Subscribe Us

देउवा क्याम्पमा निधिलाई कठिन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधि आफ्नै कारण पार्टीभित्र एक्लिन लागेका छन् । 

सभापति शेरबहादुर देउवाका निर्विकल्प उत्तराधिकारी मानिने निधिले देउवासँगै टसल गर्न थालेपछि एक्लिएका हुन् । 

उनलाई देउवाले क्याम्पबाट प्रतिस्थापित गर्ने तयारी गरेका छन् । उनको ठाउँमा पार्टी एकीकरण गर्दै जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारलाई ल्याउने कसरत भएको छ । 

लामो समयसम्म देउवाको राजनीतिक नेतृत्वको संरक्षण गर्ने विमलेन्द्र निधिमा पलाएको ‘ओभरकन्फिडेन्ट’शैली उनका लागि घातक बनिरहेकोे छ । कांग्रेस र भारतको सम्बन्धको ‘क्रेडिट’ निधि एक्लैले लिने र सभापतिलाई बायस गरेर हिँड्ने, सरकारमा नेतृत्व गरेर पठाएपनि पार्टीको एजेन्डाभन्दा व्यक्तिगत निर्णय गर्दै सभापति देउवासँग टसल गर्ने र नेपाल प्रहरीको महानिरिक्षक (आइजी) नियुक्ति प्रकरणमा देउवालाई जानकारी मात्र गराएका कारण निधि क्याम्पबाट एक्लिन लागेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेबारी निधिलाई दिनुपर्ने कांग्रेसको अडान हुनुपर्ने भएपनि त्यसमा देउवाले खासै चासो नदिनुलाई पनि आन्तरिक खटपटको कारकका रूपमा व्याख्या गरिएको छ । १३ औं महाधिवेशनले देउवाको उत्तराधिकारीका रूपमा निधिको विकल्प देखेको थिएन । 

सभापतिमा देउवालाई निर्वाचित गराउनका लागि पनि निधिको भुमिका प्रभावकारी थियो । नियुक्तिमा निधिलाई उपसभापति बनाउने होडमा विधानले हावा खाँदा पनि देउवा निर्णित हुन सकेका थिएनन् । निधिसँग सम्बन्ध चिसो हुन थालेपछि देउवाले पार्टीका निर्णय हुन नसकेका काम पनि सुरू गर्न थालेका छन् । कार्यसम्पादन समिति गठन गरेका देउवाले पदाधिकारी पनि चाँडै नियुक्त गर्ने जनाइएको छ । 

‘साथ र सहयोगका नाममा सवै प्रक्रिया रोक्दा पनि सभापतिलाई बायस गर्ने प्रवित्ति भएपछि उनलाई बोक्ने काम छैन भन्ने निर्णयमा सभापति पुग्नुभयो’, स्रोतले भन्यो,‘उनकै लागि पार्टीमा बदनाम हुनु अनि उनी नै सभापतिलाई होच्याउँदै हिँड्ने ?’

देउवाले उत्तराधिकारीका रूपमा नै लिएका कारणले सरकारमा सहभागी हुँदा उपप्रधान र गृहको जिम्मेबारी निधिलाई दिएर कांग्रेस सरकारमा पठाएका थिए । त्यसक्रममा पनि उनले निधिका लागि ठूलै सकस व्यहोरेका थिए । ‘अर्जुननरसिंह केसी जस्तो सिनियर नेतालाई पनि निधिको नेतृत्वभित्र पारेर सरकारमा पठाउनुपरेको थियो । 

त्यसबेला सभापतिले निक्कै सकस भोगेको कुरालाई नजरअन्दाज गरी अहिले भारतको धापमा सभापतिका निर्णय नमान्दाको परिणाम भोग्ने क्रममा छन्, निधि ।’, देउवा निकट स्रोतले भन्यो,‘यो प्रकरण भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रंमण, निधिको भारत भ्रमण र नेपाल प्रहरीको आइजी प्रकरणका बेला निधिले देखाएको चरित्रबाट भित्रभित्रै उदाङ्गीदै गएको हो ।’

निधिलाई चेक एन्ड व्यालेन्समा ल्याउनकै लागि सभापति देउवाले गृह मन्त्रालयमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गरेका थिए । आइजी नियुक्तिका क्रममा पनि शेरबहादुर देउवासँग परामर्श नगरी नियुक्तिका लागि नवराज सिलवालका पक्षमा सकारात्मक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर पछिमात्र देउवालाई जानकारी गराएपछि सम्बन्धमा चिसोपन आएको थियो ।

यता, सभापति देउवाका केही कमजोरीहरू रहेका कारण उनलाई कांग्रेसभित्र आलोचना गर्नेको संख्या बढिरहेको छ । बाहिरको हावामा चलेको हल्लालाई क्यास गर्ने दाउमा निधि भएपनि उनको विकल्पका खास दुई नेतालाई सभापति देउवाले अगाडी सार्ने तयारी गरेका छन् । महाधिवेशनका समयमा साथ दिएका कृष्ण सिटौला र एकीकरणमा आएको खण्डमा विजयकुमार गच्छादारलाई आफु पछिको वरियताका पदाधिकारी नियुक्ति गर्ने विषयमा देउवाले छलफल थालेका छन् । 

‘चुनवी रणनीति र पार्टीको भविष्यका लागि पनि सभापति देउवाले उपसभापतिका लागि कृष्ण सिटौलालाई अघि सार्न सक्नुहुनेछ । त्यसबाहेक एकीकरण भएको अवस्थामा कोइराला परिवारसँग स्पर्धा गरी कांग्रेसको विकल्पमा उत्रिएका विजयकुमार गच्छादारलाई ल्याएरै भएपनि उपसभापति बनाउनसक्ने आधारमाथि चलफल भइरहेको छ ।’, बुढानिलकण्ठ स्रोतले भन्यो,‘यसो गर्दा पार्टीभित्रका विरोधीहरूलाई साम्य पार्न र निधिका कारण रूष्ट कांग्रेसका अन्य नेता खुसी बनाउन सकिने सम्भावना ज्यादा देखिएको छ ।’

त्यसो त देउवाले आफ्नो कार्यकाललाई सुधार बनाउनका लागि सिटौला, गच्छादार वा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अगाडी सारे बढ्न सक्ने सुझाव उनका नजिकका सांसदले दिइरहेका छन् । ‘निधिले विगारेका छन् भने उनका विकल्पमा अन्य नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सक्ने आधार छन् । हामीले केही नाम र त्यहि सुझाव दियौं ।’, एक सांसदले भने,‘यसबारेमा सभापति गम्भिर हुनुहुन्छ, परिणाम पनि देखिनेछ ।’

Post a Comment

0 Comments