Subscribe Us

वैकल्पिक शक्तिको उदयले राजनीति बृत्तमा हलचल

काठमाडौं । स्थानीय तहको निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा देखिएका विवेकशिल नेपाली पार्टी र साझा पार्टीको उदय सन्तोषजनक भएको छ । 

कम समयमा उम्मेदवार चयन, निर्वाचन प्रचार सामान्य र खर्च कम गरेका विवेकशिलको तर्फबाट २१ वर्षकी रन्जु न्यौपाने दर्शना र साझा पार्टीबाट पूर्वसचिव किशोर थापा उम्मेदवार थिए । 

परम्परागत राजनीति गरिरहेका नेकपा एमाले, नेपाली कांग्रेस पछि यी दुईजनाको बलियो मत आएको छ । आँकलन गरेभन्दा बढि नै जनताले उनीहरूलाई मत दिएपछि मूलधारका पार्टी संकटमा परेका छन् । नेकपा माओवादी केन्द्रलाई भने यी दुईले ठूलो मतान्तरले पछाडी छाडे ।

काठमाडौंको जारी मतगणनामा पनि यी दुईजनाको भारी मत आउन थालेको छ । पहिलो केही दिन नेपाली कांग्रेसलाई पनि उछिनेका यी दुईको उद्देश्य एकै छ । सुसंस्कृत राजनीति स्थापित गर्ने मान्यता राखेका वैकल्पिक शक्तिको यो मतपरिणाम प्रक्षेपण गरेभन्दा ज्यादा रहेको र चुनौति बन्नसक्ने कांग्रेस एमालेका उम्मेदवारले पनि बताएका छन् । 

‘कांग्रेस र एमालेले अब परिवतर्तित राजनीतिलाई ध्यान नदिने हो भने, सुसंस्कृत राजनीतिको मुद्दालाई सम्बोधन नगर्ने हो भने परिवर्तन आउन समय नलाग्ने रहेछ’, कांग्रेसका एकजना नेता शोभाकर पराजुलीले भने,‘वैकल्पिक शक्तिको यो मत भनेको जनताको विश्वास बढिरहेको विश्लेषण हामीले गर्नैपर्छ ।’

काठमाडौं महानगरपालिकामा करिब करिब एमालेका विद्यासुन्दर शाक्यको जीत निश्चितको बाटोमा लागेको छ । कांग्रेसका राजुराज जोशीको मत पनि कम छैन । तर, वैकल्पिक शक्तिको ठूलो धक्का कांग्रेसले व्यहोरेको विश्लेषण पनि गरिएको छ । ‘कांग्रेसले अहिलेको सरकारबाट गराएका निर्णय, पार्टीको निर्णयहरूका गल्तीले पनि वैकल्पिक शक्तिमा मत बढेको हो, अझ युवा पुस्ताको मत पनि उनीहरूमा रहेको छ’, कांग्रेस नेता डा. शेखर कोइरालाले भने,‘अब सच्चिने कि नसच्चिने भन्ने चुनौति मुलधारका दलमा आइलागेको छ ।’

मतपरिणामको रूझान हेर्ने हो भने दर्शनाको मत १० हजारले पार हुनु, थापाको मत १० हजार नजिक पुग्नु भनेको नै जनमतमा बलियो आधार बनाउनु रहेको धेरैले विश्लेषण गरेका छन् । अझ कम समयमा प्राप्त भएको यो मत आगामी वर्षहरूमा जनताको विश्वास जित्ने बलियो कडी हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । 

‘विश्वभर चलेको वैकल्पिक शक्तिहरूको लहर नेपालमा पनि देखिन्छ, यो मतपरिणाम पनि यसैको एउटा उदाहरण हो’, विश्लेषक डम्बर खतिवडाले भने,‘वैकल्पिक शक्तिको मत बलियो हुन्छ, हुनुपर्छ । मुलधारका पार्टी नसच्चिए जनताले परिणाम देखाउनेछन् ।’ 

Post a Comment

0 Comments