Subscribe Us

अाइजी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ ।  प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले साेमबारका लागि सुनुवाई जारी रहेको हो । 

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट अाइतबार डा भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, शम्भु थापा र अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गरेका थिए ।

बहसका क्रममा उनीहरूले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल एक नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए । साेमबार सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नेछन् ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो । 

Post a Comment

0 Comments