Subscribe Us

व्यवसायीलाई दशैंमा बढि भाडा लिन छुट

काठमाडौं ।
सरकारले घुमाउरो पारामा यातायात व्यवसायीहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको मुखमा बढी भाडा लिन र हुट राख्न छुट दिएको छ । टिकट बुकिङ नै बन्द गरेर बसेका व्यवसायीसँग शनिबार भएको छलफलमा उक्त विषयमा सहमति भएको हो । सहमतिपछि २७ गते मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात विभागका अधिकारी र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच भएको छलफलपश्चात यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।
यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् ।
बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।
बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका हुन् । मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् । २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागकाले जनाएको छ ।
मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार गम्भिर रहेको भन्द्यै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन अनुरोध गरेका छन् । यातायात भाडा बढाउने र बस, मिनीबस र माइक्रोमा हुट राख्न पाउनुपर्ने मागमा सहमति भएपछि यातायात व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न तयार भएको स्रोतको दावी छ ।
महासंघले यातायात भाडा वृद्धि र बस, मिनीबस र माइक्रोमा हुट र छत राख्न नपाएसम्म दसैंका लागि अग्रिम बुकिङ खुला नगर्नेलगायतका माग राख्दै आएका थिए । यातायात विभागले भदौ २२ देखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीलाई आग्रह गर्दै आएको थियो । व्यवसायीले नमानेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रीसहित यातायात विभागका अधिकारी र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच शनिबार वार्ता भएको हो ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा बस, मिनिबस र माइक्रोमा हुट र छत राख्न नपाइने र राखेमा यातायात इजाजतपत्र छ महिनाका लागि निलम्बन र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।  यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागका अधिकारीलाई यही व्यवस्था संशोधन गरी ‘आवश्यक मालसामान राख्ने नाउँमा हुट र छत राख्ने कानुनी व्यवस्था गरिदिन’ बाध्य पारेको हुन् । आवश्यक मालसामान राख्ने नाममा हुट तथा छत राख्ने र त्यसमा दसैंतिहारजस्ता समयमा टनाटन यात्रु चढाउने र  कमाइ गर्ने दाउ यातायात व्यवसायीहरूको छ ।

Post a Comment

0 Comments