Subscribe Us

शेरबहादुरले आईजीपी हुन रोके, अब जनताको प्रतिनिधि हुन्छु : सिलवाल

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं. १ बाट वाम गठबन्धनका उम्मेदवार नवराज सिलवालले मंसिर २१ गतेलाई ‘ब्यालेट’बाट गरिने क्रान्तिको दिन भएको बताएका छन् । 

ललितपुरको चापागाउँस्थित बसपार्कमा आयोजित कार्यक्रममा पूर्वडीआईजीसमेत रहेका सिलवालले आफूलाई सर्वोच्च अदालतले नेपाल प्रहरीका लागि आईजीपी बनाउन परमादेश दिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोकेको आरोप लगाए । 

उनले भने, ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले यो त अन्याय भो भने । तर, शेरबहादुरजीले मेरो क्षेत्रको नै व्यक्ति आईजीपी बन्नुपर्छ भनेर अड्डी कस्नुभयो, नत्र सरकार ढाल्छु भन्नुभयो ।’ उनले अब ललितपुरका क्षेत्रका जनताको मतले आफू जनप्रतिनिधि बन्ने र जनताको सुखदुःखमा साथ दिने बताए ।  

‘म शेरबहादुर देउवाजीलाई धन्यवाद दिन चाहन्छु, उहाँले नरोकेको भए म एउटा संस्थाको नेतृत्व गरेर बसेको हुने थिएँ, आज जनताको कै नै नेतृत्व लिने अवसर पाएको छु,’ उनले भने । उनीहरुले आफूलाई थुन्न खोजेको, नक्कली मुद्दा लगाएको, मुद्दा फिर्ता लिन राजदूत वा प्रधानमन्त्रीको सल्लाहकार बनाउने प्रलोभन दिएको पनि सिलवालले बताए । तर, आफूले सधैं न्यायका लागि लडाइँ लडिरहेको उनले बताए । 

उनले आफूले प्रतिशोधको राजनीति नगरेको स्पष्ट पारे । ‘मलाई यहाँको भूगोल थाहा छैन भनेर प्रतिस्पर्धी साथीहरुले भन्नुभयो । यहीँ ललितपुरमा जन्मेको, हुर्केको र पढेको मान्छे हुँ म, के मलाई यहाँको भूगोल थाहा छैन ?’ उनले प्रश्न गरे । ‘उदयशमशेरलाई जनताले उदाउन मौका दिनुभयो, तर उहाँ यसरी बादलमा हराउनु भयो कि जनताले प्रकाश पाउनुभएन, त्यसैले आगामी २१ गतेदेखि अस्ताउँदै हुनुहुन्छ,’ सिलवालले भने । 
यसअघि सो क्षेत्रमा कांग्रेसले जिते पनि जनताको वास्तविक समस्या समाधान हुन नसकेको र आफूले अब सबै जनताको हितमा काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । आफूले कहिले भ्रष्टाचार, बेइमानी नगरेको बताउँदै उनले जीवनभर भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध लडिरहने जिकिर गरे । आफ्नो जीतसँगै ललिपुर क्षेत्रका ग्रामीण जनताको जीवनमा आमूल परिवर्तन हुने गरी काम गर्ने विचार व्यक्त गरे । 

Post a Comment

0 Comments