Subscribe Us

डिएसपी ढुंगेलको सक्रियतामा ५ बर्षपछि हत्यारा पक्राउ

काठमाडौं । रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट घटनाका अभियुक्त श्याम राउतलाई पक्राउ गरेको हो । 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्य क्षेत्रका डीआईजी गणेश केसीले भारत प्रहरीसँगको समन्वयमा राउतलाई पक्राउ गरिएको जानकारी दिए । तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते सुन्तली तामाङ हराएकी थिइन् । 

त्यसको १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा उनको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको थियो ।

छोरीको हत्यापश्चात् आमा डिल्लीमायाले श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएको तर रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेका थिए । त्यसपश्चात् शर्मालाई प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरुप सरुवा गरेको थियो । 

ढुंगेलको सक्रियताले समातिए अभियुक्त

हाल रामेछाप प्रहरी प्रमुख डीएसपी कुमोद ढुंगेल रामेछाप सरुवा भएपछि यस घटनाको अनुसन्धान फेरि सुरु गरेका थिए । ढुंगेलले अभियुक्त राउत भारतमा रहेको सूचना थाहा पाएपछि उनलाई पक्रन भारतीय प्रहरीसँग समन्वय गरेका थिए । 

प्रहरीले राउत भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा काम गरिरहेको पत्ता लगाएको थियो । त्यसपछि निरन्तर पछ्याउँदै प्रहरीले भैरहवाबाट राउतलाई पक्राउ गरेको डीएसपी ढुंगेलले बताए । 

पत्रकार सम्मेलनमा सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारबाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानबिन हुने डीआइजी केसीले बताए । राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको र उनले तामाङको बलात्कारपछि हत्या गरेको अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ । सुन्तलीकी आमा डिल्लीमायाले तत्कालीन डीएसपी शर्मालाई पनि कारबाही गर्न माग गरिन् ।

Post a Comment

0 Comments