Subscribe Us

आईजी–एआईजी ठग्ने नटवरलाललाई कसले दियो संरक्षण ?

काठमाडौं । सर्वसाधारण मात्र नभई प्रहरीका हाकिमलाई समेत ठगीको जालोमा पारेर एक व्यक्तिले सबैलाई चकित बनाएका छन् । आफुलाई ठूलो जमिनदार भन्न रूचाउने शिवप्रसाद त्रिपाठी नामका व्यक्तिले कहिले जग्गाको मुद्दा मिलाउन अदालतमा सेटिङ मिलाउने त कहिले विदेश पठाउने भन्दै प्रहरीका हाकिम देखि सर्वसाधारणबाट ४ करोड भन्दा बढी उठाएर फरार भएका छन् । 

रूपन्देही घर भएका त्रिपाठी पूर्वगृहमन्त्री निरञ्जन थापाको पिए हुँदादेखि नै ठगीका नयाँ–नयाँ धन्दामा लागेको उनैका क्रियाकलापले पुष्टि गरेको छ  । अहिले दिनहुँजसो महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरमा त्रिपाठीबाट ठगिएकाहरू उजुरी गर्न पुगे पनि प्रहरीले उनीको बारेमा कुनै सुइँको पाउन सकेको छैन । 

बिरालोले बच्चा सारे झै महिना महिनामा नयाँ–नयाँ ठाउँमा कोठा सर्ने उनको काम ।  हाल सतुङगलतिर लुकेर बसेका त्रिपाठीले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमूख देवीराम शर्मा र नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज साहीलाई समेत ठगेको देख्दा त प्रहरी अधिकारीहरू नै चकित परेका छन्  । 

अदालतका न्यायधिशहरूलाई तुरून्तै आफ्नो प्रभावमा पार्न सफल त्रिपाठीको कला देखेर कयौं व्यक्तिहरू ठगिने क्रममा शर्मा र साही पनि उनको जालोमा परेको प्रहरी स्रोतले बतायो । 

त्रिपाठीले अरूलाई त ठगे–ठगे,  सापटको नाममा साहीसँग १५ लाख र शर्मासँग १० लाख समेत ठग्न सफल भएको प्रहरी वृत्तमा चर्चा चलेको छ । अवकाश हुनु अघि एआइजी साहीले नाका–नाकामा त्रिपाठीलाई खोजी गर्न प्रहरी खटाए पनि आफ्नै भाई हेडक्वार्टरमा कार्यरत सई बिष्णु त्रिपाठीले सूचना चुहाएका कारण त्रिपाठी भाग्न सफल भएका थिए ।

पछिल्लो समय नेपाल प्रहरीका पूर्व एसपी ढकबहादुर कार्कीसँग नजिकको सम्पर्क बनाएका त्रिपाठीले कतिपय व्यक्तिलाई पशुपतीका मुल पूजारी भट्टलाई देखाएर समेत ठगेका छन् । 

विभिन्न मुद्दा मामिलामा फँसेका ठूला व्यापारीलाई उनले भारतीय पूजारीको आशिर्वाद लिए कार्य सफल हुने भन्दै पूजारी भट्टसँग परिचय गराएर ठगेको अपराध महाशाखामा भेटिएका एक पीडितले खुलासा गरे । त्रिपाठीले एमाले नेता झलनाथ खनालका पिएसओलाई विदेश मिसन पठाउने भन्दै पाँच लाख ठगेको पनि खुलेको छ  । 

त्यस्तै, बसुन्धारामा जग्गाको लफडा मिलाउने भन्दै रमेश बस्नेत नाम गरेका व्यक्तिबाट १५ लाख, बाँसबारीका किरण गुरूङबाट १० लाख र सशस्त्र प्रहरीका एक डिएसपीको २० लाख फुत्काउन सफल भएका छन् । जसलाई साथी बनायो उसैलाई विभिन्न बहानामा ठग्ने कला भएका त्रिपाठी र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमूख देवीराम शर्माको सम्बन्ध निकै पुरानो हो । तर, आइजीपी प्रकाश अर्यालका मामा समेत रहेका उनै शर्मालाई ठग्ने त्रिपाठीलाई प्रहरीले अहिले पनि पक्राउ गर्न सकेको छैन । पछिल्लो समय त्रिपाठीले रूपन्देहीका केही व्यक्तिलाई रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको उजुरी आएको अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए । 

प्रहरीका केही डिआइजीसँग घनिष्ट सम्बन्ध बनाएका त्रिपाठीले केही कानुन व्यवसायीलाई पनि न्यायधीश बनाइदिने भन्दै उनीहरूबाट लाखौं उठाउन सफल भएको आजकाल सर्वोच्च अदालततिर चर्चाको बिषय बन्ने गरेको छ ।              

Post a Comment

0 Comments