Subscribe Us

वीरमा बलात्कारीका मतियारको जगजगी

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालमा भ्रष्ट र अनैतिक व्यक्तिहरूले हालीमुहाली जमाउँदा अस्पतालको अस्तित्व नै घरापमा पर्ने खतरा बढेको छ । 

२०६३ सालमा स्वायत्त भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अहिले संकटमा पर्दै गएको छ ।

न्याम्सका उपकुलपति गणेश गुरूङ, मेडिल रेकडर सेवा आयोगका सचिव लक्ष्मण अर्याल, खरिद इकाइकी स्टाफ नर्स भगवती थपलियालगायतको समूहले आफू खुसी कर्मचारीको सरूवा÷बढुवा, नियुक्ति, ठेक्कापट्टा टेण्डर निकाल्ने मात्र नभई हत्या तथा बलात्कारको आरोपमा जेलमा रहेकाहरूलाई बचाउन नक्कली कागज बनाउनेसम्मको काम गरेपछि अस्पतालको अवस्था दयनिय बन्दै गएको हो ।

गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्री बनेसँगै अस्पतालको बारेमा बारम्बार प्रकाशित भएको समाचार र मन्त्रालयमा परेको उजुरीसहित उपकुलपतिलाई सुधारका लागि निर्देशन दिएपनि गुरूङको समूह भने अस्पतालको सुधार भन्दा पनि कमाउनमै व्यस्त रहेका छन् । बलत्कारीलाई जोगाउन अस्पताको किर्ते कागज बनाई अदालतमा पेश गर्ने लक्ष्मण अर्याललाई समेत गुरूङले नै जोगाइ राखेका छन् । अर्यालले सेवा आयोगको सचिव भएर विभिन्न पदको परिक्षा लिंदा समेत परिक्षार्थीहरूसँग मोटो रकम लिई उत्तर पुस्तिका नै परिवर्तन गरी करोडौं अनियमितता गरेको यस अघि नै खुलिसकेको छ । 

यता, अस्पतालको ठेक्कापट्टा शाखामा बसेर स्टाफ नर्स थपलियाले नियम विपरित ठेक्कापट्टा स्वीकृत गर्ने, आफूलाई कमिसन नदिने फर्मलाई ठेक्का परेमा ठेक्का नै रद्द गर्ने, करोडौं रूपैयाँ कम भएर ठेक्का पर्दा पनि बढि मूल्य हुनेलाई ठेक्का दिलाउने, भूकम्पको समयमा औषधी खरिद गर्दा आफू निकटसँग सयौं गुणा बढि मूल्य राखेर खरीद गरि अनियमितता गर्दा समेत उनीमाथि कुनै कारबाही हुन सकेको छैन । उपकुलपति गुरूङको आशिर्वाद पाएकी थपलियाले भूकम्पको समयमा अनुदानमा आएको विभिन्न उपकरण र औषधीहरू गुरूङ समूहको घर–घरमा पु¥याउन समेत सहयोग गरेको वीर अस्पताल स्रोत बताउँछ । 

ठेक्कापट्टा शाखाका एक कर्मचारी भन्छन्,‘हामी मुर्ती मात्र भएका छौं, सबै काम गुरूङको निर्देशनमा भगवतीले गर्दै आएकी छन् ।’ कर्मचारीहरू यस बारेमा गुनासो गर्न जाँदा सरूवा गर्ने र स्पष्टिकरण सोध्ने जस्ता कार्यहरू हुँदै आएका छन् । यहि भ्रष्ट समूहका कारण वीर अस्पताल लथालिंग भएको भन्दै कर्मचारीहरू आजित बनेका छन् । त्यसैले वीरका केही कर्मचारीहरूले स्वास्थ्य मन्त्रालय, अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, सम्पत्ति सुद्दिकरण विभागलगायतका निकायहरूमा उजुरी समेत दिइसकेका छन् । 

त्यसो त खरिद प्रमुख थपलिया अस्पतालमा कसैलाई गन्दिनन् । गनुन पनि किन, गणेश दाईना भएपछि । उनी कार्यकक्षमै सहकर्मीहरूसँग भन्छिन्, ‘उपकुलपती गुरूङको छोरा छोरीको बिबाह मैले नै गराएको हो, ब्यापारीलाई पैसा मैले तिराएको हो ।’ 
यसैबीच प्रतिष्ठान अन्तर्गत ट्रमा सेन्टर सञ्चालन गरी सेवा र सुविधा प्रदान गर्नु भनी अदालत र सरकारले निर्देशन दिंदा पनि गुरूङले सम्पूर्ण अधिकार आफैमा निहित हुने गरी तीन सय भन्दा बढि कर्मचारी भर्ना र करोडौंको टेण्डर गरी ट्रमामा ब्रम्हलुट मच्चाएका छन् । 

जसका कारण ट्रमा सेन्टरमा सर्वसाधरणले उपचार गर्न नसक्ने भएका छन् । सरकारी अनुदानबाट सञ्चालन भएको ट्रमा उपकुलपति गुरूङ, डा. गौरव र थपलियाकै कारण नर्सिङ होम भन्दा महंगो बनेको छ । सो विषयमा स्वास्थ्य मन्त्री पोखरेलले ट्रमाको मूल्य समायोजन गरी सर्वसाधरण जनताका लागि सहज बनाउन निर्देशन दिंदा पनि गुरूङ भने कानमा तेल हालेर बसेका छन् । गुरूङ, थपलिया र केही कर्मचारीका कारण प्रतिष्ठानमै कार्यरत कर्मचारीहरूको वृत्तिविकास समेत रोकिएको छ ।

Post a Comment

0 Comments