Subscribe Us

तस्करलाई उन्मुक्ति दिने यस्तो थियो प्रहरी र सरकारी वकिलको डीजाईन

काठमाडौं । साउनको अन्तिम सातातिर लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत एकजना प्रहरी अधिकृतलाई आएको फोनले लागुऔषध तस्करलाई प्रहरीको खोरसम्म पु¥याएपनि प्रहरीकै हाकिमले मुद्धा कमजोर बनाउँदा उनीहरू छुटेका छन् । 

ती अधिकृतलाई आएको सूचनाअनुसार प्रहरीले औषधीको नाममा लागुऔषध तस्करी गर्ने व्यापारी सम्म पुगेको थियो । सूचना दिने मानिससँग ती अधिकृतले एउटा गोप्य स्थानमा भेट गरे । दुबैबीच परिचय आदान प्रदान गर्दै कुराको आरम्भ भयो । उनले फेरिपनि निश्चिन्त हुन खोजे र सोधे, ‘मैले सूचना दियो भने मेरो नाम त आउदैन नि ?’ प्रहरीले उनलाई निश्चिन्त हुन आग्रह गरे । 

उनले सूचनाको वेलिविस्तार लगाउन थाले । तोकिएको परिमाणमा मात्र, गृह मन्त्रालयको सिफारिसमा औषधि तयारीको लागि आयात गर्न मिल्ने ति केमिकल नेपालका केहि फार्मेसीहरू एस. आर. फार्मा सतुङ्गल, आर्या फार्म बारा सिमरा लगायतले अवैध रूपमा खुलेआमा ओसा पसार गरिरहेका छन् । जुन लागु औषध बनाउन कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । 

नेपालबाट चीन, साउथ ईष्ट एशिया र युरोपका विभिन्न देशमा यसको निर्वाध ओसार पसार भईरहेको छ । अलकोहलमा ककटेलको रूपमा समेत यसको प्रयोग हुन्छ । औषधि ब्यवस्था विभागदेखि लागु औषध नियन्त्रण ब्यूरोका उच्च प्रहरी अफिसर र नेपाल प्रहरीका केहि अधिकृतहरूको यो गैरकानुनी धन्दामा संलग्नता छ । उनले अन्य केही फार्मेसीहरूको नाम दिए । 

जुन फार्मेसीहरू नेपालका केहि धनाढ्य घरानाहरूसँग जोडिएका थिए । तस्करीका नयाँ तौर तरिका र फार्मेसीहरूका सम्पूर्ण डिटेल्स र केहि संदिग्ध व्यक्तिहरूका फोन नम्बरहरू उपलब्ध गराए पश्चात व्यक्तिगत फोनहरू आदान प्रदान गर्दै केहीदिनभित्र सम्पर्कमा आउने गरि उनीहरू अलग्गिए । प्रहरी अधिकृत कार्यालयमा फर्के र सूचनाको बारेमा आफ्ना सिनियरलाई जाहेर गरे । लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरीले प्राप्त सूचनालाई गम्भिरतापूर्वक लिए । तर उनीहरूले यो बिषयको बारेमा आफ्ना कार्यालय प्रमुख डिआईजी जयबहादुर चन्दलाई सामान्य जानकारी मात्र गराए । 

ब्यूरोका प्रहरीलाई थाह थियो, अप्रेशन बारा र बिरगञ्जमा गर्नु पर्ने र सो बारेमा डिआईजी चन्दले थाह पाए भने अप्रेशन कुनै पनि हालतमा हुदैन र उनले गर्न दिदैनन् भनेर । त्यसैले उनीहरूले प्रहरी अप्रेशनको दिन समेत बिराटनगर तिर कार्वाही छ भनेर डिआईजी जयबहादुर चन्दलाई ढाँटेर लागु औषध नियन्त्रणको टोली बारा, पर्सा तिर लागेको थियो । प्रहरी अप्रेशनको ईतिहासमा कार्यालय प्रमुखलाई नै सत्यता लुकाई गरिएको सायद यो पहिलो कार्वाही थियो । योजना मुताविक टोली बारा र पर्सा तर्फ लाग्यो । यो कारोवारमा पूर्वका केही ब्यापारी समेत संलग्न भएकाले टोली पूर्वक्षेत्रमा समेत स्ट्याण्डवाई थियो । 

बारा खटिएको टोलीले २२ किलो प्रिक्युरसर केमिकल सहित आर्या फार्मेसीका मालिक शंकर हलानका छोरा मोहित हलान र उनका ड्राईभर सहितलाई पक्राउ गर्न सफल भयो ।
उनीहरूलाई कार्वाहीको क्रममा बाराबाट चितवन लगियो । बाटोमै सोधपुछ गर्ने क्रममा मोहित हलानको सूचना अनुसार काठमाडौंको सिटी सेन्टर नजिक आर्या फर्मा ल्याव प्रा.लि. संचालन गरि बसेका दिलिप पण्डित नामको ब्यापारीलाई नियन्त्रणमा लिने कार्य भयो । 

दिलिप पण्डितकै सूचना अनुसार साउन १२ गते पाटन औधोगिक क्षेत्रमा पवन संघाईले संचालन गरेको प्लाष्टिक फ्याक्ट्रिबाट ४७१ किलो ८८ ग्राम लागू औंषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गर्न प्रहरी सफल भयो । मोहित हलान र उनका ड्राईभरलाई बाराबाट पक्राउ गरी चितवन हुँदै काठमाडौं ल्याउने कार्य भयो । त्यस पश्चात लागु औषध नियन्त्रण ब्यूरोले गल्ति माथि गल्ति गर्दै गयो । पहिलो गल्ति मोहित हलान सँगै पक्राउ परेका उनका ड्राईभर र २० किलो औंषधी बरामद भएको गाडीलाई छोड्ने कार्य भयो । 

दोस्रो गल्ति रतन संघाई पक्राउ परेता पनि उक्त केश मिलाउन आएका पिताम्बर मुन्कालाई नियन्त्रणमा राखेर रातभर डिआईजी जय बहादुर चन्दको कार्यकक्षमा सुताएर भोली पल्ट छोड्ने काम भयो । तस्रो गल्ति केश मिलाउने नाउँमा डिआईजी जय बहादुर चन्दले बार्गेनिङ्ग गर्दै जाँदा पक्राउ गर्नु पर्ने मानिस समेत पक्राउ गर्न नदिई पवन संघाई, शंकर हलान, रोहित हलान, कमल कुमार अग्रवाल सहित ठूला गिरोह प्रहरीको चंगुलबाट सजिलै उम्कन सफल भए । यसै क्रममा तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उपत्यकाका ३ वटा युनिट (केन्द्रीय अनुसन्धान ब्यूरो, ट्राफीक कार्यालय रामशाहपथ र लागु औषध ब्युरो काटेश्वर ) को एकैदिन आकस्मिक भिजिट गरे । 

लागु औषध नियन्त्रण ब्यूरोले गरेको कामको प्रशंसा गर्दै हिडे । लागू औषध ब्युरोले गरे जस्तै नयाँ नयाँ कामको खोजी गर्न निर्देशन समेत दिए । तर उक्त मुद्धामा लागु औषध नियन्त्रण ब्युरोले एक माथि अर्को गल्ति निरन्तर गरिरहेको थियो । केहि मिडियाले समेत डिआइजी जय बहादुर चन्दका हर्कतहरूको पर्दाफास गरिरहेका थिए । तर शक्ति उन्मादमा अन्ध भैरहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वास्विकता तर्फ नगएर एकै साथ दुबै आँखा चिम्लिदिए । त्यो समयमा आईजिपि अर्यालको समेत मिलिमतो थियो भन्ने कुरा केहि मिडियाले समेत लेखेका थिए ।

तत्कालिन अवस्थामा लागु औषध नियन्त्रण ब्यूरोले थप मानिसहरू समेत पक्राउ ग¥यो । झापाबाट श्याम तामाङ्ग मोक्तान जो शंकर हलानका सबै भन्दा ठूला एजेण्ट थिए । तस्करीको जालो केलाउँदै जाँदा बद्रि प्रसाद वन, दिलिप पण्डित लगायत पक्राउ परे । पक्राउ परेकाहरूको बयान लिने कार्य शुरू त भयो तर प्रहरी उनीहरूलाई कुन कुन मुद्धा चलाउने, कुन मुद्धामा म्याद थप्ने भन्ने विषयमा रनभुल्लमा थियो । 

कारण थियो डिआइजी जय बहादुर चन्दको दोहोरो भूमीका । एकातिर थप मानिस पक्राउ गर्न लागु औषध नियन्त्रण ब्युरोको टोली फिल्डमा खटिएको थियो भने अर्को तिर कार्यालय प्रमुख जय बहादुर चन्द स्वयं ठूलो रकमको बार्गेनिङ्ग गर्नमा ब्यस्त भैरहेका थिए । तब त प्रक्रिया नपु¥याई म्याद थप गर्न लैजादा संगठित अपराधमा उनीहरूको म्याद समेत थप हुन सकेन । प्रहरीले अनुसन्धान गर्दै जाँदा एस. आर. फार्मा र धादिङ्गमा अवस्थित टौरस ल्यावको नाम समेत जोडिएर आयो । 

पक्राउ परेका मानिसहरूले एस. आर. फार्मा मार्फत हजारौं पटक कारोवार गरिसकेका थिए । अब जय बहादुर चन्दले आफुलाई चिठ्ठा परेको आभाष गर्न थाले । उनले फेरी बार्गेनिङ्ग गर्न थाले । लागु औषध ब्युरोमा कार्यरत एक जना डिएसपीलाई समेत आफ्नो कार्यक्षमा बोलाई यो केशमा तिमी हात नहाल भन्न समेत भ्याए । तरपनि डिआइजीको कुत्सित भावनालाई कुल्चिदै उनको मातहतको टोलीले एस. आर. फार्माका संचालक देखि लिएर उक्त फार्मा र टौरस ल्यावसँग सम्बन्धित केहि मानिसहरूलाई पक्राउ गर्यो । 

प्रहरीले एस. आर. फार्मा र टौरस ल्यावका संचालक पूर्व सभासद मधुसुदन अग्रवाल, उनका भाईहरू संजय अग्रवाल र अमीत अग्रवाल छोराहरू अक्षय अग्रवाल र आशिस अग्रवाल माथि मुद्दा दायर गर्न सिफारिस ग¥यो । तर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले एकजना कर्मचारी खडानन्द शर्मा र एउटा शेयर धनि संजय कुमार गुप्ता विरूद्धमात्र मुद्दा दायर ग¥यो । मुख्य संचालकलाई उन्मुक्ति दिएर कर्मचारी र एकजना शेयर धनिलाई मात्र मुद्दा चलाएर न्याय प्रणालीको खिल्ली उडाउने कार्यको समेत आरम्भ भयो । 

एस.आर. फर्मासँग सम्बन्धित मुद्दामा लागु औषध नियन्त्रण ब्युरोले एक जना शेयर होल्डरलाई मुद्दा चलाउन सिफारिस गरेतापनि अरू शेयर होल्डरहरू अशोक गुप्ता अग्रवाल, श्रुति अग्रवाल र अक्षय अग्रवाललाई भने मुद्दानै नचलाई प्रहरी कार्यालयबाट सिधै उन्मुक्ति दिएको देखिन्छ । त्यस्तै अमित गुप्ता अग्रवाल, पूर्व सभासद मधुसुदन अग्रवाल र संजय गुप्तालाई क्रमशः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र धादिङले मुद्दा समेत नचल्ने निर्णय गरेर कानुनी राज्यको उपहास समेत गरेका छन् । 

यहाँ विडम्बनाको विषय छ । एउटा कम्पनिका शेयर होल्डर जसले लागु औषधको अवैध कारोवार गरेर प्रशस्त मुनाफा आर्जन गरिरहेको भनेर पक्राउ गरिन्छ, मुद्दा चलाईन्छ र जेल समेत हालिन्छ । तर त्यहि कम्पनीबाट आर्जित मुनाफा बाँडफाँड गरेर खाने अरू शेयर होल्डरहरूलाई प्रहरी र सरकारी वकिल कार्यालयको मिलिमतोमा निर्दो्षिताको माला पहिराईन्छ भने आम नागरिकले राज्यका निकाय माथि आशंका गर्ने कि नगर्ने ? जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौं र धादिङ्गबाट यस्तो गैह्र कानूनी निर्णय आईसके पश्चात नेपाल सरकारका महान्यायाधिवक्ता रमन श्रेष्टको नाम समेत जोडेर केहि मिडीयाहरूमा समाचार समेत सम्प्रेषण भएका थिए । 

एस. आर. फार्मा र टौरस ल्याव माथिको आरोप थियो ति कम्पनीले औषधी बनाउन भनेर ल्याएको तीनहजार पाँच किलो उक्त कच्चा पदार्थ “आईस ड्रग्स” दश गुणा भन्दा बढि नाफा खाएर अन्तराष्ट्रिय लागु औषध तस्करहरूलाई बेचेको खुलेको थियो ।

 लागु औषध जस्तो जघन्य अपराधमा संलग्न गिरोहका नाइकेहरूलाई मुद्दा नचल्नु, कालो धनबाट संचालित उनीहरूका फ्याक्ट्रीहरू बन्द नगर्नु, बैङ्क खाता लगायत सम्पति रोक्का नगर्नु र संगठित अपराधमा मुद्दा चलाउन मिल्ने भएतापनि मुद्दा दर्ता नहुनुले नेपालको न्याय प्रणाली र लागु औषध नियन्त्रण ब्युरो माथि कैफियत गर्नु पर्ने प्रश्न उठेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतमा ३ अरव २५ करोड र धादिङ जिल्ला अदालतमा २ अरव २९ करोड माग दाबी गर्नु पर्ने वाध्यात्मक परिस्थिति हुँदा हुँदै पनि अभियोग पत्रमा माग दावी नखुलाई करोडौं रकमको चलखेल गर्दै मुद्दा दर्ता समेत नगरी अवैध कारोवारमा संलग्नहरूलाई उन्मुक्ति गरिनुले ठुलो आर्थिक लेनदेन भएको प्रमाणित हुन्छ । 

लागु औषध नियन्त्रण ब्युरोका डिआइजी जय बहादुर चन्द र काठमाडौं सरकारी वकिल कार्यालयका मुख्य सह(न्यायाधिवक्ता डा. टेक बहादुर घिमीरे बीच होटल प्लाटिनियममा बारम्बार भेटघाट हुनु, डिआइजी जय बहादुर चन्द कपन स्थित घिमीरेको घरमा निरन्तर गैराख्नुले समेत यो कुरालाई थप पुष्टि हुने काम गरेको छ । 

यतिमात्र हैन जय बहादुर चन्दले आकस्मिक भारत भ्रमण गर्नुमा समेत यहि केशबाट प्राप्त भएको घुस रकमको ब्यवस्थापन गर्न गएका थिए भन्ने कुरा बाहिर आईरहेको छ । एस. आर. फार्मा र टौरस ल्याव प्रकरणमा नेपाल सरकारका महान्यायाधिवक्ता रमण श्रेष्ठले आफ्नो नाम समेत जोडेर आए पश्चात सह–महान्यायाधिवक्ता बद्रि गौतमको अध्यक्षतामा अर्का सह–न्यायाधिवक्ता किरण पौडेल र नायव न्यायाधिवक्ता नारायण पौडेल सम्मिलित आन्तरिक छानविन समिति गोप्य रूपमा गठन गरेका थिए । यसरी एस. आर. फार्मा र टौरस ल्याव प्रकरणमा अधिवक्ता कार्यालयले गरेको वास्तविकता छताछुल्ल रूपमा बाहिर आएपछि महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता डा. टेक बहादुर घिमीरेलाई जिम्मेवारीबाट मुक्त गरि सकेको थियो । 

उक्त छानविन समितिले तयार गरेको प्रतिवेनको सिफारिस अनुसार काठमाण्डौं सरकारी वकिल कार्यालयका मुख्य सह(न्यायाधिवक्ता डा. टेक नारायण घिमीरे र धादिङ सरकारी वकिल कार्यालयका अधिवक्ता दया शंकर अधिकारीलाई आज बसेको मन्त्री परिषदको वैठकले निलम्वनमा गरि सकेको छ । तर उक्त मुद्दामा सेटिङ्ग गर्ने, मुद्दा बिगार्ने, घुस रकम लेनदेनको ब्यवस्थापन गर्ने लागु औषध नियन्त्रण ब्युरोका डिआईजी जय बहादुर चन्दलाई भने निलम्वन गरि कार्वाही प्रक्रिया अघि बढाउनु पर्ने ठाँउमा पुरस्कृत गरेर झनै प्रहरी महानिरीक्षकको पदमा सिफारिस गरेको छ । 

यो नेपालको न्याय प्रणालीको ईतिहासमा सबै भन्दा ठूलो लज्जा र नाङ्गो नाचको विषय हो । यसरी लागु औषध जस्तो जघन्य अपराधमा नेपाल सरकारका जिम्मेवार निकाय सरकारी वकिल कार्यालयका कर्मचारी र स्वयं लागु औषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जय बहादुर चन्दको ड्रग्स माफिया सँग निकै ठूलो साँठगाँठ रहेको प्रष्ट हुन्छ । 

यो प्रकरणमा निष्पक्ष छानविन हुन जरूरी छ र ठूलो आर्थिक चलखेलका कारण मुख्य अपराधिहरूले उन्मुक्ति पाउन सफल भएका छन् । कारवाहीको नाममा सरकारी वकिल कार्यालयले एक जना संचालक र एक जना कम्पनीका कामदार विरूद्ध मात्र मुद्दा चलाउनु, तिनीहरू समेत सामान्य धरौटीमा रिहा हुनुको पछाडी ठूलो रहस्यको पर्दाफास भएको प्रष्ट हुन्छ । ड्रग्स माफिया सँगको मिलिमतोमा सरकारी वकिल कार्यालयका अधिवक्ताहरू निलम्वन भैसकेको अवस्थामा अब लागु औषध नियन्त्रण ब्युरोका प्रमुख डिआईजी जय बहादुर चन्द समेतलाई निलम्वन गर्न ढिलाई भैसकेको व्यूरोका प्रहरी अधिकृत नै बताउँने गर्छन् ।

Post a Comment

0 Comments