Subscribe Us

कृषि विकास बैंक ठगी प्रकरण,
एक अभियुक्त कैदी अर्का अभियुक्त जेलर

काठमाडौं । दुई वर्ष अघि भएको ३४ करोड बैंक ठगी प्रकरणका मुख्य अभियुक्त हाल ललितपुर नख्खु कारागारमा एउटा कैदी र अर्का सहायक जेलर रहेको रहस्य जनप्रहार साप्ताहिकले फेला परेको छ । 

घटनाका मुख्य आरोपी केदारप्रसाद गौतम कैदी र उनलाई किर्ते गर्न सघाउने नायब सुब्बा लक्ष्मी तिम्लसेना हाल नख्खुमा सहायक जेलरका रुपमा रहेको जनप्रहारले फेला पारेको हो ।   

उच्च स्रोतका अनुसार एउटै मुद्दाका कैदी र आरोपी मिलेर हाल नख्खु कारागारमा आफ्नो दबदबा बढाउन थालेपछि जेलर टेकबहादुर केसी समेत एक्लीएका छन । 

तिम्लेसेनाले आफ्ना म्यादी रहेका कैदी केदारप्रसाद गौतमलाई नाईके बनाउन कारागार ब्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे, निर्देशक गणेशप्रसाद भट्टराई देखि गृहका कर्मचारीलाई ठुलो नजराना बुझाएपछि अवस्था तनावग्रस्त बनेको हो । बैंक कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट २०७२ भदौमा  झण्डै ३४ करोड रुपैयाँ उनै गौतमको नेतृत्वमा निकालेको खुलेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रकम हिनामिनामा संलग्न भएको आरोपमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम सहित ९ जनालाई पक्राउ गरेको थियो । 

ब्युरोले घटनामा संलग्न रहेको आरोपमा  जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बा द्वय लक्ष्मी प्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजन कुमार नयाँजु र लेखनदास कृष्ण बहादुर कटुवाल समेतलाई पक्राउ गरि कारवाही थालेको थियो । 

उनीहरूले केदार प्रसाद गौतमलाई तेज बहादुर थापाको नामको नाममा भक्तपुरको झूठो लालपुर्जा र नागरिकताको प्रतिलिपी बनाउन सहयोग गरेका थिए । भक्तपुर जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत समेत पर्ने भएकाले थप कारवाहीका लागि अख्तियार पठाइएको थियो । तर अख्तियारसँगको सेटिङमा रिहा भएका उनै तिम्लसेना हाल दुई वर्षदेखि नख्खु कारागारमा सेकेण्ड म्यान भएर बसेका छन । 

नख्खुमा लक्ष्मी आतंक 
नख्खु कारागारमा हाल उनै किर्ते आरोपी लक्ष्मी तिम्लसेना आतंक चलेको खबर छ । गौतमले  बैंकबाट कुम्लाएको रकमको आडमा सुब्बा लक्ष्मीले कारागारका तीनवटै ब्लकका आफु मातहतका नाईके राख्ने योजनाका लागि कैदी–बन्दीलाई अनावश्यक यातना दिन थालेका हुन ।

स्रोतका अनुसार नख्खुमा रहेका डिआरसी ब्लकमा उनै गौतम र सिआरसी ब्लकका नाईके रहेका प्रमोद थापाले तिम्लसेनालाई तन, मन र धनले  सघाएका छन । थापाले कारागारमा रहेका कैदीबन्दीसँग अनावश्यक रकम माग्ने नदिए निर्घात कुटपिट गर्न थालेका हुन ।  लक्ष्मी, केदार र प्रमोदले आफु अनुकुल रकम नदिने कैदी–बन्दीको सुविधा रोक्नेदेखि कुटपिट गर्न थालेपछि सो को जानकारी कैदीबन्दीले जिल्ला प्रशासन कार्यालय ललितपुर र महानगरीय प्रहरी कार्यालय समेतलाई जानकारी गराएका छन । 

कारागार नियमावलि विपरित अपहरण, लागूऔषध, खोटाचलन र राज्य बिरुद्धको अपराधमा संलग्न रहेका अभियुक्तलाई नायब सुब्बा तिम्लसेनाले अनावश्यक सुविधा दिने देखि अस्पताल लैजाने बहानामा कारागार बाहिर पठाउन थालेका कारण कुनैपनि समय ठुलो घटना हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई जानकारी दिईएको हो । स्रोतका अनुसार खोटाचलन मुद्दाका युनुस अन्सारी, अपहरण नाईके अमर टण्डन र नाईके प्रमोद थापालाई कारागार प्रशासनले नियम विपरित रातरातभर बाहिर पठाउदै आएको स्रोतको दाबी छ । 


Post a Comment

0 Comments