Subscribe Us

गौचन हत्याकाण्डका अभियूक्त बस्नेतको सिआबीमा भयो हालीमुहाली

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत अनुसन्धानको क्रममा यतिखेर प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा छन् । 

हिरासतमा रहेका व्यक्तिलाई सिआईबीले एकाघरका परिवार र कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई भेट्न दिँदैन । तर, गौचन हत्याका मुख्य योजनकार भन्दै सिआईबीले सार्वजनिक गरेका बस्नेत भने बिहान उज्यालो भएदेखी साँझ नपरेसम्म भेटघाट मै व्यस्त हुने गरेको स्रोतको दाबी छ ।

यतिमात्र नभए बस्नेत दिनभर हिरासतमा नबसी, सिआईबीको कम्पाउन्डमा रमाउँदै आएका छन् । भारतमा बसेर नेपालमा गुण्डागर्दी गर्दै आएका बस्नेतलाई नेपाल प्रहरीका डिएसपी कुमुद ढुंगेलको योजनामा नेपाल ल्याईएको थियो । डिएसपी ढुंगेल रामेछाप जिल्लाका प्रहरी प्रमुख हुन् ।

सिआईबीको विशेष अनुरोधमा डिएसपी ढुंगेलले ज्यान बचाईदिने आश्वासनमा बस्नेतलाई  नेपाल झिकाएका हुन् । अन्य प्रहरी युनिटले पक्राउ गर्दा ईन्काउन्टरमा पर्न सक्ने भएपछि बस्नेत नाताले दाई पर्ने डिएसपी ढुंगेलले पठाएको सिआईबी टोलीसँग नेपाल आएका हुन् ।

प्रहरी इन्काउन्टरमा घैंटे भनिने कुमार श्रेष्ठ मारिएपछि बस्नेतको समूहले प्रहरीका दुई अधिकृतलाई निशानामा राखेका थिए । त्यसको सुँईको तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी हालका डिआईजी सर्बोन्द्र खनालले पाएपछि बस्नेत फरार भई दिल्ली पुगेका थिए ।

दिल्ली पुगेका बस्नेतले योजनाबद्ध तरीकाबाट नेपालमा चन्दा आतंक मच्चाउँदै आएका थिए । सोही क्रममा निर्माण व्यवसायी गौचनको हत्या गराएका थिए । गौचन हत्या पश्चात् अनुसन्धानमा जुटेको डिआईजी गणेश केसी संयोजक भएको समितिले घटनामा संलग्न चार जनालाई पक्राउ गर्दै प्रमुख योजनाकार बस्नेत भएको निष्कर्ष निकालेको थियो । 

गौचन हत्यामा मुख्य योजनाकार बस्नेत भएको सार्बजनिक भएपछि सिआईबीको टिम बस्नेत पक्राउ गर्न लागिपरेको थियो । तर बस्नेतलाई पक्राउ गर्न त्यति सहज भने थिएन । 

गौचन हत्या हुन दुई महिना अगाडीदेखि नै सिआईबीको टोली बस्नेत र मनोज पुन खोज्दै दिल्ली र गोवा पुगेको थियो । तर कुनै  सुँईको पाउन सकेको थिएन । गौचन हत्यापश्चात् डिएसपी ढुंगेलको अनुय बिनयमा बस्नेतले आत्मा सर्मपण गरेका हुन् । पक्राउ परेका बस्नेतलाई सिआईबीले आफै अनुसन्धान गर्दै आएको छ । 

उता, डिआईजी गणेश केसीको नेतृत्वमा बनेको अनुसन्धान समितिले नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको अन्य आरोपीलाई महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धान गर्दै आएको छ । यसअघि सिआईबीले पनि पक्राउ परेका अभियुक्तहरुलाई सम्बन्धित प्रहरी युनिटमा अनुसन्धानका लागि पठाउने गर्दै आएको थियो । तर, गौचन हत्या प्रकरणमा भने त्यसो गरेन । सिआईबीले बस्नेतलाई भारतको दिल्लीबाट पक्राउ गरी ल्याएता पनि छानविन समितिलाई नबुझाई आफै मुद्दा चलाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

बस्नेत पक्राउ पर्नु केही समयअघि पनि सिआईबीले काठमाडौंको कपनबाट हतियरसहित पक्राउ परेका दुई जनालाई उक्त समितिको जिम्मा लगाएको थियो । गौचन हत्यामा हतियारको व्यवस्था गरेको अभियोगमा पक्राउ परेका बसन्त थेवे र धनराज योङहाङलाई सिआईवीले केसी नेतृत्वको छानविन समितिमा जिम्मा लगाएको थियो । तर, बस्नेतलाई भने सिआईवी आफैले अनुसन्धान थालेपछि सिआईवीको छानबिन माथि प्रश्न उठेको छ । 

बस्नेतले प्रहरीसँगको बयानमा भनेका थिए, ‘गौचनको हत्या मेरो योजनामा भएको हो र दावा लामामाथि गोली पनि मैले नै हान्न लगाएको हुँ । तर, सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो । मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं । म र तिवारीबीच अहिले सम्बन्ध छैन ।’ सबैभन्दा अचम्मको कुरा त के छ भने बस्नेत आफैले स्वीकार गर्दा पनि उनलाई कारबाही गरेर यस्ता अपराधका घटनाहरु कम गराउनुको साटो अपराधीलाई नै उन्मुक्ति दिने प्रयास हुन थालेपछि प्रहरीको विश्वास घट्ने देखिएको हो । 

विगतमा प्रहरीले गुण्डा नाइकेहरु दावा लामा, मिलन चक्रे, रमेश बाहुन जस्ता बस्नेतका बिरोधीलाई पक्राउ गर्दा लागूऔषध र हतियार बरामद गरेको थियो । बस्नेतका शत्रु अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को त प्रहरी इन्काउण्टर परि मृत्यु भैसकेको छ । तर, हतियारधारी समूह चलाउने  बस्नेतलाई भने किन ससुराली घरमा राखेझै राख्ने र सजाय कम गराउने उपाय खोजिँदै छ ? आपाराधका श्रृंखला बढाउन कि बस्नेतसँग आर्थिक चलखेल गरी प्रहरी मोटाउन ? गम्भिर प्रश्न उब्जिएको छ । 
समिरमान बस्नेतले विदेशमा नै बसेर आपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजनीतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ । समिरमानले कुनै पनि अपराधिक समूहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ । पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ ।

बस्नेतले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएका थिए । 
बस्नेतले गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेका थिए । यसरी प्रहरीकै सामुन्ने छाती फुलाएर गर्बका साथ दुई जनाको हत्या र एक जनामाथि गोली हान्न लगाएको स्विकार गर्ने अपराधी बस्नेतमाथि गरिएको व्यवहारले उनलाई बचाउन खोजिएको प्रष्ट देखिन्छ । 

विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ । समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन् । पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन् ।

तर, भारतमा रहेका बस्नेतलाई नेपाल ल्याउन सफल भएको सिआईबीको टोलिले दुई महिनासम्म् किन लोप्साङ, रोशन बुढाथोकी, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, र अजय थापालाई पक्राउ गर्न सकेन?  प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए ।

को हुन् बस्नेत ?
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका स्थानीयबासी हुन् । आप्mना मित कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि उनी भारत पलायन भएका हुन् । भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दै आएका थिए । 

आफ्नो मीतलाई प्रहरीले मारेको भन्दै त्यसको जवाफ फर्काउने चेतावनीसहित उनी भारत पसेर नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए । सबैभन्दा पहिले ८ वर्षअघि उनी, दिनेश अधिकारी चरी र राधे भण्डारी मिलेर ठेक्कापट्टामा लागेका थिए । पछि लेनदेनको विषयमा चरी र घैंटेबीच विवाद भयो । त्यसपछि घैंटेले राधे र समिरलाई लिएर चरीलाई एक्लै बनाए ।

त्यसपछि गुन्डानाइके रमेश बाहुन गुन्दागर्दीमा संलग्न भए । रमेश र समिर मिलेर काम गर्न थाले । उनीहरूबीच पनि लेनदेनका विषयमा झगडा भयो । समिरले रमेशको पोल्टीफार्ममा गएर गोली हाने । पछि समिरले प्रहरीमा फरार सूचीमा रहेका युवाहरू भेटेर आफ्नो समूहमा ल्याए । घैंटेसँग मिलेर निर्माण क्षेत्रमा केही रकम हाले । त्यसैताका घैंटे इन्काउन्टरमा मारिए।प्रहरीले घैंटेका मित भन्दै उनलाई पनि खोज्न थाल्यो । प्रहरीमा राम्रो पडक बनाएका समिर प्रहरीकै सुराकीमा लुक्न भारत पुगे । भारतमा मनोज पुनसँग उनको भेट भयो ।

१ वर्षजति उनीसँग मिलेर काम गरे । तर, पछि पुनसँग झगडा परेर समिर एक्लिएका थिए । समिरविरुद्ध ३ ठूला आरोप छन् । २०७३ साल युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, २०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डानाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार र २०७४ साल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या । 

अहिले प्रहरी हिरासतमा रहेका बस्नेतलाई प्रहरीले नै ससुराली घरमा राखेझै गरी उनले भने अनुसारको सेवा र सुविधा प्रदान गरेर अनुसन्धान गरिरहेको स्रोतको दावी छ । अरुलाई पक्राउ गर्दा भनेको बेलामा हत्कडी लगाएकै बेलामा पनि भेट्न नदिने प्रहरीले बस्नेतलाई भने बिहानदेखि बेलुकासम्म भेटघाट गर्न दिने र उनले भने अनुसार बाहिर जान समेत दिने गरेको छ । 


Post a Comment

0 Comments