Subscribe Us

म कसरी गुण्डा नाईके भएँ, मलाई नै थाहा छैन : लामा

म समाजप्रति बफादार बन्दा अरुलाई के को रिस ?

काठमाडौं :
मुलुक यतिबेला प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनमा होमिएको छ । राजनीतिक दल र तिनका कार्यकर्ताहरु मात्रै होइनन्, चिया पसलदेखि बाटो–बाटोमा समेत राजनीतिक गफ हुन्छ । अझ कतिपय त अहिले नै जोड घटाउमा लागेका छन् । यस वर्षको चुनाव यस अर्थमा पनि बढि चर्चामा छ कि एकातिर बाम गठबन्धन र अर्कोतिर टिकट । बाम तालमेलसँग यस वर्ष मुलुककै सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेससँग प्रतिस्पर्धा राम्रै हु्ने देखिन्छ । 
यसै वर्ष बाम गठबन्धन हुनु, नेपाली कांग्रेसले पनि चुनावी तालमेल गर्नु, पूर्व डिआईजी नवराज सिलवाल, दिपक मनाङ्गे, गणेश लामालगायतले टिकट पाएपछि प्रतिनिधि र प्रदेश सभाको चुनाव यतिबेला झन रोचक बनेको छ । 
डन मनाङ्गेले नेकपा एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बने । उनको उम्मेदवारीसँगै बाम गठबन्धनले पनि सहयोग गर्ने बचन दिएको छ । गुण्डा नाइकेका नाममा परिचित मनाङ्गेसँगै काभ्रेबाट टिकट पाएका गणेश लामा पनि यतिबेला चर्चामा छन् । सञ्चारमाध्यमहरुले ‘गुण्डा नाइके’को संज्ञा दिएका लामाले काभ्रे क्षेत्र नंं १ को ‘ख’ मा नेपाली कांग्रेसबाट टिकट पाएका छन् । विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लामाले फोरम कांग्रेससँग एकीकरण भएसँगै नेपाली कांग्रेसबाट प्रदेश सभाको टिकट पाएका हुन् । 
कांग्रेसबाट उम्मेदवारी दिएका लामाबारे यतिबेला सञ्चारमाध्यमहरुमा विभिन्न टिक्का टिप्पणी समेत हुने गरेको छ । काभ्रेको मध्यम वर्गिय तामाङ परिवारमा जन्मेका लामा आफू राजनीतिकर्मी भएको बताउँछन् । 
काभ्रेको तत्कालिन खहरे पालुङ गाविस हाल रोसी गाउँपालिका वडा नम्बर १ मा २०३५ साल कार्तिक १३ गते जन्मिएका लामाका पिता बालसंङ तामाङ समेत राजनीतिमा होमिएका व्यक्ति हुन् । २३ सालदेखि ३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा होमिएका बालसंङले ३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गरेका थिए । यस अर्थमा पनि लामाको परिवार राजनीतिमा होमिएको पुष्टि हुन्छ । दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै ४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गरेका बालसंङ अहिले कांग्रेसमा छन् । 
काभ्रेमा जन्मे पनि काठमाडौंमा हुर्किएका लामा कलेज पढ्दा देखि नै राजनीतिमा होमिएका थिए । माओवादी युद्धकालमा काभ्रेमा रहेको लामाको घर माओवादीहरुले कब्जामा लिएपछि उनको परिवार कठमाडौंमा विस्थापित हुनु पुगेको थियो । लामाका बाबु र आमाको इच्छा छोरालाई डाक्टर, इन्जिनियर वा पाइलटमध्ये एक बनाउने थियो तर, उनी अध्ययनकै शिलशिलामा राजनीतिमा होमिसकेकाले पढाई सोचेजस्तो हुन सकेन । राजधानीका क्याम्पसहरुमा अत्याधिक राजनीतिक गतिविधि हुन्थे । उनी अध्ययनरत पशुपति क्याम्पस पनि अछूतो थिएन । 
तत्कालिन समयमा कांग्रेस गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस थियो । लामाको परिवारले भने प्रजातान्त्रिकलाई समर्थन गर्दै आएको थियो । 
सहयोग गर्न जाँदा कुटाई खाएँ
‘२०५७÷०५८ सालमा स्ववियु चुनावको समयमाहामी पार्टीका साथीहरुलाई सहयोग गर्न त्रिचन्द्र क्याम्पस गयौँ । त्यहाँ परिस्थीति अर्कै बनेको रहेछ । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन थियो । तर, हाम्रो प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । उनीहरु मिलेर हामीमाथि आक्रमण गरे । हामी निशस्त्र थियौँ । उनीहरुसँग हातहतियार थियो त्यसैले घाइते भयौँ । म चाहान्थेँ विचार बोकेको आधारमा कसैमाथि आक्रमण नहोस् । तर, परिस्थिति त्यस्तो थिएन । प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरु कुटिएका थिए ।’ लामाले सुनाए । 
ध्यान राजनीतितिर गएपछि लामाको पढाई अगाडी बढ्न नसकेपछि उनले करिब एक वर्ष काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाएँ । त्यहाँ म्यानेजमेन्टबारे सिकेँ । त्यसपछि पुर्खौली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हालेका लामाले ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । 
‘रेष्टुरेन्टमा कोही आएर धम्काउँथे, फ्रिमा खाने, कसैले दबाउन खोज्थे गर्थे जुन कुरा मैले सहेर बसिन र प्रतिकार गरे । के यो मेरो दोष हो र ?’ लामाले उल्टै प्रश्न गरे । त्यो नै लामाका  झैझगडाका कारणहरु थिए । तर, विगत लामो समयदेखि आफू झै झगडामा नरहेको लामाले हामीलाई सुनाए । 
रेष्टुरेन्ट व्यावसायसँगै क्रसर सञ्चालनका क्रममा समाज सेवामा लागेका लामाले शिक्षा क्षेत्रमा सहयोग गर्न थाले । माओवादी युद्धकालमै उनले काभ्रेका धेरै विद्यालयमा निशुल्क कोचिङ कक्षा चलाएका थिए । 
सञ्चार माध्यमहरुले आफूलाईं ‘गुण्डा नाइके’ भनेकोप्रति उनी चिन्तित बनेका छन् । उनी भन्छन्–‘मैले अहिलेसम्म कसैको आँशु खाएको छैन। कसैले  गणेश लामाले धम्काएर हप्ता अशुली गरेर रुपैयाँ लिएको छ भन्छ भने म उसलाई डबल रकम फिर्ता गर्छु । मैले परिश्रम गरेर पैसा कमाएको हो । कुनै गलत काम गरेको छैन ।’
उनी थप्छन्–‘म अपराधमा हिँजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ । कसैलाई अन्याय अत्याचार हुँदा सहयोग गर्छु । पैसा लिएर होइन । त्यसै कारणले मिडियाहरुले मलाई गुण्डा नाइके बनाएका हुन् । तर, म त्यस्तो मान्छे विल्कुलै होइन ।’
अहिले पनि लामामाथि सम्पत्ति सुद्धिकरणको मुद्दा छ भने मनाङेको मुद्दा सल्टिसकेको छ । लामा भन्छन्–‘ म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै गरेको युवा हुँ । समाजप्रति म जहिले पनि पोजेटिभ नै
 छु । व्यापार गरेर खाने मान्छेलाई ‘गुण्डा नाइके’ भनिरहन मिल्छ ?’ 
लामा भन्छन्–‘देशमा कानुन छ । कानुन भन्दामाथि कोही पनि छैन । केही झूटा मुद्दा लगाएर ममाथि षडयन्त्र पनि भयो । मलाई प्रहरीले विभिन्न बहानामा पक्राउ गरेकै हो । तर, प्रमाण नभेटिएपछि म रिहाइ भएँ ।’

Post a Comment

0 Comments