Subscribe Us

मेरी रोज हत्याकाण्डका अभियुक्त दश बर्ष पश्चात महाशाखाको फन्दामा

काठमाडौं । मेरी रोज हत्याकाण्डका मुख्य अभियुक्तलाई १० बर्ष पछि प्रहरीले  पक्राउ गर्न सफल भएको छ । 

२०६४ असार २१ गते बत्तिसपुतलीमा मेरी रोज भन्ने मिश्रीमाया श्रेष्ठको हत्या गरी फरार रहेका ठगुन्नालाई महानगरीय अपराध महाशाखाको बिषेश टोलीले पक्राउ गरेको हो ।

 बत्तिसपुतलीस्थित हेमन्त शमशेर राणाको मुरारी भवनको रेखदेख गर्न बसेकी ७८ वर्षीया का मेरी रोजलाई ठगुन्ना लगाएतका समुहले हत्या गरेका थिए । हत्या गरी फरार रहेका ठगुन्नालाई महाशाखाका ईन्टलिजेन्स पिलरका प्रहरी निरीक्षक रोशन खड्काको कमान्डमा खटिएको टोलीले गत बधवार कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरेको हो । 

मेरीरोज हत्याकाण्ड पश्चात तत्काल ठगुन्ना पक्राउ परेपनि तत्कालीन वौद्ध प्रहरीका अधिकारीलाई प्रलोभनमा पारेर हिरासतबाटै फरार भएका थिए । पृथ्वी उपनामले चिनिएका ठगुन्नासहितको समूहले राणाको घरमा झ्यालको ग्रिल तोडी भित्र प्रवेश गरेर मिश्रीमाया श्रेष्ठको दुवै हात साडीले बाँधेर घाँटी थिची हत्या गरेका थिए । श्रेष्ठको हत्या गरी घरमा रहेको सुन तथा नगद समेत लुटेका ठगुन्नाविरुद्ध महानगरीय प्रहरी वृत वौद्धमा खुनडाँका मुद्दा दर्ता भई अनुसन्धान भएको थियो । 

२०६४ असार २८ मा पक्राउ परेका ठगुन्नालाई हिरासतमा राखी अनुसन्धान चलिरहेका बेला ड्युटीमा रहेका प्रहरी जवान कृष्णकुमार श्रेष्ठलाई प्रलोभनमा पारी २०६४ साउन १७  गते राति ठगुन्ना र श्रेष्ठ भागेका थिए। 

ठगुन्नालाई भगाउन संलग्न प्रहरी जवान श्रेष्ठलाई सोही वर्ष साउन १९ मा पक्राउ गरी प्रहरी ऐन, २०१२ अन्तर्गत थुनुवा भगाएको मुद्दामा जिल्ला प्रहरीले कारबाही गरेको थियो।

‘काठमाडौं उपत्यकामा मात्र आधा दर्जन गम्भीर अपराधमा संलग्न रहेका एकजना अभियुक्त पक्राउ परेका छन्, उनको अन्य धेरै घटनामा संलग्नता हुनसक्ने आशंका गरेका छौं। अनुसन्धान भइरहेको छ,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने। 

लोहनीका अनुसार हाल विघटन भइसकेको नेपाल डिफेन्स आर्मी नामक तत्कालीन भूमिगत संगठनमा आबद्ध हुँदा ठगुन्ना बलात्कार, हत्या प्रयास, बम विस्फोट, डकैती जस्ता अपराधनमा संलग्न थिए। नेपाली सेनाका पूर्व सिपाही भएकाले हतियारका विषयमा जानकार ठगुन्ना डिफेन्स आर्मीका सुटरका रुपमा कुख्यात थिए। 

महाशाखाका अनुसार २०५७ सालमा नेपाली सेनामा प्रवेश गरेका ठगुन्नाले ललितपुरको भैंसेपाटीमा होटल सञ्चालन गरी बस्ने एकजना महिलालाई २०६१ असार १४ गते जबरजस्ती करणी गरेको मुद्दा तत्कालीन जिल्ला प्रहरी कार्यालय ललितपुरले चलाएको थियो। सो मुद्दामा उनी पक्राउ परी नख्खु कारागारबाट २०६४ वैशाख १३ मा रिहा भएका थिए। 

महाशाखाका अनुसार २०६४ जेठ २१ मा गौशालामा रहेको गल्फ कोर्समा शंकर अधिकारीलाई गोली हानेको, २०६४ असार १० मा अजिमा फेसन होम लाजिम्पाटका सञ्चालक सुरवीर श्रेष्ठलाई गोली हानेको घटनामा समेत ठगुन्ना संलग्न थिए।

ठगुन्नाको ‘साँढे’ भन्ने कैलाशबहादुर सिहंको समूहसँग संलग्नता रहेको सूचनाका आधारमा महाशाखाले थप अनुसन्धान अघि बढाएको छ।

Post a Comment

0 Comments