Subscribe Us

बिरासत जोगाउन कस्तो हम्मे !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा आफ्नो राजनीतिक विरासत जोगाउन मुस्किल देखिएको छ । 

स्थानीय तहको निर्वाचनमा छोरी रेणु दाहाललाई मेयर पदमा जिताएर आफ्नो भावी चुनावी क्षेत्र सुरक्षित बनाउने प्रचण्डको योजनालाई एमालेले तुहाउनै लागेपछि यस्तो परिस्थिति देखा परेको हो । 

अब मतपेटिकामै राजनीति नगर्ने हो भने प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग तालमेल गरी तयार पारेको विरासत जोगाउन हम्मे–हम्मे परेकोे छ । 

त्यसो त चितवनको माडीमै माओवादीको जीत भएपछि भरतपुरको मतगणनामा रेणुको पक्षमा मत आउने प्रक्षेपण माओवादी नेताहरूले गरेका थिए । तर, मगतणना जारी हुँदा एमाले उम्मेदवार देवी ज्ञवालीले भरतपुरमा ३ हजार मतको अन्तरले अग्रता लिन थालेपछि रेणुले जित्नसक्नेमा शंका उत्पन्न हुन थालेको छ । 

माओवादी नेताहरू नै रेणुका लागि महानगरमा आफ्ना मत छैनन् भन्नेमा सहमत छन् । उनीहरू कांग्रेसीको मतले नै रेणुको मेयर बन्ने सपनालाई साकार पार्ने अड्कलमा छन् । यदि कांग्रेस मतदाताले रेणुलाई मत नदिएको खण्डमा वा कम दिएको खण्डमा उनको सम्भावना नरहनेमा माओवादी नेताहरू सहमत छन् । 

रेणुलाई जिताउनकै लागि चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । प्रतिपक्षी एमालेसँग चिढिएका मतदाताको मन बहलाउनकै लागि त्यो संयुक्त सभा गरिएको थियो । यसकारण पनि अहिले रेणुका पक्षमा आएका मतमा दुवै नेताले कसरत गरेको पुष्टि भइसकेको छ । अन्य ठाउँका मत परिणाम माओवादीले अपेक्षा गरेअनुसार नै आएपछि भरतपुरमा भने प्रचण्ड र माओवादीको साख जोडिएको छ । त्यससँगै कांग्रेसले गरेको समर्पण भूलमा परिणत नहोस् भन्ने कांग्रेस नेताहरूको अपेक्षा पनि छ । 

मतदाताको मनस्थितिको आँकलन गर्न कठिन स्थानीय चुनावमा रेणु प्रधानमन्त्री प्रचण्डको राजनीतिक विरासतको एक पात्र पनि हुन् । दक्षिण एसीयामा चलेको पारिवारिक राजनीतिको विरासत जोगाउनका लागि नै साम दाम र दण्डभेद गरेर प्रचण्डले रेणुलाई परिवारको भविष्य बनाउने ठूलो चुनौति लिएका हुन् । कतिपय माओवादीले जीत्नसक्ने ठाउँमा कांग्रेससँग आत्मसमर्पण गरी रेणुका लागि भरतपुर तयार पारेका प्रचण्ड पार्टीभित्र नातावादी राजनीति गरेको विषयमा पनि आलोचित भए । 
आगामी प्रधानमन्त्री पदमा माओवादीको समर्थन लिन र चुनावी खर्च जुटाउन पनि चितवनमा शेरबहादुरले नीजि निर्णय हावी गर्न बाध्य पार्ने प्रचण्डका लागि यो विरासत जोगाउन कठिन र चुनौतिपूर्ण नै रहेको मतपरिणामका प्रारम्भिक तथ्यांकले देखाइरहेको छ । त्यसो त तालमेल गरेका ठाउँमा कांग्रेसले धोका दिएको माओवादी केन्द्रले निर्णय गरिसकेको छ । माओवादीले आफ्नो इमान्दारीता देखाएपनि कांग्रेसले तालमेलमा इमान नराखेको समिक्षा भइसकेको छ । यहि समिक्षाको परिणाम भरतपुरमा भयो भने के हुन्छ ? एकजना माओवादी पोलिटव्युरो सदस्य भन्छन्,‘कांग्रेससँगको लामो यात्राको तयारी अन्त्य हुनेछ ।’

भरतपुर महानगरपालिकाको ठूलो क्षेत्रमा कांग्रेसी मतदाताको बलियो उपस्थिति रहेको छ । त्यसकारण पनि संविधानसभाको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशिल कोइरालालाई चुनाव जित्न कठिन भएन । रेणुको मेयर बन्ने धोको वा प्रचण्डको मेयर बनाउने अठोटको जग नै कांग्रेसी हुन् । राजनीतिक धरातलमा उभिएर कांग्रेसीको भोट पाएरै रेणु मेयर बनिन् भने के हुन्छ ? के उनले काम गर्न पाउनेछिन् ? कांग्रेसको मतमा मेयर भएपछि त्यहाँ माओवादीको एजेन्डालाई मात्र कार्यान्वयन गर्ने हिम्मत उनमा रहनेछैन । नैतिक रूपमा विपरित राजनीतिक धारको मतमा मेयर भएपछि मतको कदर गर्नका लागि पनि उनले मतदाताको इच्छाले चल्नुपर्ने हुन्छ जहाँ कांग्रेसका योजनाहरू सुसुप्त हुनेछन् ।

भरतपुर महानगरमा फैलिएको रूखको घारीमा हँसिया हतौडाको किल्ला बनाउने अवसर र माओवादीको विरासत जोगाउने चुनौतिको धारमा रेणुको आगामी राजनीतिक यात्राको थालनी हुनेछ । रेणुले भरतपुरका जनताको विश्वास जुटाउनका लागि समृद्ध र शक्तिशाली महानगरको परियोजना पाँच वर्षभित्र ल्याउने र कार्यान्वयन गर्ने काम गर्न सफल भए कांग्रेसले आफ्नो बलियो आधार इलाका गुमाउने छ । त्यहाँ माओवादीप्रतिको विश्वास बलियो हुनेछ । एउटा जनाधार बन्नेछ । मतदाताहरूले बाध्यात्मक अवस्थामा दिएको मतको सदुपयोग ठान्नेछन् र भरतपुरबाट रूख ढल्नेछ ।

Post a Comment

0 Comments