Subscribe Us

आपराधिक गिरोहको ठगी गर्ने नयाँ शैली,
शिक्षित युवती पनि भारतीय ठगको जालमा

काठमाडौं प्रहरीमा एउटा नौलो ठगी घटनाको उजुरी दर्ता भएको छ। सुरुमा प्रहरीलाई विश्वास लागेको थिएन। 
काठमाडौंमै विवाह गर्ने बहानामा विवाह पूर्व दाइजो ठगी गरेको उजुरी उपर प्रहरीले अनुसन्धान अगाडि बढायो। भारतबाट काठमाडौंमा बिहेका लागि आएकी एक शिक्षित युवती भारतीय ठगको चुंगुलमा परेकी हुन्। 
भारत झारखण्डकी डा. रमा (नाम परिवर्तन) र काठमाडौं सिनामंगलमा बस्ने डा. विशाल प्रतिक मिश्रबीच विवाह गर्ने चाँजोपाजो मिलेपछि काठमाडौंमा भेटेर इन्गेजमेन्ट गर्ने कुरा मिल्यो।
दुवै परिवारले र्‍याडिसन होटलमा भव्य पार्टीसहित रमा र विशालको ‘इन्गेजमेन्ट’ गराए। ‘हाइप्रोफाइल’ की रमा र विशालको इन्गेजमेन्टमा गत वैशाख ३ गते माधवकुमार नेपालसमेत पुगेर बधाई दिएका थिए। दुवै परिवारबीच इन्गेजमेन्ट अगाडि नै रमालाई गहना खरिद गर्ने योजना बन्यो। रमाका परिवारले रिद्धिसिद्धि ज्वयलर्समा गएर सात लाख रुपैंया बराबरका गहना खरिद गरिदिए। बैशाख ३ गते इन्गेजमेन्ट भएपछि विशालका परिवारले असार ४ गते विवाह गर्ने निधो गरे।
छोरी डाक्टर र डाक्टरसँगै विवाह गरेपछि भविष्य राम्रो हुने देखेपछि रमाका परिवारले विशालका परिवारप्रति कुनै शंकाको दृष्टीकोणले हेरेनन्। रमाका परिवारले सकभर जन्ती झारखण्डमै ल्याउन विशालका परिवारलाई आग्रह गरे। तर मानेनन्। असारमा विवाह गर्ने योजना अनुसार रमाका परिवार काठमाडौं आए। सिनामंगल बस्ने विशालका परिवारको घरको ढोका बन्द थियो। रमाका परिवारले फोन सम्पर्क गर्न खोजे तर सम्पर्क भएन।
केही समयमै विशाल सम्पर्कमा आए र भने, ‘तपाईंकी छोरीका सबै शैक्षिक प्रमाणपत्र नक्कली रहेछन्।’ रमाका परिवारले प्रमाणपत्र सक्कली नै रहेको थप प्रमाण पेश गरे। तर, विवाह गर्ने कुरो मिलेन। रमाका परिवारले तबमात्रै थाहापाए विशालका परिवारले ठगी गरेको भनेर।
यो घटना महानगरीय प्रहरी परिसर टेकुमा असार ११ गते दर्ता भयो। जाहेरी अनुसार गरगहना, लत्ता कपडा र अन्य गरी १५ लाख रुपैंयाबढी विशालका परिवारले ठगी गरेको छ। रमाका परिवारले विशालसँगै उनका बाबु राकेशचन्द्र मिश्र र आमा अनिता मिश्रविरुद्ध जाहेरी हालेका छन्।
प्रहरीले विशाललाई पक्राउ गर्ने निधो गर्‍यो। तर पक्राउ अघि नै विशालले उच्च अदालत पाटनमा निषेधाज्ञा जारी गराए। काठमाडौं परिसरले अदालतलाई जफाव फकार्यो तर विशाल अझै पक्राउ परेका छैनन्।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रामदत्त जोशीले काठमाडौंमै विवाह गर्ने बहानामा दाइजो ठगी भएको यो नमुना घटना भएको बताए। उनले भने,‘ काठमाडौंमा ठगीको बिगबिगी छ। कोही अनजानमा त कोही जानीजानी ठगिएका छन्।’

Post a Comment

0 Comments