Subscribe Us

वामपन्थी गठबन्धनलाई हराउन युवा नेता सापकोटालाई अघि सार्दै नेपाली कांग्रेस...

काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ मा वामपन्थी गठबन्धनलाई हराउन युवा नेता भरत सापकोटालाई अघि सार्ने तयारी गरिरहेको छ ।  प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ टिकटका लागि सिफारिशमा परेका नेपाली कांग्रेसका युवा नेता सापकोटालाई अघि सार्ने तयारीमा कांग्रेसका अधिकांश नेताहरु सकारात्मक रहेको बुझिएको छ ।
Image title

 युवा नेता सापकोटाले आफूले चितवनको जुनसुकै क्षेत्रबाट भएपनि टिकट पाए वामपन्थी गठबन्धनलाई हराउने दाबी गरिरहेका छन् । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा उम्मेदवारहरुको मनोनयन गर्ने अन्तिम तयारीमा रहेको नेपाली कांग्रेसले चितवनमा आफ्नो साख जोगाउन अन्तिम तयारी गरिरहेको छ । आफ्ना उम्मेदवारहरु पराजित नहोऊन् भन्ने उद्देश्यले कांग्रेसले चुनाव जित्न सक्ने योग्य उम्मेदवारहरुको खोजी गरिरहेको छ । चितवन क्षेत्र नं. २ मा युवा नेता सापकोटाको नाम सबैभन्दा बढी चर्चामा छ । आगामी चुनावमा एमाले, माओवादी लगायत अन्य वामपन्थी दलहरु एक भएसँगै कांग्रेस भित्र चुनाव हारिने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । वामपन्थी गठबन्धनले चितवनका कांग्रेसीहरुलाई समेत चिन्ताको विषय बनाईरहेको छ ।
Image title

 यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चितवनबाट कांग्रेसका युवा नेताहरु बढी आकांक्षी बनेका छन् । जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । तर सापकोटा भने पार्टीले टिकट दिए आफू जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न तयार रहेको बताउँछन् । 
Image title

 सापकोटा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर काम गरेका युवा नेता हुन् । त्यस्तै सुजाता कोइराला उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव थिए । उनी पहिलो पटक चुनाव लड्दै छन् । नेपाल विद्यार्थी संघका पूर्व सल्लाहकार तथा नेपाल साँस्कृतिक संघका सल्लाहकार समेत रहिसकेका सापकोटाको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमै राम्रो मानिन्छ । सापकोटाको राजनीतिक सम्बन्ध एमाले, माओवादी लगायत सबै पार्टीसँग राम्रो छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो पकड जमाउन सफल सापकोटा यसपाली टिकट पाउनेमा ढुक्क छन् ।   उता चितवन क्षेत्र नं. १ बाट एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चुनाव लड्दै छन् भने क्षेत्र नं. २ बाट एमालेका युवा नेता एवं हालका सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिश भएको छ । त्यस्तै चितवन क्षेत्र नं. ३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दै छन् । सापकोटाले टिकट पाए उनको प्रतिस्पर्धा एमाले चितवनका अध्यक्ष एवं साँसद कृष्णभक्त पोखरेलसँग हुनेछ ।

Post a Comment

0 Comments