Subscribe Us

देशले खोज्नुपर्ने र जनताले रोज्नुपर्ने नेता

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको चुनावको पहिलो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणको मतदान बाँकी रहेको छ । नयाँ र पुराना पार्टीमा आशावादी र काम गर्नसक्ने कतिपय क्षमतावान् नेताहरू रहेका छन् जसले चाहेर पनि काम गर्न पाइरहेका छैनन् । व्यवाहार मिल्ने चर विचारको विविधतामा रहेपनि देशले खोज्नुपर्ने र जनताले रोज्नुपर्ने नेता धेरै रहेका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, विवेकशील साझा, नयाँ शक्तिलगायतमा संघीय प्रतिनिधि सभामा आउनै पर्ने नेताहरू छन् । जो चुनावी स्पर्धामा छन् । तर, कतिपय स्थानमा जित्नैपर्ने भिन्न पार्टीका नेताहरूको चुनावी स्पर्धा गराइएको छ । यद्यपि जित्नुपर्ने नेताको सूची कम छैन ।

विचार र व्यवाहारले राजनीतिमा परिवर्तन खोज्ने हो भने झापा–१ ब्ँट विश्वप्रकाश शर्मा रोज्नुपर्ने नेता हुन् । कांग्रेस राजनीतिमा समय विताएका यी युवा नेताले संसदमा मौका पाए भ्रष्टाचारविरूद्ध र न्यायका पक्षमा काम गर्न पाउनेछन् । तर, कांग्रेसभित्रको आन्तरिक र बाह्य राजनीतिक प्रभावका कारणले शर्माले चुनावमा केही समयदेखि हार व्यहोरिरहेका छन् । शर्मा संघीय संसदका लागि आवश्यक नेता हुन् । 

उता, मोरङ–६ मा बामपन्थी गठबन्धनबाट लालबाबु पण्डित र कांग्रेसबाट शेखर कोइरालाको स्पर्धा छ । यी दुवै नेता संसदमा आउनुपर्ने व्यक्ति हुन् । पण्डितले एक कार्यकाल मन्त्री पद चलाउँदा इमान र राष्ट्रियताको पक्षमा काम गर्दा कर्मचारीतन्त्र थर्कमान भएको थियो ।

पिआर र ग्रिनकार्ड लिएका कर्मचारीका लागि ल्याइएको नीतिले धेरैको भागाभाग बनाउने पण्डितको साधारण जीवन र उच्च काम गर्ने शैलीका कारण जनताले रोज्नुपर्ने नेता हुन् । उता, कोइराला कांग्रेसको राजनीतिभित्र सर्वाधिक लोकप्रिय त छँदै छन् मधेस र पहाड जोड्ने भुमिका उनमा रहेको छ । मिहेनत गरी नेपाली कांग्रेसको साख जोगाउने कोइराला पनि जित्नैपर्ने नेता हुन् । तर, पण्डित र कोइराला मध्ये एकमात्र संघीय संसदमा सदस्य बनेर निर्वाचित हुनेछन् । 

संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादव पनि सांसद बनेर आउनुपर्ने व्यक्तित्व हुन् । राष्ट्रियता र समुदायको अधिकारका लागि लडेका यादव राष्ट्रका पक्षमा काम गर्ने नेता हुन् । उनी सप्तरी–२ बाट उठेका छन् । युवा राजनीतिज्ञ नेकपा माओवादीका नेता तथा पूर्वकानुनमन्त्री अजय शंकर नायक पनि संघीय संसदमा आउनुपर्ने नेता हुन् । उनले कानुनमन्त्री हुँदा गरेका कामको आधारमा नै संसदमा जनताले पठाउनुपर्ने व्यक्ति हुन् । सिरहा–४बाट उनी उम्मेदवार छन् ।

महत्वपूर्ण मुद्दा उठाउने र काम गर्ने दुई नेता काठमाडौं–४मा उठेका छन् । नेपाली कांग्रेसका गगन थापा र विवेकशील साझाकी सुबुना बस्नेत दुवै संसदका आवश्यक नेता हुन् । सुबुना सुसंस्कृत राजनीतिको नयाँ प्रयोगका लागि विवेकशील साझाकी उम्मेदवार हुन् । सम्भवतः उनी कान्छी उम्मेदवार पनि हुन् ।

यता, काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्र पनि संसदमा आउनुपर्ने नेता हुन् । लामो समय पत्रकारिता गरेर राजनीतिलाई सफा बनाउने अभियानमा दल नै खोलेर लागि परेका मिश्र आधुनिक राजनीतिका एक सशक्त व्यक्तिका रूपमा उदय हुँदैछन् । 

दलबदल गरेपनि काठमाडौंको विकास, देशको परियोजना निर्माण र अर्थमन्त्री हुँदा गरेको कामका कारण गोरखा–२ का उम्मेदवार तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि संघीय संसदमा आउनुपर्ने नेता हुन् । उनको सोच पनि सुसंस्कृत र भ्रष्टाचारविरोधी राजनीति स्थापनासहित सैद्धान्तिक रूपमा समाजवाद र विकाससहितको अर्थनीतिमा अव देश पस्नुपर्छ भन्ने छ । यहि मान्यताका कारणले नै उनी अनिवार्य सदस्य बन्नुपर्ने हो । 

कास्की–२ का बामपन्थी उम्मेदवार रविन्द्र अधिकारी संघीय संसदको सदस्यका लागि निर्वाचित गराउनैपर्ने व्यक्तित्व हुन् । संसदमा रहँदा उनले गरेका काम र विचारका कारणले पनि अहिलेको राजनीतिक व्यवस्थामा काम गर्ने ठाउँमा उनी आउनैपर्ने व्यक्ति हुन् । 

कडा मिजास र व्यंग्य गरेपनि प्रशासनयन्त्र र प्रधानमन्त्रीत्वकालमा देश र विकासका लागि योगदान गरेका कारण नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली पनि संसदमा आउनुपर्ने व्यक्तित्व हुन् । विपक्षीमाथि राजनीतिक हमला गरेपनि प्रशासनयन्त्रमा उनको काम गराई प्रभावकारी रहेका कारणले ओली पनि रोज्नुपर्नेमा पर्छन् । 

उर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन र गृहमन्त्री हुँदा प्रहरीका सातै प्रदेशमा अधिकारी स्थापना गरी सक्रियता देखाएका जनार्दन शर्मा रूकुमका उम्मेदवार हुन् । उनी पनि संघीय संसदमा सहभागी हुनैपर्ने एक नेता हुन् । उनी कम बोल्ने र धेरै काम गर्ने मध्येमा पर्दछन् । 

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ का उम्मेदवार छन् । कांग्रेसका यी युवा नेता संघीय संसदको सदस्य बन्नुपर्ने व्यक्तित्वमा पर्छन् । विकासको राजनीतिका लागि सक्रियता देखाउने साउद कांग्रेसका भविष्य पनि मानिन्छन् । 

गुल्मी–१ मा संसदमा सहभागी हुनैपर्ने दुई नेतालाई कांग्रेस र बामपन्थी गठबन्धनले स्पर्धामा उतारेको छ । अघिल्लो पटक चुनाव जितेका चन्द्र भण्डारी र पराजित भएका प्रदिप ज्ञवाली फेरि चुनाव लड्दैछन् । बौद्धिक र विकासको पक्षमा वकालत गर्ने दुवैको माग संघीय संसदले गरेको छ । तर, दुई मध्ये एकमात्र विजयी भएर आउनेछन् । 

ललितपुर–१ का उम्मेदवार तथा पूर्वडिआइजी नवराज सिलवाल पनि संघीय संसदमा आउनुपर्ने व्यक्तित्व हुन् । प्रहरी सेवामा रहँदा प्रभावकारी काम गरेका सिलवाललाई आइजी हुनबाट राजनीतिक पूर्वाग्रहमा रोकिएको थियो । उनी बामपन्थी गठबन्धनबाट कांग्रेसका उदय शमशेर राणाविरूद्ध स्पर्धामा छन् । 

Post a Comment

0 Comments