Subscribe Us

‘नेपालको आन्तरिक विषय र संविधानका बारेमा कुनै पनि सम्झौता हुन सक्दैन’

काठमाडौं :
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताए । 
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उनले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराए । 
प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताए । 
कुशाहा कटैया, रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गरिएको र आगामी हिउँदमा नेपालको ऊर्जा मागलाई सम्बोधन गर्न मार्ग प्रशस्त गरिएको जानकारी दिँदै उनले भने–‘आठवटा विभिन्न विषयमा समझदारी भएको छ ।’
प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको जानकारी दिए ।  
यस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उनले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गरे । 
प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायतका विषयमा समेत सहमति भएको पनि बताए ।  संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरुको चासो रहनुपर्ने विषय नभएको भन्दै उनले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पारे । 
प्रधानमन्त्री देउवाले मुलुकको आन्तरिक विषयमा आफूले केही पनि उल्लेख नगरेको भन्दै गलत टिप्पणी नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरे । उनले भने–‘नेपालको आन्तरिक विषय र संविधानका बारेमा कुनै पनि सम्झौता हुन सक्दैन, अनावश्यक टिप्पणीको अर्थ रहँदैन ।’
संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास अझै पनि जारी रहेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले नेपालको लोकतन्त्र र शान्ति प्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी गराए । उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन सफल भएको र त्यसले नेपाललाई दीर्घकालीनरुपमा लाभ प्राप्त हुने पनि बताए । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म प्रधानमन्त्री देउवाले भारतको राजकीय भ्रमण गरेका थिए । प्रधानमन्त्रीका रुपमा उनको यो चौथो भ्रमण हो । पछिल्लोपटक उनको नेतृत्वमा सरकार गठन भएपछिको भने यो पहिलो विदेश भ्रमण हो । –रासस 

Post a Comment

0 Comments