Subscribe Us

देउवाले ‘सहिद’ बनाएका ३० सभापति.
नवप्रवेसीलाई पुल्पुल्याउँदा हात खाली

काठमाडौं । नेपाली कांग्रेसले ३० जिल्लाका सभापतिलाई निर्वाचनमा ‘सहिद’ बनाएको छ । कसैलाई पनि चुनावमा उम्मेदवार नबनाएर यसो गरेको हो । २० बर्षपछि भएको स्थानीय तह, पहिलो पटक हुन लागेको प्रदेश सभा र चार बर्षपछि हुन लागेको संसदीय निर्वाचनमा समेत उम्मेदवार बन्न नपाएपछि कांग्रेसका ३० जिल्ला सभापतिहरू निराश छन् ।

कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी आठ सय चार नेता र कार्यकर्तालाई उम्मेदवार बनाए पनि पार्र्टीका ३० जिल्ला सभापतिलाई कतै पनि उम्मेदवार बनाइएन । 

कांग्रेसमा प्रवेश गरेको भोलिपल्टै मोहनसिंह राठौरले कैलाली २ बाट र शम्भुलाल श्रेष्ठले सर्लाही १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सौभाग्य पाए । तर कांग्रेसमा चार दशकदेखि क्रियाशील जिल्ला सभापतिलाई भने रित्तो हात बनाइएको छ । राठौर नेकपा एमालेबाट र श्रेष्ठ माओवादी केन्द्रबाट कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसको बिधानमै पार्टीको जिल्ला सभापति हुन १० बर्ष क्रियाशिल सदस्य भएको हुनुपर्छ । क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको व्यक्ति जिल्ला सभापतिमा उम्मेदवार समेत हुन सक्दैन तर पार्टी सभापति शेरबहादुर देउवाको ठाडो आदेशमा डोल्पामा तीन बर्षअघि मात्र कांग्रेसमा प्रवेश गरेका अंगद बुढालाई जिल्ला सभापति बनायो । उनै वुढालाई कांग्रेसले डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारब बनाएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्येक जिल्लामा न्यूनतम एक र प्रदेशसभाका लागि न्यूनतम दुई जना उम्मेदवार हुने गर्छन् । ३० जिल्ला सभापति, जो पार्टीमा कारबाहीमा परेका वा अक्षम भएर टिकट नपाएका होइनन् । पार्टीमा देखिएको गुट उपगुटका कारण उम्मेदवार बन्न नसकेको उम्मेदवारी नपाएका जिल्ला सभापतिहरूको गुनासो छ । यसरी आफ्नै नेतृत्वमा रहेको जिल्ला पार्र्टी संगठन हाँकेर पनि तीन जनाको न्यूनतम कोटामा पर्न नसक्नेहरूमा धेरैजसो पार्र्टी नेता रामचन्द्र पौडेल र केही नेता कृष्णप्रसाद सिटौला पक्षधर छन् ।

कांग्रेसका १९ जिल्ला सभापतिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र २० जिल्ला सभापतिले प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवार हुन पाएका छन् । तनहुँका पार्टी जिल्ला सभापति बैठकुण्ठनाथ न्यौपाने भने गत स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा विजयी भएका छन् । न्यौपानेलाई उम्मेदवार नबनाइनु स्वभाविक देखिन्छ ।

सर्लाही सभापति नागेन्द्रकुमार राय र हुम्लाका सभापति जयपति रोकाया प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूचीमा उम्मेदवार भएका छन्। गोरखाका सभापति हरि घले, पाल्पाका वीरबहादुर राना र रूकुमका प्रेमप्रकाश वली भने प्रदेश नम्बर ४, ५ र ६ को क्रमश समानुपातिकतर्फको उम्मेदवार भएका छन् । 

उम्मेदवार हुनबाट बञ्चित जिल्ला सभापतिहरू 

संखुवासभाका दिपन श्रेष्ठ, भोजपुरका नन्दमणि राई, इलामका हिमालय कर्माचार्य, धनकुटाका अग्निप्रसाद पौडेल, सोलुखुम्बुका विनोदकुमार बस्नेत, खोटाङका  नरेशकुमार श्रेष्ठ, रामेछापका लवश्री न्यौपाने, सिन्धुलीका उज्वल बराल, रसुवाका पेम्बाछिरिङ तामाङ, काठमाडौंका कृष्ण (सवुज) बानियाँ, भक्तपुरका दुर्लभ थापा र सिन्धुपाल्चोकका विकास लामा उम्मेदवार हुनबाट बञ्चित भएका छन् । 

पर्साका अजयकुमार द्विवेदी, लमजुङका भेषबहादुर पौडेल, तनहुँका बैकुण्ठनाथ न्यौपाने, गुल्मीका भुवन श्रेष्ठ, मुस्ताङकी याङजिङ विष्ट, पर्वतका खिमप्रसाद भुसाल, सल्यानका गणेश चन्द, दाङका कीर्तिबहादुर खड्का, मुगुका खड्गबहादुर शाही, जुम्लाका दीपबहादुर शाही र कालीकोटका हर्षबहादुर बम पनि प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार छैन ।

सुर्खेतका कमलराज रेग्मी, बाँकेकी किरण कोइराला, बझाङका हर्कजंगबहादुर सिंह, डोटीका प्रदीप देउवा, कैलालीका नरनारायण शाह, दार्चुलाका ललितसिंह बोहोरा र कञ्चनपुरका हरि बोहरा पनि उम्मेदवार छैन । यी जिल्ला सभापतिमध्ये केही भने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थिए । 

पर्षाका सभापति दिवेदी, इलाम सभापति कर्माचार्य, धनकुटाका सभापति पौडेल र गुल्मीका सभापति क्रशम बीरगञ्ज महानगरपालिका, इलाम नगरपालिका, महालक्ष्मी नगरपालिका र रेसुङ्गा नगरपालिकाको प्रमुखमा उम्मेदवार भएर पराजिन भएका थिए । स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको फुङलिङ नगरपालिकामा उम्मेदवार बनेका केशव दाहालले भने प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी पाएका छन् । 

कहाँ छोड्यो कांग्रेसले ? 

कांग्रेसले प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १५३ स्थानमा मात्र उम्मेदवारी दिएको छ । उसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई सिन्धुपाल्चोक १, चितवन ३, रूपन्देही ३ र धनकुटामा सघाएको छ । कांग्रेसले राप्रपाका उम्मेदवारलाई मकवानपुर १, बाँके २, दैलेख १ र काठमाडौं ७ मा सघाएको छ । नयाँ शक्ति पार्टी नेपाललाई गोरखा २, संघीय समाजवादी फोरमलाई सुनसरी १ र सप्तरी २ मा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई महोत्तरी ३ मा सघाएको छ । प्रदेशसभातर्फ भने कांग्रेसले राप्रपालाई ५, संघीय समाजवादी फोरमलाई १ र नयाँ शक्तिलाई दुई स्थानमा समर्थन गरेको छ। सप्तरी २ मा कांग्रेसले आफ्ना उम्मेदवार सकलदेव सुतिहारको नाम उम्मेदवारको रूपमा दर्ता गराए पनि पछि राजनीतिक सहमतिको आधारमा फिर्ता लिएको छ । निर्वाचन आयोगले भने उनको नाम उम्मेदवारको रूपमै मान्यता प्रदान गरेको छ ।


Post a Comment

0 Comments