Subscribe Us

राजतन्त्रको राजनीतिक उदय

काठमाडौं । एक दशकअघि जनताले पराजित गरेको राजतन्त्र राजनीतिक रूपमा उदाएको छ । गणतन्त्र नेपालमा राष्ट्रपति स्वीकार गरेतापनि व्यवस्थाविपरितको ध्रुव (राजतन्त्र) राष्ट्रिय प्रजातन्त्र पार्टीको नीतिगत मुद्दाका रूपमा पारित भएपछि यसले राजनीतिक रूप पाएको छ । 

व्यक्तिका विषयमा बहस लम्बिनसक्ने अर्को कोण खाली भएपनि व्यवस्थाका रूपमा राजतन्त्रले ‘स्पेस’ पाएको छ । ‘संसदको ठूलो दलको महाधिवेशनमा संवैधानिक राजतन्त्र सहितको उदार प्रजातन्त्रमा सर्वसम्मत हुनु अस्वभाविक निर्णय हो । 

संसदीय व्यवस्थामा यसको ठूलो अर्थ हुन्छ ।’ एकता महाधिवेशनको बन्दसत्रले पारित गरेको राजतन्त्रको मुद्दासँगै राजावादीहरूको नेतृत्व सम्हाल्ने होड चलिरहेको छ र उनीहरूको चुनावी मुद्दा पनि संवैधानिक राजतन्त्र नै बनिरहेको छ । 

यता, संसदको ठूलो दल नेपाली कांग्रेसको आधार हिस्सका (खुमबहादुर खड्कादेखि तारानाथ रानाभाटसम्म) हिन्दु राज्य र राजतन्त्रको पक्षमा, दोस्रो टूलो दल नेकपा एमालेको केही हिस्सा र माओवादीको पनि केही प्रतिशत नेताहरूले पनि राजतन्त्रलाई स्वीकार गर्नसक्ने भएका कारणले राजतन्त्र उदाउने सम्भावना बलियो देखिएको छ । जबकी, राजावादीहरूको समर्थनविना अहिले कुनैपनि सरकार बन्नसक्ने स्थिति छैन । अहिलेको सरकारले राप्रपाको समर्थन पाएको छ भने अन्य सरकारहरूपनि राजावादीको समर्थनविना बन्ने अवस्था क्षीण छ । 

गणतन्त्र स्वीकार गरिसकेको राप्रपाको एकताको एकमतले पारित गरेको राजतन्त्रको नीतिगत मुद्दाले अब राजनीति झन पेचिलो बन्ने निश्चित छ । संसदको चौथो शक्तिको समर्थनविना अब कुनै पनि सरकार बन्न नसक्ने अवस्था रहेकाले जुनसुकै कोणबाट राजतन्त्रलाई प्रत्यक्ष नभएपनि परोक्षरूपमा गणतन्त्रवादीहरूले स्वीकार गर्नैपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राप्रमा महाधिवेशनको सहभागीता र सरकारमा राप्रपाको समर्थनले पनि प्रचण्डले परोक्षरूपमा राजतन्त्र स्वीकारेकै दाबी अनुचित हुँदैन । 

नेपालमा भारतीय हिन्दुवादीहरूको चलखेल, राजनीतिक संयन्त्रमा भारतीय जासुसहरूको नियन्त्रण रहेकाले पनि ज्ञानेन्द्र शाहले सुसुप्त रूपमा राजसंस्थाको पुर्नोदयका लागि चालेका एक दशकका विभिन्न अभ्यासहरू सफलता नजिक पुगेका छन् । राप्रपाको एकता, गणतन्त्रबाट राप्रपाको राजतन्त्रमा फर्किने समर्थन तथा हिन्दुवादीहरूको सक्रियताले यसको पुष्टि गरेको छ । ‘राजनीतिक दलहरूको अकर्मण्यता र लम्बिँदो संक्रमणकालले वाक्क भएका जनताको साथ अब राजाका लागि हुनेछ भन्ने प्रष्टै देखिएको छ’, राप्रपाका एक नेताले भने,‘दश वर्षमा गणतन्त्र असफल भइसकेको छ । 

पहिलो संविधानसभा तुहुन र दोस्रोले जारी गरेको संविधान अहिलेसम्म कार्यान्वयन हुन नसक्नुको मुल कारण पनि व्यवस्थामा असन्तुष्टि हो, अब संक्रमणकाल अन्त्य र मुलुकको दिगो विकासका लागि संवैधानिक राजतन्त्र सहितको एकात्मक राज्यप्रणाली नै प्रभावकारी हुनेछ ।’ संघात्मक राज्यका निम्ति गणतन्त्र नेपालका राजनीतिक दलहरू बारम्बार सहमतिमा पुग्न नसक्नु र संघियताको विरोधमा जनलहर उत्रिनु पनि यसको उदाहरण भएको उनको दाबी छ । 

‘अब संविधान संशोधन हुने नै भए, त्यसमा संवैधानिक राजतन्त्रको व्यवस्थाको प्रस्ताव पनि थपिनेछ, होइन भने सीमित व्यक्ति र राजनीतिक दलले गर्न खोजेको प्रस्तावमा हाम्रो विरोध रहनेछ, त्यो दुई तिहाइले पारित हुनेछैन ।’, उनले भने,‘यस्तो अवस्थामा दलहरूसँग राजतन्त्र स्वीकार्नुको नयाँ विकल्प हुनेछैन, अहिलेको अवस्थामा न संविधान संशोधन भएर मुलुक अघि बढ्ने अवस्था नै छ ।’

राजतन्त्रका लागि कुनै आमुख दलमात्र होइन, अहिले विभिन्न संगठनहरू पनि सक्रिय छन् । शिव सेना नेपाल, वैदिक संघ संगठन र पार्टीहरू, हिन्दुवादी संघ संगठनहरू र मुलधारका राजनीतिक दलभित्र नै चलिरहेको बसहले पनि राजतन्त्रले स्पेस पाएको ठम्याउन कठिन छैन । ‘जुन जुन ठाउँमा राजा पुगेका छन्, त्यहाँ राजाकै मागका नारा र जुलुसले व्यापकता पाएको छ । राजनीतिक दलका सभाभन्दा राजाको सामान्य भ्रमणमा जनताको सहभागीता ठूलो देखिएको छ’, उच्च स्रोतले भन्यो,‘भ्रष्ट गणतन्त्र भन्दा पनि कठोर तर मुलुक निर्माणको पक्षमा रहेको राजतन्त्रका विषयमा नै जनता लागि परेका छन्, जनमतले पनि राजतन्त्रलाई स्पेस दिइसकेका छ ।’
लास भइसकेको राजतन्त्रलाई संजिवनी बुटी दिलाउनकै लागि पनि राजा ज्ञानेन्द्रले यो १० वर्षका विभिन्न कामहरू सक्रियताका साथ गरेका थिए । भारतीय अधिकारी र केन्द्रविन्दुमा रहेका नेताहरूसँग पारिवारिक सम्बन्ध समेत रहेका राजाले भारत भ्रमणदेखि सिंगापुर, थाइल्यान्डमा पनि भारतीय अधिकारीहरूसँग भेटेका थिए । कांग्रेस आईको सत्ता भएको बेलामा ढलेको राजतन्त्र व्युँताउने प्रयत्नका लागि ज्ञानेन्द्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई बारम्बार भेट गरेका थिए । 

‘भारतमा हिन्दुवादीको सत्ता हावी भएपछि राजाका लागि अनुकुलता बनेको हो, उनलाई सवै हिसावले समयको साथ भयो’, स्रोतले भन्यो,‘उता हिन्दुवादीको वर्चश्व हुँदा संसदमा चार सीट भएको राप्रपा नेपालले २५ सिट हात पा¥यो, त्यहाँमाथि राजतन्त्र छाडेको राप्रपाले राजतन्त्र स्वीकारेर एकता भयो । अहिले मुल मुद्दा नै राजतन्त्र बनाएर अघि सरेपछि ज्ञानेन्द्र दंगदास भएका छन् ।’

त्यसो त जनमत आफ्नो पक्षमा पार्नका लागि पनि चिसिएको सम्बन्धहरूमा न्यायो थप्ने काममा ज्ञानेन्द्र कहिले पनि चुकेनन् । धार्मिक भेला, सम्मेलन र भ्रमणमा उनको सक्रियता बलियो बनेको थियो । पछिल्लो पटक शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विवाहमा पनि सरिक भएपछि उनको हाई–हाई बढेको थियो । ‘यता, संविधान कार्यान्वयनमा भएको ढिलाई र उता आफुले चलखेल गर्न पाउने मौकालाई शालिनतापूर्वक उपयोग गरेका कारणले पनि उनी अहिले प्रभावकारी शक्तिका रूपमा अघि देखिएका छन् ।’, स्रोतले भन्यो । 

धार्मिक र सामाजिक भेलामा राजाको भ्रमण र जनताको समर्थन राजनीतिक नाराका रूपमा अघि बढ्नु, संसदको चौथो शक्तिको मूल मुद्दा नै राजतन्त्र, हिन्दु राज्य बन्नु र त्यसको समर्थनविना सरकार बन्न नसक्ने संयोग नै राजतन्त्रको राजनीतिक उदयका रूपमा अघि बढेको छ । यस्तो नियोजित संयोगका लागि पूर्व युवराज्ञी हिमानी शाहको समाजसेवा, पूर्वयुवराज पारस शाहको सुध्रिने बाटोको छन्दले पनि बल पुराएको विश्लेषण गर्न थालिएको छ ।

Post a Comment

0 Comments