Subscribe Us

सर्वोच्चमा अड्क्यो भरतपुर परिणाम

काठमाडौं । माओवादी कार्यकर्ताले गणनास्थलमै मतपत्र च्यातिएपछि तन्किएको भरतपुर महानगरपालिकाको मतगणना र परिणाम जान्ने उत्सुकता सर्वोच्च अदालतमा अड्कीएको छ । 

पुनः मतदान वा पुनः मतगणना भन्ने विवादको अहिलेसम्म टुंगो लागेको छैन ।

 १९ नम्बर वडाको मगगणनाका क्रममा भरतपुरमा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुनःमतदान गर्ने निर्णय गरेपछि त्यसका विरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई अहिलेसम्म हुन नसकेको हो । 

सोमबार सुनुवाई हुने बताइएपनि फेरि सरेको छ । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।

कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । 

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

Post a Comment

0 Comments