Subscribe Us

पुत्रशोकबीच प्रचण्डको ‘बोल्ड’ तयारी,
सभा नछाड्ने तर सम्बोधन नगर्ने

काठमाडौं । चुनावको तिव्र अभियानको बीचमा बामपन्थी गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेपछि केही ठाउँका चुनावी अभियान र सभा प्रभावित भएका छन् । 

उनले मंगलबार (आज) को चितवनमा हुने चुनावी सभामा सहभागीता जनाउनेछन् । तर, सम्बोधन नगर्ने बताइएको छ । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । 

प्रचण्डका छोरा तथा सचिवालयका एकजना प्रमुख पात्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले ठहर गरेपछि उनी पुत्रशोकमा छन् । सभामा प्रकाशलाई श्रद्धाञ्जली दिइनेछ । प्रचण्ड झापाको चुनावी सभालाई छाडेर काठमाडौं फर्किएपनि उनले शोकको घडीमा पनि चुनाव प्रभावकारी बनाउने बोल्ड निर्णय गरे । सँगै काठमाडौं आउन लागेका गठबन्धनको अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘म सम्हालिन्छु, परिवार सम्हाल्छु तपाई सभाको कमाण्ड गर्नुस्’ भनी फर्किएका थिए ।

नेता भएका कारणले शोकमा डुबेर बस्नेभन्दा पनि देशको स्थिति मजबुद बनाउने दायित्व रहेको भन्दै उनले चुनावका कुनै पनि कार्यक्रम नरोक्नका लागि माथाहथको पार्टी र गठबन्धनको घटकलाई निर्देशन र सुझाव पनि दिए । आकस्मिक रूपमा भएको यो दुर्घटनाले प्रचण्डलाई पारिवारिक शोक र भावनात्मक चोट पुगेपनि उनले देशलाई यसले प्रभाव पार्न नहुने धारणामा उनी अडिग रहे । 

‘श्रद्धाञ्जली र समवेदना दिने पार्टीका कार्यकर्ता र नेतालाई उहाँले चुनावी अभियानमा तिव्रताका साथ लाग्नका लागि निर्देशन दिनु भएको छ । उहाँ व्यक्तिगत रूपमा भावुक भएपनि देशका लागि अघि बढ्न सवैलाई अनुरोध गरिरहनु भएको छ’, लाजिम्पाट पुगेका माओवादीका एकजना विद्यार्थी नेता मदन चुडालले भने,‘प्रचण्डले देशको निकासका लागि अघि बढ्न सवैलाई आग्रह गर्नुभएको छ ।’

सोमबार दिनभर नै समवेदना र श्रद्धाञ्जली दिन आएका सवैसँग भेट्दा प्रचण्डले यस्तो सुझाव दिएका हुन् । तर, उनले आफु सम्हालिए पनि परिवार सम्हाल्न केही कठिन भएको पनि बताएका थिए ।  तीन वर्षभित्र छोरी र छोरा गुमाएको पीडाले परिवार सम्हाल्न कठिन भएको उनले बताएका थिए । उनकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण ओम अस्पतालमा ज्यान गएको थियो । 

जनताले आफूबाट अभिभावकको भूमिका खोजेकाले एउटा नेता भएका नाताले व्यक्तिगत रूपमा चित्त बुझाउने ठाउँ भएपनि परिवारको चित्त बुझाउन कठिन भइरहेको उनले बताए । भने,‘पीडा ठूलै छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मलतिर स्थिति जाने क्रममा छ ।’

प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरूको सोमबार पनि घुइँचो छ । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।

Post a Comment

0 Comments