Subscribe Us

११ एआईजी र १५ डीआईजीको बढुवा तयारी,
खरेल, खनाल र कार्कीबीच चर्को प्रतिस्पर्धा

काठमाडौं, असार २६ । लामो समयको रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीको उच्च तहमा रिक्त पदपूर्ति गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस अगाडि कायम ३ एआईजीको दरबन्दीलाई बढाएर ११ कायम गरेसँगै गृह मन्त्रालयले एआईजी र डीआईजी पदमा बढुवाको प्रक्रिया अगाडि बढाएको हो । 

प्रक्रियाअनुसार सोमबार अपराह्न गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल र लोकसेवा आयोगका आयुक्त वृन्दा हाडा सम्मिलित पदपूर्ति समितिको बैठकले खाली पदमा बढुवा गरेर पदपूर्ति गर्ने निर्णय गरेको थियो ।    

सोही निर्णयअनुसार गृह मन्त्रालयले गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बढुवा समिति गठन गरेर एआईजी बढुवाको प्रक्रिया अगाडि बढाएको छ । सोमबार गठित ३ सदस्यीय बढुवा समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिव र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल सदस्यसचिव छन् । गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार भोलि ९मंगलबार० बिहानसम्म एआईजी बढुवा सिफारिश सूची प्रकाशन गर्ने बढुवा समितिको तयारी रहेको बुझिएको छ । 

स्रोतका अनुसार नेपाल प्रहरीको आईजीपी बढुवामा अन्यायमा पारिएका तथा कार्यसम्पादन मूल्यांकन र जेष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई पहिलो नम्बरमा बढुवा दिने गृहमन्त्री जनार्दन शर्माको योजना रहेको बुझिएको छ । यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो नम्बरका जयबहादुर चन्दलाई पहिलो नम्बरमा बढुवा दिलाइदिन र सिलवाललाई कुनै हालतमा पनि बढुवाबाट वञ्चित गराउन बढुवा समितिका सदस्यहरुलाई चर्को दबाब दिएको खुल्न आएको छ ।

उच्च स्रोतका अनुसार अहिलेको बढुवामा चन्दलाई पहिलो नम्बरमा बढुवा गराउन सकेमा भदौ महिनामा हालका आईजीपी प्रकाश अर्याललाई राजीनामा दिन बाध्य गराएर अथवा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेरै भए पनि चन्दको आईजीपी बन्ने सपना पूरा गरिदिने देउवाको चाहना छ । तर, गृह मन्त्रालयको नेतृत्वमा स्वच्छ छविका जनार्दन शर्मा रहेको कारण देउवाको उक्त चाहना पूरा हुने सम्भावना निकै न्यून छ । गृहस्रोतका अनुसार कार्यसम्पादन मूल्यांकनअनुसार डीआईजीहरु नवराज सिलवाल, बमबहादुर भण्डारी, जयबहादुर चन्द, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, रणबहादुर चन्द, हेमन्त पाल र विजयकुमार भट्ट एआईजी बन्ने बलियो सम्भावना रहेको बुझिएको छ ।  

चन्दद्वय, जोशी, बम, पाल र भट्ट गरी ६ जना डीआईजीहरु सुदूरपश्चिमवासी हुन् । सुदूरपश्चिमवासी भएको कारण उनीहरुलाई एआईजी बनाउन सुदूरपश्चिमका कांग्रेसी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकोमा तीव्र लविंग गरिरहेको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले रणबहादुर चन्दलाई जसरी भए पनि एआईजी बनाउन चाहेका छन्, तर तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले चन्दलाई कार्यसम्पादन मूल्यांकनमा न्यून नम्बर दिएको कारण बढुवाबाट उनी वञ्चित हुनसक्ने प्रबल सम्भावना रहेको बुझिएको छ ।


उता आफू जनजाति भएको कारण बढुवा पाउनुपर्ने माग गर्दै डीआईजी मिंगमार लामा पनि चर्को दौडधूपमा लागेका छन् । उनका अलावा डीआईजीहरु विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठ पनि बढुवाको दाबी गर्दै चर्को राजनीतिक लबिंगमा लागेका छन् । उता डीआईजी रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला र सुदीप आचार्य पनि बढुवाको दाबेदार भएता पनि बढुवा समितिले उचित मूल्यांकन गर्ने आशा गर्दै खासै दौडधूपमा लागेका छैनन् ।   


एआईजीको बढुवालगत्तै १५ जना एसएसपीहरुलाई पनि डीआईजीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । यस अगाडि रिक्त चार र एआईजी बढुवा भएपछि खाली हुने ११ पदसमेत गरी १५ जना डीआईजीको पद रिक्त हुँदै छ । हाल विद्यमान नियमावलीका प्रावधानअनुसार हालका आईजीपी प्रकाश अर्यालले आगामी चैत २८ गते अवकाश पाएपछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने ब्याचका अधिकृतहरु यसैपटक डीआईजीमा बढुवा हुँदै छन् । उक्त ब्याचमा चर्चित एसएसपीहरु रमेश खरेल, सर्वेन्द्र खनाल र पुष्कर कार्कीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

डीआईजी बढुवामा वरीयतामा प्रतिस्पर्धा भएता पनि रिक्त पद र आकांक्षीहरुको संख्या बराबरी रहेका कारण डीआईजी बढुवामा खासै विवाद नहुने देखिएको छ । २०४४ चैत २९ गते सेवा प्रवेश गरेका भोगबहादुर थापा र पुष्कलराज रेग्मी, २०४५ फागुन १ मा सेवा प्रवेश गरेका रमेशप्रसाद खरेल, २०४६ माघ २९ मा सेवा प्रवेश गरेका सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठ र २०४५ असार ३० मा सेवा प्रवेश गरेका उत्तम कार्की, सुभाष चौधरी र छविलाल जोशी २०६८ चैत २७ मा एकैदिन एसएसपीमा बढुवा भएका थिए । उनीहरुमध्ये राजेन्द्रमान श्रेष्ठ बिरामी भएर काम गर्न नसक्ने अवस्थामा रहेका कारण बढुवा नहुने देखिएको छ । श्रेष्ठबाहेक थापा, खरेल, खनाल, रेग्मी, कार्की, चौधरी र जोशीको डीआईजीमा बढुवा हुने निश्चित देखिएको छ । 

त्यस्तै, २०४४ चैत २९ गते सेवा प्रवेश गरेका पुष्पचन्द्र रञ्जित, २०४६ माघ २९ मा सेवा प्रवेश गरेका धीरु बस्न्यात, मनोज न्यौपाने र बलराम शर्मा पौडेल, २०४५ असार ३० मा सेवा प्रवेश गरेका ज्ञानविक्रम शाह, श्यामबहादुर खत्री, शरद चन्द र पवन खरेल २०७० साउन ४ गते एकैदिन एसएसपीमा बढुवा भएका अधिकृत हुन् । उनीहरुमध्येका एसएसपी श्यामबहादुर खत्रीबाहेक सबै अधिकारीहरु बढुवामा पर्ने निश्चितप्रायः छ । एसएसपी खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत रहँदा केही महिना अगाडि सुन तस्करलाई सघाएको आरोपमा संगठित अपराधको मुद्दा लागेपछि निलम्बनमा छन् ।

उता भावी आईजीपीको प्रतिस्पर्धामा रहेका एसएसपी पुस्कर कार्की पनि यसैपटक डीआईजीमा बढुवा हुँदै छन् । २०४६ माग २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी २०७० भदौ २७ मा एक्लै एसएसपीमा बढुवा भएका थिए । हाल विद्यमान नियमअनुसार ३० वर्षे सेवाहद रहिरहेमा भावी प्रहरी नेतृत्वको लागि रमेशप्रसाद खरेल, सर्वेन्द्र खनालसँग उनको चर्को प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।                

Post a Comment

0 Comments