काठमाडौं । पहुँच र शक्तिका आधारमा सरूवा हुने प्रहरीको पुरानो रोग हो । आफूले चाहेको स्थानमा सरूवा नभएपछि जसरी भएपनि काजमा बस्ने र पहुच पुग्नेवित्तिकै चाहेको स्थानमा सरूवा हुने गर्छन् । 

प्रहरीका लागि आकर्षक मानिने विभिन्न कार्यालयहरू मध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि एक हो । आयोगमा सरूवा हुन प्रहरीमा प्रतिस्पर्धा नै हुने गरेको छ । 

अनुसन्धान अधिकृतको नाममा अख्तियारले प्रायः सबै काविल अफिसरहरू तान्दै आएको छ । कोही छुटे भने आफै सोर्स लगाएर जाने गरेका छन् । महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए । दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको छ । 

प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरूण पौडेल र किसनसिंह थापालाई अख्तियारमा पदस्थापन गरेको छ । ३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ । अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन । 

अख्तियारमा सरूवा मिलाउन ‘बाहिरी स्रोत’बाट प्रहरी नेतृत्वमाथि दबाब दिलाउनु सामान्य भइसकेको छ । प्रहरीमा सम्पत्तिको स्रोत खुलाउनु पर्ने १३ पाने सम्पत्ति विवरण भर्नुपर्ने त्रास सबैभन्दा ठूलो कारणले अख्तियारबाट जे माग भयो त्यही पठाइदिने तथा जसल जहाबाट सोर्स आयो त्यही पठाइदिने गरिएको छ । पूर्वप्रमुख आयुक्त कार्कीले आप्mनो कार्यकालमा प्रहरी कर्मचारीको नामै तोकेर सरूवा गर्न दबाब दिने गरेका थिए । प्रहरीले पहिलो रोजाइका आकर्षक ठाउँ नपाएको अवस्थामा अख्तियारलाई वैकल्पिक गन्तव्य बनाएको देखिन्छ, जहाँका ‘छुट्टै फाइदा’ पाइन्छ । 

तल्लो तहका लागि त्यहाँको पोस्टिङबापत प्राप्त हुने भत्ता नै ठूलो आकर्षण देखिएको छ । वरिष्ठ अधिकृतका लागि चाहिँ धेरै लाभ मिल्न सक्छ बढुवाका लागि वातावरण निर्माण, अर्कोपटक चाहेको ठाउँमा सरूवा र तक्माका लागि सिफारिस समेत हुने भएकाले तल्लो तहका भन्दा माथिल्लो तहका प्रहरी बढी आकर्षित हुने गरेका छन् । तत्कालीन प्रमुख आयुक्त कार्कीले ४० जनाको दरबन्दीलाई दुईपटक बढाएर २ सय २७ बनाएका थिए । 

केन्द्रमा सीमित संस्थालाई क्षेत्रगत विस्तारमा लगे, जसले गर्दा अख्तियार भर्तीकेन्द्र बनाइयो तत्कालिन प्रमुख कार्कीले आफना अंगरक्षक इन्स्पेक्टर दानबहादुर थापालाई डीएसपीमा बढुवा मात्र दिलाएनन्, संयुक्त राष्ट्रसंघको विशेष मिसनमै पठाए । त्यसमा तत्कालीन प्रहरी नेतृत्व निरीह देखिएको थियो । अख्तियारमा थापा हुन्जेल प्रहरी प्रधानकार्यालयको कर्मचारी प्रशासन नै उनले चलाएको जस्तो देखिन्थ्यो । 

अहिले अख्तियारका इटहरी, धनकुटा, हेटौंडा, बर्दिबास, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, कञ्चनपुर र दिपायलमा क्षेत्रीय कार्यालय छन् । ती स्थानमा एसपीदेखि डीएसपीसम्म प्रमुख रहने दरबन्दी छ । प्रहरी प्रधान कार्यालयले साउन ३२ गते डीएसपीको सरूवा र पदस्थापन गर्दा पनि १२ जनालाई अख्तियारै पठायो । प्रहरी निरीक्षकबाट डीएसपी भएका क्रमशः नरेन्द्र कुँवर, मुकुन्दप्रसाद रिजाल, रूपक खड्का, प्रेमसागर केसी र विष्णुप्रसाद लामिछानेले अख्तियार पाए । 

उनीहरूको ‘खाली’को कारण नदेखाई ‘अख्तियारको मातहत’ मात्रै भनेर सरूवा गरिएको छ । यी मध्ये कुँवरको अख्तियारबाट अख्तियारमै पदस्थापन भएको हो । डीएसपी कृष्णप्रसाद कोइराला, कृष्णप्रसाद पंगेनी, गौतमकुमार केसी, नवराज कार्की, फणीन्द्र प्रसाईं, राजकुमार केसी र रामप्रकाश शाहको पनि अख्तियारमै सरूवा भएको छ । कार्की गौशला वृत्त प्रमुख थिए भने केसी संखुवासभाबाट त्यहा गएका हुन, प्रसाई पनि रसुवाबाट अख्तियार पुगेका हुन । लाइन कार्यालयमा इन्चार्ज हुन भन्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा हुनमा प्रहरीको आकर्षण देखिएको छ । 

अख्तियारमा बस्दा शतप्रतिशतसम्म भत्ता खान पाइने पछि करिअरमा पनि फाइदा हुने भएकाले अख्त्यिारप्रति प्रहरीमा आकर्षण देखिएको हो । अहिले उच्च तहको सोर्सफोर्स लगाएर प्रहरीहरू अख्तियारमा सरूवा हुन थालेका छन् । अख्तियारमा काम गर्ने कर्मचारीलाई शतप्रतिशत भत्ता छ । जसअनुसार उनीहरूले दोब्बर तलब पाउछन् । कामको चाप पनि नहुने र भत्ता पनि दोब्बर खान पाइने भएकाले अख्तियार सरूवामा प्रहरीको आकर्षण देखिएको हो । 

त्यति मात्र होइन अख्त्यिारको सक्रियतासँगै अख्तियारमा कार्यरत कर्मचारीहरूको सान र पावर पनि बढेको छ । प्रहरी संगठनभित्र अख्तियारलाई सुविधाका रूपमा हेरिँदै आएको छ । पहुचदारहरू कार्यालय प्रमुखबाट सिधै अख्तियार पनि सरूवा हुने गरेका छन् । केही गरी आफूले भनेको स्थानमा सरूवा भएन भने उनीहरू विदा बस्ने काज बस्ने र अन्तिममा सोर्स लगाएर अख्तियार नै पुग्ने गरेका छन् ।

Post a Comment

 
Top