Subscribe Us

आईजीपी अर्याल निरीह भएपछि एसपी खत्री कारवाहीमा, सिडीओको दबाबमा हतियारधारी छुटे

काठमाडौं । कुनै समय थियो हातहतियार तथा लागूऔषधसहित व्यक्ति पक्राउ गर्ने प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत हुने गर्दथे । तर, अहिले समय फेरिएको छ । 

पछिल्लो केही समययता नेपाल प्रहरीमा राजनीतिक दलहरु हावी हुने थालेपछि राम्रो काम गर्ने प्रहरी पुरस्कृतको सट्टा कारवाहीको भागिदार बन्न थालेका छन् ।

 प्रहरी महानिरीक्षक तिनै राजनीतिक दलका नेताहरुको आदेशपालक हुँदा फिल्डमा खटिएका प्रहरी अधिकारीहरुको मनोबल खस्कँदै गएको पाइएको छ । राम्रो काम गर्दा राजनीतिक दलका नेताहरुको इशारामा दण्डित हुनुपर्ने र अनावश्यक तनाव झेल्नुपर्ने र प्रहरी नेतृत्वले अपराध नियन्त्रणमा दत्तचित्त भएर लागिपरेका आफू मातहतका अधिकारीहरुको संरक्षण नगर्ने अवस्थाको सिर्जना भएपछि इमान्दार र निष्ठावान् प्रहरी अधिकारीहरु निराश बन्दै गएका छन् ।

 पछिल्लो समय त्यस्तै प्रकृतिको घटना धादिङमा पनि घटेको छ । करिब एक वर्षदेखि धादिङ प्रहरीको कमाण्ड सम्हालेयता धादिङमा अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका धादिङ प्रहरी प्रमुख एसपी शरद खत्रीलाई राजनीतिक दबाब र प्रभाव इन्कार गरेको आरोपमा आज (बुधबार) प्रहरी मुख्यालय तानिएको छ । 

गत वैशाख २९ गते धादिङको खनियाबास–५ बाट प्रहरी  चेकजाँचको क्रममा एक थान पिस्तोल, त्यसमा लाग्ने ३ राउण्ड गोली र एक थान खुकुरीसहित पक्राउ परेका युल तामाङ र जयकुमार तामाङलाई छोड्न नमान्दा एसपी खत्रीलाइ कारबाहीका लागि प्रहरी मुख्यालय तानिएको हो । प्रहरी मुख्यालय स्रोतका अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले बुधबार दिउसो ४ बजेभित्र प्रहरी मुख्यालयमा हाजिर हुन उर्दी जारी गरेपछि डीएसपी दीपेन्द्र पञ्जियारलाई चार्ज बुझाएर एसपी खत्री काठमाडौंस्थित प्रहरी मुख्यालयमा हाजिर भएका छन् । 

धादिङ प्रहरी स्रोतका अनुसार हतियारसहित पक्राउ परेका युल तामाङलाई मुद्दा नचलाई छोड्न राजनीतिक नेतृत्वले दिएको अनावश्यक दबाब नमान्दा उनी प्रहरी मुख्यालय तानिएका हुन् ।  हतियारसहित पक्राउ पर्नेमध्येका युल तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङको खानियाबास गाउँपालिकाको अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा हुन् । उनलाई मुद्दा नचलाई छोड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहसचिव लोकदर्शन रेग्मीमार्फत आईजीपी प्रकाश अर्याललाई दबाब दिएको स्रोतको दाबी छ । 

प्रहरी मुख्यालय स्रोतका अनुसार देउवाको सोही निर्देशनअनुसार आईजीपी अर्यालले एसपी खत्रीलाई टेलिफोनमार्फत मुद्दा केही नरम बनाएर छिटो पेश गरिदिन निर्देशन दिएका थिए । तर, एसपी खत्रीले अनुसन्धानका लागि समय लाग्ने भन्दै अनुसन्धान सकेर मात्रै मुद्दा पेश गर्न सक्ने अडान लिएका कारण उनलाई अकस्मात् हेडक्वार्टर तानिएको बताइएको छ । 

एसपी खत्रीलाई हेडक्वार्टर तानेलगत्तै आईजीपी अर्यालको निर्देशनमा धादिङको निमित्त प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पञ्जियारले हतारहतार अनुसन्धानको राय प्रतिवेदन तयार गरेर बुधबार अपराह्न जिल्ला सरकारी वकिलको कार्यालय धादिङमा बुझाइसकेका छन् । तर, डीएसपी पञ्जियारले प्रारम्भिक राय बुझाएको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उम्किन खोजेका छन् । 

‘म बाहिर छु, त्यो विषयमा के भएको छ भन्ने कुरामा मलाइ कुनै जानकारी छैन, अनुसन्धान चलिरहेको छ, यो विषय हाम्रो आन्तरिक विषय भएकोले यस विषयमा थप केही बोल्न मिल्दैन,’ पञ्जियारले भने ।  उता जिल्ला सरकारी वकिलको कार्यालय धादिङले प्रहरीबाट आएको प्रारम्भिक रायको आधारमा आधा घन्टाभित्रै अभियोग पत्र तयार गरेर जिल्ला प्रशासन कार्यालय धादिङमा पेश गरेको र धादिङका कामु प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हातहतियारसहित पक्राउ परेका अभियुक्तहरु युल तामाङ र जयकुमार तामाङलाई धरौटीमा छोडेका छन् । 

हतियारसहित पक्राउ परेका आरोपीहरुलाई फास्ट ट्रयाकमा सुनुवाइ गरेर थुनामा पठाउनुपर्ने आरोपीहरुलाई धरौटीमा छोडिएको विषयमा प्रतिक्रिया लिँदा कामु प्रमुख जिल्ला अधिकारी ढकालले आफूले गरेको आदेश सही भएको दाबी गर्दै कोहीकसैलाई चित्ता नबुझेमा अदालत जाने बाटो खुल्ला रहेको भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । विश्वस्त स्रोतका अनुसार कामु सिडियो ढकालले गृहसचिव लोकदर्शन रेग्मीको निर्देशनबमोजिम उनीहरुलाई धरौटीमा छाड्ने निर्णय गरेको खुल्न आएको छ ।  

त्यसो त अपराध नियन्त्रणमा राजनीतिक दबाब नमान्दा जिल्लास्थित सुरक्षा प्रमुखहरु तानिएको यो नै पहिलो होइन । केही महिनाअगाडि हुण्डी कारोबारी समातेको भन्दै पर्साका तत्कालीन एसपी राजुबाबु श्रेष्ठ र अपहरण तथा शरीरबन्धक मुद्दाको अनुसन्धानको क्रममा संलग्नता खुलेका पूर्वमन्त्री विश्वनाथ साहविरुद्ध मुद्दा दर्ता गरेका सिराहाका तत्कालीन एसपी श्याम ज्ञवालीलाई गृह मन्त्रालय तानिएको थियो । त्यसबेला दुवै एसपी तानिएको विषयमा चौतर्फी आलोचना भएपछि तुरुन्तै उनीहरुलाई कार्यक्षेत्रमै फिर्ता गरिएको थियो । 

Post a Comment

0 Comments