Subscribe Us

जब सडकमै उत्रिए सर्बेन्द्र

काठमाडौं । यात्रुहरू गन्तव्यतर्फ जान बस चढ्न आतुर थिए । बसहरू अफिस टाइमको मौका पारेर जतिसक्दो यात्रु चढाएर अगाडि बढ्न खोज्दै थिए । 

नेपाल वायु सेवा निगमको सामुन्ने माइक्रोबस पार्कमा अकस्मात् उपत्यका ट्राफिक प्रहरी महाशाखाका आयुक्त डिआइजी सर्वेन्द्र खनाल देखापरे । 

उनलाई साथ दिन माइक्रोबस व्यवसायी संघका पदाधिकारी र मजदूरहरू समेत जम्मा भए । बसहरू रोक्दै चालक र सहयोगीलाई सम्झाउन थाले । नियमानुसार गाडी हाँक्न, सभ्य पहिरन र बोलीबचन प्रयोग गर्न सम्झाउन थाले ।


खनाल फिल्डमा उत्रिएर चालक र सहयोगीलाई प्रत्यक्ष भेटेर बसको झ्यालबाट सम्झाउँदै गर्दा यात्रुहरू खुशी देखिन्थे । महिलाहरू राम्रो काम भन्दै धन्यवाद भन्दै थिए । पाकाहरू बल्ल यातायात क्षेत्रमा सुधार आउने भयो भन्दै असल काम नरोक्न भन्दै थिए । यत्तिकैमा कलेज पढेर फर्किरहेकी युवतीले बसबाटै हातको संकेत गर्दै भनिन्—गुड जब सर १ चालकलाई सम्झाउँदै गर्दा एकजना किशोर गाडीको चालक सिटमा भेटिए । सम्झाउँदै गर्दा सर्वेन्द्रलाई किशोरमाथि शंका लाग्यो र उमेर सोधे । उसले उमेर नपुगी बस चलाएको भेटियो । सर्वेन्द्रले सिटबाट निकालेर चालक फेर्न लगाए ।

सर्वेन्द्रले हरेक बसमा सभ्य बन्न र ट्राफिक नियमको पालना गर्नेसहितको नारा लेखिएको ब्यानर टाँस्न लगाए । उपत्यकाको एक दर्जन स्थानमा मङ्गलबार एकसाथ यो अभियान थालिएको थियो । अबको एक महिना हरेक माइक्रोबसमा ट्राफिक नियमको पालना र सभ्य व्यवहार गर्नेबारे नारा लेखिएको तुल र स्टीकर रहनेछ । खनालले अभियानमा प्रहरीलाई मात्र नभई व्यवसायी र मजदूरलाई समेत सहभागी गराए । यात्रुलाई समेत ट्राफिक व्यवस्थापनमा सहयोगी बन्न आग्रह गरे । दुई घण्टासम्म फिल्डमा खटिएर खनालले यात्रुको पीडालाई प्रत्यक्ष हेरे । फिल्डमा आफै पुगेर कस्तो नीति बनाउन सकिन्छ भन्नेबारे निर्णय लिने शैली अपनाइरहेका छन् । नयाँ नयाँ योजनाहरू बनाएर ट्राफिक व्यवस्थापनमा सफलता हासिल गरिरहेका छन् ।

सर्वेन्द्रले केही हप्ता अघि मोटरसाइकल चालकलाई बाटोमा बसेर ट्राफिक नियम पालना गर्न सम्झाएका थिए । यो अभियान हरेक मोटरसाइकल विक्रेतालाई चालु राख्न आग्रह गरेका छन् । मोटरसाइकल विक्रेताले मोटरसाइकल विक्री गर्दा नियमहरू सम्झाउनुपर्नेछ । उनले अन्य सवारी चालकहरूलाई समेत सम्झाउने अभियान चलाउने भएका छन् ।

जो सडकमा आउँछ उसैले सडकको नियम पालना गर्ने भएकाले सकडसँग प्रत्यक्ष जोडिएकाहरू मार्फत् उपत्यकाको सडक सुधार देखि ट्राफिक व्यवस्थापनमा सर्वेन्द्रले सक्रियता देखाइरहेका छन् । उनी भन्छन्,‘इच्छाशक्ति भए वर्ष होइन महिना पनि लाग्दैन राजधानीको सडक सुन्दर र व्यवस्थित हुन्छ ।’ सडक हाम्रो प्रतिष्ठा भएकाले प्रतिष्ठा जोगाउन सडक सुन्दर र सहज बनाउन सबैले भूमिका निभाउनुपर्नेमा जोड दिन्छन् ।

विगतमा ट्राफिक प्रहरी जरिवाना तिराउन तयार भएर बस्ने गरेको अवस्थामा परिवर्तन आएको छ । गल्ती नगरी जरिवाना तिर्न वाध्य भएको गुनासाहरू आएको थियो । सर्वेन्द्रले ट्राफिक महाशाखाको नेतृत्व लिएपछि प्रहरी जरिवाना तिराउने नभई नियम पालना गराउने जिम्मेवार छ भन्ने सन्देश जान थालेको छ । चालकहरूले सडकमा सहज महशुश गर्न थालेका छन् । प्रहरी यथार्थमा सबैको साथी बनेको छ ।

Post a Comment

0 Comments