट्टा उचालेर बसीरहेको छ । माओवादीलाई जसरी पनि साइजमा ल्याउनका लागि देउवाले प्रचण्डलाई सत्ताको शिखरमा मात्र पुराएका होइनन्, त्यहिँबाट ओरालेर धुलो चटाउने फरक रणनीति पनि तयार पारेका छन् । चुनाव गराउनका लागि दबाब दिएका देउवाले प्रचण्डलाई भनिरहेका छन्–यसो नगरे म त्यसो गर्छु । देउवाको त्यसोको अर्थ हो– एमालेलाई सत्ताको चाबी दिने धम्की ।

प्रचण्डले बाहिर चुनावी नारा दिएपनि भित्र चुनाव नगराउने रणनीति अपनाएका छन् । स्थानीय चुनाव गराए पनि नगराए पनि माओवादी पातपतिङ्गर हुने त्रासमा छन्, उनी । गृह प्रशासन हातमा रहेको कांग्रेस र प्रतिपक्षमा उभिएको सांगठनिक एमालेको जीतका अघि माओवादीको केही नलाग्ने प्रक्षेपण गरेका प्रचण्डले चुनाव विना नै अर्को एक वर्ष विताउने योजना बनाएका कारण अहिलेसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका सहमति कार्यान्वयनमा नलगेका हुन् । सहमति कार्यान्वयन गरी संविधान संशोधन भए तत्काल चुनाव घोषणा गर्नुपर्ने दबाब उनमा पर्नेछ । 

‘संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गराए एउटा निष्कर्ष आउनेछ कि त्यो पास हुन्छ, कि फेल’, उच्च स्रोतले भन्यो,‘त्यति भएपछि स्थानीय चुनाव घोषणा गरी सरकार छाड्नुपर्ने हुन्छ । त्यसपछिको सत्तासमिकरण कस्तो हुने भन्ने हेक्का पनि छैन र विश्वास पनि नभएकाले दुवै काम अड्कीएको हो ।’ चेपुवामा परेका प्रचण्ड भुंग्रोमा परेको माछाजस्तो भएका छन् । संविधान संशोधन भएपनि नभएपनि चुनावको मिति घोषणा गर्नुपर्ने बाध्यतामा रहेका प्रचण्डलाई माओवादी ‘धुलो’ हुने डर छ ।

Post a Comment

0 Comments