Subscribe Us

आक्रमणकारी विप्लवका कार्यकर्ता खोज्दै प्रहरी,
डेढ सयबढी पक्राउ

काठमाण्डौ । उम्मेदवारमाथि आक्रमण सुरु भएपछि गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेर विप्लव समूह मुख्य चुनौती रहेको निष्कर्ष निकाल्दै सो समूहका नेता तथा कार्यकर्ता खोज्दै पक्राउ गर्ने क्रम बढाएको छ । 
गृहका एक अधिकारीका अनुसार विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ गरी निर्वाचन सम्पन्न नभएसम्म सार्वजनिक अपराध अभियोगमा हिरासतमा राख्ने रणनीति सरकारले अपनाएको छ ।

सोही रणनीति अनुसार प्रहरीले १० जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै १ सय ५८ जनालाई पक्राउ गरेको छ । गृहका अनुसार कास्कीमा १०, ताप्लेजुङमा ८, धनकुटामा ५, धादिङमा ६, प्युठानमा ६, अर्खाखाँचीमा ६, गोरखामा ७, रुकुममा ७, बर्दियामा ९ र दाङमा १७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्ने अधिकांश जिल्लातहका नेता कार्यकर्ता छन् । केन्द्रीयतहका नेता भने अर्धभूमिगत छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा निर्वाचनका लागि त्रुटिरहित रुपमा सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालित भइरहेको बताउँछन् । भौगोलिक, राजनीतिक आधारमा निर्वाचन सुरक्षा समीक्षा र रणनीति बनाएर सुरक्षाकर्मी परिचालन भइरहेको र देखिएका चुनौतीको समीक्षा गरी सोहीअनुसारको रणनीति बनाइएको उनले बताए ।

‘निर्वाचनको अवस्था र अन्य अवस्था फरक हुने भएकाले गृह संवेदनशील रुपमा अगाडि बढिरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘जुन प्रकृतिको सुरक्षा चुनौती देखिएको छ त्यो हामीले पूर्वआकलन गरेकै विषय हो । अहिलेसम्म सुरक्षा परिचालनमा कुनै त्रुटि भएको छैन ।’

‘निर्वाचन विरोधी गतिविधिमा संलग्न देखिएका जो कोहीलाई पक्राउ गर्न केन्द्रबाट निर्देशन गइसकेको छ,’ प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ‘निर्देशन अनुसार एक सय ५८ पक्राउ परेको जानकारी आएको छ । उनीहरूबारे अनुसन्धान भइरहेको छ ।’

Post a Comment

0 Comments