Subscribe Us

ध्रुवे हात्तीले डिआईजीलाई दुःख दियोः केपी ओली

काठमाडौं । प्रमुख विपक्षीदल नेकपा एमालेले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई गैरकानुनी र अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै सरकारलाई सचेत गराएको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरी डीआईजी नवराज सिलवाललाई विना कारण नियन्त्रणमा लिएको भन्दै सरकारको विरोध गर्दै सचेत गराएका हुन ।  

सोमबार व्यवस्थापिका संसद्को बैठकमा विशेष समय लिएर बोल्दै ओलीले सरकार ‘ध्रुवे हात्ती’ जस्तै भएको टिप्पणी गरे । उनले भने, ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रुवे हात्तीको कुरा सुनेको थियो । ध्रुवे हात्ती जस्तै छ यो सरकार ।’ 

उनले कानुन हातमा लिने काम नगर्न सरकारलाई चेतावनीसमेत दिए । उनले बहालवाला डीआईजीलाई विना आरोप गैरकानुनी रुपमा पक्राउ गरेपछि सर्वसाधारण कसरी बाँच्ने भनेर प्रश्न गरे । उनले अहिले कानुन राज नभएर सरकारले स्वेच्छाचारी राज चलाएको आरोप लगाए ।

साथै, उनले नेपाली कांग्रेसतर्फ संकेत गर्दै कुनै एक डीआईजीलाई आईजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न पनि चेतावनी दिए ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सिलवालको पक्राउसम्बन्धी विषयमा छलफल भएको थियो । एमालेले सिलवालको पक्राउप्रति आपत्ति जनाएको थियो । 

Post a Comment

0 Comments