Subscribe Us

व्यापारी श्रेष्ठ अपहरण र हत्याका मुख्य योजनाकार पक्राउ

काठमाडौं, असार २७ । दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गर्ने मुख्य अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले घटनाका मुख्य आरोपितहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा तुलसीपूर –६ का टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । व्यापारी अपहरणमा मुख्य भूमिका निभाउने युवती पूजालाई भने प्रहरीले भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरि ल्याएको स्रोतको दाबी छ । 

उक्त विषयमा अञ्चल प्रहरी कार्यालय राप्तीले आज अपराह्न पत्रकार सम्मेलन गरेर पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्दै छ । गत जेठ २६ गते अपहरणमा परेका व्यवसायी श्रेष्ठ मृत अवस्थामा सल्यानको पाथिभरा लेकमा असार १६ गते फेला परेका थिए । प्रहरीको निरन्तरको खोजबिनपश्चात् श्रेष्ठको शव सो स्थानमा फेला परेको हो । 

उनको शव कुहिएको अवस्थामा फेला परेको थियो । यसअघि नै घटनामा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । अपहरणकारीले १७ वर्षीया पूजा घर्तीलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गर्न सफल भएका थिए । युवतीको फोनपश्चात् व्यवसायी श्रेष्ठ र युवती एउटै कारमा सल्यानसम्म पुगेका थिए । 

सल्यान पुगेपछि भने अपहरणकारीले व्यवसायी श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए । उनलाई हिँडाएर लैजाने क्रमा डाइबिटिजका कारण हिँड्न नसकेपछि र बोकेर लैजान पनि नसक्ने भएपछि उनको हत्या गरिएको पक्राउ परेका अभियुक्तहरुले बयानका क्रममा स्वीकार गरिसकेका छन् । 

Post a Comment

0 Comments