Subscribe Us

नेतृत्व कमजोरीले प्रहरीभित्र काण्डै काण्ड,
१४ दिनमा २४ लाई कारवाही

काठमाडौं । प्रहरीको नेतृत्व कमजोर भएपछि चेनअफ कमाण्ड पनि विग्रेको छ । प्रहरी महानीरिक्षकमा प्रकाश अर्याल नियुक्ति भएसँगै जिल्लामा खटिएका प्रहरी अधिकृतहरूले रजाई सुरू गर्न थालेका छन् । 

पूर्वी पहाडी जिल्ला तथा काठमाडौ उपत्यका र  तराईका जिल्लाहरूमा प्रहरी प्रमुख भएर गएका प्रहरी अधिकृतहरू प्रधानकार्यालयको डर र त्रास नमानी भ्रष्टाचार, घुस काण्डमा लिप्त हुन थालेका छन् ।

केही जिल्लाका अधिकृतमाथि गृहमन्त्रालयको दबाबमा प्रधानकार्यालयले कारवाहीको प्रक्रिया समेत अघि बढाईसकेको छ । सबैभन्दा बढी नारायणी अञ्चलमा प्रहरी र तस्कहरूबीचको मिलेमतोमा घुस आदानप्रदान हुने गरेको पाईएको छ । 

नारायणी अञ्चल प्रमुख सूर्य उपाध्याय तथा त्यहाँ रहेका प्रहरी प्रमूखको सबैभन्दा बढी मिलेमतो रहेको भएपनि मध्यक्षेत्र प्रहरी कार्यालयको सिफारिसमा पर्साका प्रहरी प्रमुख गोविन्द साह र बाराका डिएसपी राजेन्द्रराज रेग्मीलाई प्रहरी प्रधानकार्यालयमा हाजिर गराइएको छ । 

प्रहरीले आन्तरिक शुद्धीकरण अभियान सुरू गरेको भन्दै एसएसपीलाई जोगाएर अन्यलाई मात्र कारवाही सिफारिस गरेको छ । आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरू गरेको जनाएको भएपनि मुख्यचाहि सूर्य उपाध्यालाई जोगाउने खेल शुरू भएको स्रोतको दाबी छ ।   

घुस काण्डमा पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानविन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालयले गत साता तानेको हो । प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ ।  

दुवै एसपीले तस्करीमा सघाएको र शान्ति सुरक्षामा ध्यान नदिएको उजुरी परेको छ । पैसा लिएको प्रमाणसहित केही व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको हो । दुईजना एसपीलाई तत्कालै ती जिल्लामा पठाउने भनिए अहिलेसम्म कसैलाई पठाइएको छैन । 

गृह मन्त्रालयका अधिकारीले थप छलफल गरेर मात्र पठाउने बताएपछि दुवै जिल्ला एसपीविहीन बन्न पुगेका छन् । तानिएका एसपीद्वय फेरि आफैँ जान राजनीतिक लबिङमा लागिसकेका छन् । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको सिफारिसमा उनीहरू तराईको जिल्लामा इन्चार्ज भएका थिए । 

सप्तरीका द्विवेदी त गएको चार महिनामै तानिएका हुन् । करिव ३ महिना अघि एसपी साहले गरेको गल्तीको विषयमा पर्साकै डिएसपी यज्ञविनोद भट्टराईले सञ्चार सेटमार्फत मातहत निकायमा छताछुल्ल पारेका थिए ।

पर्सा जिल्ला प्रहरी कार्यालय प्रमुख गोविन्द साहले वीरगन्ज नाकाबाट तस्करी गर्नेलाई खुला छाडेको तथा मातहत निकायलाई पनि त्यसै गर्न निर्देशन दिएको भन्दै भट्टराइले सो विषयमा प्रहरीको सञ्चार सेटमा बताएका थिए । तर सो घटननमा नारायणी अञ्चल प्रमूख रहेका एसएसपी सूर्य उपाध्ययाले एसपी साहकै पक्षमा वकालत गरेपछि प्रहरी प्रधानकार्यालयले दुवैलाई ‘एक्सन’को तयारी गरेको थियो । तर गृहमन्त्री निधिले त्यसलाई रोकिदिए । 

स्रोतका अनुसार नीधिकै पहुँचबाट साह पर्सा गएका हुन् भने द्विवेदीपनि दिवेस लोहनीलाई विस्थापित गरेर सप्तरी गएका हुन् । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार सप्तरीमा एसपी द्विवेदीले स्थानीय व्यापारीलाई दुख दिएको उजुरी परेको थियो । उनीहरूको विषयमा प्रधानकार्यालयले सुक्ष्म अध्ययन गरेपछि मात्रै काठमाडौ झिकाएको हो । दुवै प्रहरी अधिकृतलाई प्रधानकार्यालयले आचरण ठीक नभएको जनाएको छ । 

गोविन्द साह भोजपुर, उदयपुर तथा पर्सा जहाँ बसेपनि उनले राम्रो काम गर्न सकेका छैनन् । उदयपुरमा सामुदायिक बनबाट काठतस्करी गर्नेलाई प्रश्रय दिएपछि तीन महिनामै तानिएका थिए भने भोजपुरमा पनि एक वर्ष वस्न सकेनन् । 

एमालेको मेची महाकाली यात्राको क्रममा सप्तरीमा गोली चलेपछि खटिएका एसपी अनुराग द्विवेदीको पनि विगत राम्रो छैन । यसअघि उनी मध्यक्षेत्रमा कार्यरत थिए । उनी बढुवा भएको पनि लामो समय भएको छैन । प्रहरी नीरिक्षकमा हुँदा उनी कुशल भएपनि डिएसपीमा बढुवा भएपछि उनलाई दिएका कमाण्डहरू असफल भएको प्रहरीभित्र अहिलेपनि चर्चा हुने गरेको छ । 

गृहमन्त्रालयले सप्तरीमा उनलाइ पठाउनुअघि एसपी विद्यानन्द माझीलाई पठाउने तयारी गरेको भएपनि गृहमन्त्रीले द्विवेदीलाई नै रोजेका थिए । तर उनी पाँच महिनापनि टिकेनन् । मध्यक्षेत्रमा जानुअघि उनी सिन्धुलीको डिएसपी थिए । नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा तानिएका छन् ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो । गम्भीर उजुरीका आधारमा अनुसन्धान थालिएको हो । सीमामा तस्करीमा संलग्न केही व्यक्तिलाई सहयोग गरेको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर उमाशंकर यादवमाथि कारबाही सुरू गरेको थियो । त्यस्तै, सइ रामबालक यादवलगायत अन्य चारजना जुनियर प्रहरीलाई पनि गुल्ममा सरूवा गरी छानविन भइरहेको छ ।

सप्तरीका एसपीसँगै तल्लो तहका प्रहरी पनि कारबाहीमा परेका छन् । सखडा चौकीका सईले बिहारतर्फ मदिरा तस्करीमा सघाएको खुलेपछि उनलाई कारबाही गरिएको छ । प्रायः सादा पोसाकमा काम गर्ने प्रहरीहरूले बदमासी गरेको पाइएको र कारबाही भइरहेको छ । 

तराईका जिल्लामा भारतबाट तस्करी हुने भएकाले प्रहरीको मिलेमतो देखिने गरेको छ । त्यही कारण तराईका जिल्लामा इन्चार्ज बन्न चलखेल हुने गरेको छ । पछिल्ला महिना तराईका जिल्लामा आर्थिक अनुशासनहीनता मौलाएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको छ । बारा, रौतहट, सिरहा, महोत्तरी, धनुषा, रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाका प्रहरीविरूद्ध धेरै उजुरी परेको प्रहरी मुख्यालयका एक अधिकारीले बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर विमलकुमार उपाध्यय घुस काण्डमा निलम्बनमा परेका छन् । मुख्यालयले उनलाई निलम्बन गरी थप विभागीय कारबाही थालेको हो । घुस असुलेको प्रमाण भेटिएपछि उनी निलम्बनमा परेका हुन् । पुलिसिङमा लापरबाही गरेको तथा आर्थिक लेनदेनसम्बन्धी उजुरी आएपछि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दुई एसपीलाई स्पष्टीकरण सोधेको छ । 

धनकुटाका सुदीपराज भण्डारी र इलामका एसपी सुशीलकुमार यादवलाई स्पष्टीकरण सोधिएको हो । इलामका एसपी यादवले केही दिनअघि बन्दको दिनमा ढिलासम्म प्रहरीको ड्युटी नै खटाएका थिएनन् । जसका कारण बन्दकर्ताले दुईवटा बस जलाइदिएका थिए । त्यस्तै, धनकुटाका एसपीले पुलिसिङमा गम्भीर लापरबाही गरेपछि क्षेत्रले छानबिन थालेको स्रोत बताउँछ । त्यस्तै, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले संखुवासभाको वडा प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर गणेशमान श्रेष्ठलाई लिखित सचेत गराएको छ । 

आप्mनै प्रहरी कर्मचारीसँग घुस लिएको आरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरूसँग पैसा असुलेका थिए । कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरूले उनीविरूद्ध उजुरी गरेका थिए । मध्यक्षेत्रका तत्कालीन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।

Post a Comment

0 Comments