Subscribe Us

सुरक्षा थ्रेटमा एमाले अध्यक्ष ओली,
‘सुरक्षामा कुनै कमी छैन’ प्रहरी प्रवक्ता

काठमाडौं, मंसिर १ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा हाल देशैभर नै उम्मेदवारहरुमाथि बम आक्रमण हुँदै आएको छ । यद्यपि, यस्तो आक्रमणमा परेर अहिलेसम्म उल्लेखनीय क्षति भएको छैन ।

हरेक दिनजसो निर्वाचनमा उम्मेदवार रहेकाहरुमाथि बम आक्रमणको समाचार सार्वजनिक हुँदै आएको छ । यद्यपि, यस्तो आक्रमणमा प्रयोग भएका बम सामान्य किसिमका र धेरै क्षति गर्ने किसिमका नहुँदा क्षति नभएको हो । उम्मेदवार चढेको सवारीसाधनमा गरिएको बम आक्रमणले सवारीसाधनमा भने क्षति पु¥याउँदै आएको छ । 

यस्तो आक्रमण विशेषगरी वाम गठबन्धनका उम्मेदवारहरुमाथि हुँदै आएको छ । यो निर्वाचनमा सहकार्य गरेका नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारहरुलाई निशाना बनाएर यस्ता आक्रमण हुँदै आएका छन् । कांग्रेसका उम्मेदवारहरु पनि यस्तो आक्रमणको निशानामा पर्न थालेका छन् । 

आज मात्रै नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई लक्षित गर्दै नुवाकोटमा एम्बुस विष्फोट गराइएको छ । यो यसअघिका आक्रमणभन्दा झनै खतरापूर्ण थियो । तर, एम्बुसमा परेको सवारीमा डा. महत थिएनन् । उनीभन्दा करिब डेढ सय मिटर पछाडिको गाडी एम्बुस विष्फोटमा परेको थियो । विष्फोटमा परी केही कांग्रेस कार्यकर्ता घाइते भएका छन् । 

हिजो पनि रोल्पामा वामगठबन्धनका उम्मेदवार तथा हालका सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको थियो । वाम गठबन्धनका उम्मेदवार शेरधन राई, ओनसरी घर्तीमगर, कृष्णबहादुर महरामाथि पनि बम आक्रमणको प्रयास भएको थियो । 

आक्रमणकारीको निशानामा ओली

स्रोतका अनुसार आक्रमणकारीहरुले आफ्नो निशानामा शीर्ष नेतालाई लक्षित गर्न थालेका छन् । केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि सुरक्षा थ्रेटको विषय उठान भएको उच्च स्रोतको भनाइ छ ।

ओलीको सचिवालयले पनि आफ्नो अध्यक्षलाई सुरक्षा थ्रेट रहेको भन्दै सरकारलाई पटकपटक सुरक्षाकर्मी बढाइदिन र डीएसपी नेतृत्वको सुरक्षाकर्मी दिन आग्रह गर्दै आएको छ । तर, सरकारले भने यस विषयमा उदासीनता देखाउँदै आएको छ । हाल अध्यक्ष ओलीको सुरक्षामा सई नेतृत्वको सानो संख्यामा सुरक्षाकर्मी रहेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भने डीएसपी दानबहादुर मल्लको नेतृत्वमा ठूलो संख्याका सुरक्षाकर्मीले सुरक्षा दिँदै आएका छन् । सामान्य नागरिकले पनि आफ्नो सुरक्षाको प्रत्याभूति माग गर्दै निवेदन दिए सुरक्षा व्यवस्था गरिन्छ । तर, सरकारले भने एमाले अध्यक्ष ओलीलाई सुरक्षा दिन कञ्ज्युस्याइँ गर्दै आएको छ । ओली सचिवालयले नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याललाई पनि अध्यक्ष ओलीको सुरक्षाका लागि संवेदनशील भइदिन आग्रह गर्दा अर्यालले राष्ट्रिय सुरक्षा समितिबाट निर्णय गराउनुपर्छ भन्दै आलटाल गर्दै आएको स्रोतले बताएको छ । 

आक्रमणको योजनामा चुनाव सार्ने नियत !  

मुलुकभर नै शृंखलाबद्ध रुपमा उम्मेदवारमाथि भएको आक्रमण चुनाव सार्ने नियतले भएको आशंका गर्न थालिएको छ । यद्यपि, सरकारले चुनाव गर्न कुनै कसरत बाँकी नराखे पनि भित्रभित्रै असुरक्षाको बहानामा चुनाव सार्ने चलखेल भएको सुरक्षाविज्ञहरुको भनाइ छ । दुई कम्युनिष्ट पार्टीहरुको सहकार्यमा वाम गठबन्धनले बहुमत ल्याउने सम्भावनका कारण केही पक्ष चुनाव सार्ने षड्यन्त्रमा सामेल भएको हुनसक्ने अहिले आशंका गर्न थालिएको हो । 

‘सुरक्षामा कुनै कमी छैन’ 
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले चुनावको घोषणासँगै उम्मेदवारमाथि हुनसक्ने आक्रमणलाई पूर्वानुमानको आधारमा निर्वाचन सुरक्षा नीति तयार गरेको र त्यसैअनुसार अहिले सुरक्षा दिने काम भइरहेको जानकारी दिए । 

उनले आज बिहानसम्म देशैभरबाट १ सय ७५ जनालाई निर्वाचन बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामा विप्लव माओवादीका नेता तथा कार्यकर्ता र अन्य व्यक्तिहरु पनि रहेका छन् । उनले अहिलेसम्म प्रहरीलाई थ्रेट गर्ने किसिमले आक्रमण नभए पनि यस्ता घटना रोक्न प्रहरी संवेदनशील रहेको बताए । 

Post a Comment

0 Comments