Subscribe Us

गृहमन्त्री र गृहसचिवको चेपुवामा आईजी अर्याल

काठमाडौं । कार्यक्षमता वा बलबुताले भन्दा पनि भाग्यले प्रहरी महानिरीक्षक (आईजीपी) भएका प्रकाश अर्याल यतिबेला आफ्नै सहकर्मीहरुबाट निकै आलोचित भएका छन् । 

नवराज सिलवाल र जयबहादुर चन्द आइजीपीमा भिडिरहँदा उनलाई आइजीपी पदको चिठ्ठा परेको थियो । तर उनले पदको सदुपयोग गर्न नसकेर गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीको दबाबमा सीमित प्रहरी कर्मचारीलाई काखी च्याप्ने काम गरि रहेकाले उनी आफ्नै भन्नेहरुबाट समेत आलोचित बन्न पुगेका हुन् ।

फाष्टट्र्याकबाट प्रहरीको बढुवा गर्ने हुँदा एआइजीको दरबन्दी थप गरी १३ पु¥याएर आफू निकटकालाई एआइजी बनाइदिने वचन दिएपनि हेमन्त पाल र मधु पुडासैनीको दरवन्दी स्वीकृत भैसकेको विषयमा प्रहरी महानिरीक्षक र गृहसचिव रेग्मी केही बोल्न सकेका छैनन् ।

त्यो ब्याचमा माधव नेपाल, पंकज श्रेष्ठ मात्रै छुटेका छन् । त्यतिमात्र होइन गृहमन्त्री जनार्दन शर्माको आज्ञाकारी हुँदा उनले बढुवामा सिफारिस भैसकेका व्यक्तिलाई काजसरुवा गर्नेदेखि कारवाहीको सिफारिस गरिएकाहरुलाई पनि बढुवा गर्ने सम्मको काम गरे ।

जसले गर्दा उनलाई आफ्नै व्याजीको अगाडी अनुहार देखाउन लाज लाग्न थालेको हल्ला प्रधान कार्यालयतिर छ । आइजीपी बढुवा हुदा सम्बन्ध राम्रो भएका चन्द यतिबेला प्रहरी प्रधानकार्यालय छिरेका छैनन् । उनी गृहमन्त्रालयमा हाजिर गरेर बसेका छन् । 
एआइजीको फूली लगाइसक्दा पनि उनको हाजिर भने मन्त्रालयमै हुने गरेको छ । केही दिनपछि उनलाई विभागीय जिम्मेवारी दिने भन्दै हाजिर मन्त्रालयमै गराइएको हो । सुरुमा आयुक्त कार्यालयको जिम्मेवारी मागेको भएपनि उनलाई सो जिम्मेवारी नदिने प्रकाश अर्यालले बताइसकेका छन् । 

आफैमा दक्ष हुँदाहँुदै सर्वेन्द्र खनालले एआइजीमा बढुवा सिफारिसमा परेका डिआइजी मिङ्मार लामालाई काज सरुवा गराएर आँफै ट्राफिक प्रहरी प्रमुख हुन हत्तारिएर पुगेका विषयमा पनि मिङमारले आइजीपी अर्याललाई हपारेका थिए । लामा माओवादीकै कोटामा एआइजी सिफारिस भएका हुन् । तर उनी सन्तुष्ट हुन सकेनन् । 

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा बिनाआरोप लामालाई काजमा तानिएको हो । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए त्यसकै दोस्रो दिन कारवाही जस्तो ‘फिल’ हुने गरी मुख्यालय  सरुवा गरियो । 

सो विषयमा माओवादीको तर्फबाट सभासद् भएका र पूर्व आइजीपीसमेत रहेका रविन्द्रप्रताप शाहले फेसबुकमा स्टाटस लेखेरै विरोध गरे । ‘बढुवामा सिफारिश पनि गर्ने ?अनि, त्यही बढुवा निस्किन नपाउंदै अपर्झट हेडक्वार्टर पनि तान्ने ? के ताल हो सरकारको ? शक्ति छ भन्दैमा जे पनि गर्न मिल्छ ? यहि हो लोकतान्त्रिक विधी..? यस्तै हुन्छ पारदर्शिता...?’, शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । शाहले त्यतिमात्र होइन क्यासिनोबाट असुलउपर गर्ने एसपी लालामणी आचार्यलाई धनुषामै राख्ने र त्यहा मीरा चौधरीलाई  नपठाउने विषय भएका तिकडमबाजीको विषयमा पनि खुलेरै असहमति प्रकट गरेका थिए । 

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा गृहमन्त्री र आईजीपीको स्वेच्छाचारिता भएको थियो । त्यस्तै एसपीमा एक नम्बरमा बढुवा भएका सिद्धिविक्रम शाह पनि गृह जिल्लावासी भएकैले एक नम्बरमा पारिएको छ । 

डीएसपीबाट बढुवाका लागि एसपीमा सिफारिस भएका सञ्जीव शर्मा दासलाई बलात्कारीलाई संरक्षण गरेको मुद्दामा निलम्बन गरे पनि सिद्धिविक्रमको विगतको चरित्र पनि दासको भन्दा कम नरहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । गृहमन्त्रीले सामाजिक सञ्जालमा विरोध भएपछि दासलाई निलम्बन गर्न आदेश दिएका थिए, तर सर्वोच्च अदालतको आदेशले उनले बढुवाको फुली भने लगाइछाडे । 

विगतमा प्रबन्ध शाखामा बसेर अकूत सम्पत्ति आर्जन गरेका शाह सुडानकाण्डको योजनाकारमध्येका एक हुन् । तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको चाकरी गरी महानगरीय प्रहरी परिसर गएका उनी ठाडो उजुरीमा पैसा खाएर कारबाहीमा परेका थिए । अहिले एआईजी बढुवामा सिफारिस भएका मिङमार लामाले नै उनलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेका थिए । तर त्यस्तो सिफारिसलाई धोती लगाउँदै आइजीपी अर्यालले क्षेत्रीयताको आधारमा शाहलाई बढुवा सिफारिस गरेका थिए । 

त्यस्तै, ओमबहादुर राना कार्यक्षमतामा कमजोर हुँदाहुँदै पनि पटकपटक माथिल्ला नेताहरूको संरक्षणमा बढुवामा परिरहनेमा अधिकृत पर्दछन् । उनका लागि पूर्वउपराष्ट्रपति परमानन्द झाले समेत लबिङ गरेका थिए । राना पहिले जुनजुन कमान्डमा बसे, ती ठाउँहरूमा असक्षम भनेर फर्काइएका व्यक्ति हुन् । उनलाई रसुवामा बस्दा रक्तचन्दन तस्करीको आरोप लागेको थियो । त्यतिबेलाका नेपाली सेनाका कर्णेल रामकुमार थापा कोर्टमार्सलमै परेका थिए ।

तर, रानालाई तत्कालीन आईजीपीले साधारण नसिहत मात्र दिएर उन्मुक्ति दिलाएका थिए । त्यो कारबाहीसम्बन्धी फाइल अझै प्रहरी मुख्यालयमा रहेको प्रहरी स्रोत बताउँछ । रानालाई त्यहाँ कारबाही गरिएपछि फेरि उपत्यकाको मुख्य आकर्षक स्थान बौद्ध वृत्तमा पनि सेटिङमै पठाइएको थियो । त्यहाँ पनि तिब्बतियनहरुसँग रकम असुल गरेको आरोपमा उनी कारबाहीमा परेका थिए । तर प्रकाश अर्याल एण्ड कम्पनीले उनलाई अहिले बढुवाका लागि लायक देखेका छन् ।

एसपीबाट एसएसपी, एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजी बढुवा सिफारिसमा पनि प्रकाश अर्यालभन्दा गृहमन्त्रीकै चाकडी गर्नेहरु परेको प्रहरी अधिकृतहरुको भनाई छ । प्रतिस्पर्धी भए पनि बढुवामा नपरेपछि डीआईजी मधु पुडासैनी, एसएसपी सुवास चौधरी र एसपी विभूतिराज पाण्डेले अन्याय गरिएको भन्दै लोकसेवा आयोगमा उजुरीसमेत दिएका थिए । 
तर त्यो उजुरीलाई प्रहरी नियमावलीले धोती लगाएपछि उनीहरुको २ नम्बर समेत माइनस भएको छ । पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसँग बढुवा सिफारिस गर्दा खटपट परे पनि प्रहरी अधिकृतको पक्षमा लबिङ गरेका थिए । त्यही कारणले निधिले प्रहरीमा केही सुधार गर्न खोज्दा पनि उनलाइ बद्नाम गराउन उपेन्द्रकान्त आफै लागेका थिए । नीधिल ेनै काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दबाब दिएका थिए । त्यो विषयलाई उपेन्द्रकान्त अर्यालले नै बाहिर सार्वजनिक गरिदिएका थिए । एक प्रहरी उच्च अधिकारीका अनुसार संगठन सुदृढीकरणमा अर्यालको अडान नरहेकाले संगठनमा दीर्घकालीन असर परिसरहेको छ । 
                      

Post a Comment

0 Comments