Subscribe Us

आइईएलटिएस परीक्षामा पैसाको सेटिङ,
काउन्सिलका कर्मचारीमाथी एसएसपी धानुकको निगरानी

काठमाडौं । ब्रिटिस काउन्सिलले लिने आइइएलटिएस परीक्षामा पैसाको ठूलो चलखेल हुने गरेको खुलेको छ । 

ब्रिटिस काउन्सिलका कर्मचारीको मिलेमतोमा परीक्षाको अघिल्लो दिन प्रश्नपत्र आउट गर्ने र विद्यार्थीलाई विक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबारका लागि तय भएको आइईएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले शुक्रबार राति नै सुन्धारास्थित एउटा गेस्ट हाउसबाट बरामद गरेको छ । शुक्रबार भेटिएका प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरू एउटै भएपछि प्रहरीले अनुसन्धानको दायरा अझै फराकिलो बनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति प्रश्नपत्र लिक गराउने गिरोह र प्रश्नपत्र किन्दै गरेका विद्यार्थीलाई राजधानीको एक गेस्ट हाउसबाट प्रक्राउ गरेपछि यो तथ्य खुलेको हो ।

। परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामदत्त जोशीका अनुसार विद्यार्थीले दिएको उजुरीका आधारमा गेस्ट हाउसमा छापा मारी १३ जना प्रक्राउ परेको जानकारी दिए । उनले भने, ‘उजुरीका आधारमा शुक्रबार राति १३ जनालाई प्रक्राउ गरेका छौँ, उनीहरूमध्ये अहिलेसम्म ४ जना संलग्न रहेको पाइएको छ, बाँकीमाथि अनुसन्धान जारी छ ।’ जोशीले  सबै सत्यतथ्य बाहिर आउने जानकारी दिए ।
प्रहरी अनुसन्धानमा आइइएलटिएस परीक्षा पास गर्न चाहने विद्यार्थीसँग पैसा लिएर काउन्सिलकै कर्मचारीले उनीहरूलाई पास गराउने गरेको खुलेको छ । परीक्षाअघि नै विद्यार्थीलाई प्रश्नपत्र विक्री गर्ने काममा काउन्सिलकै कर्मचारीको मिलेमतो रहेको देखिएको स्रोतको दाबी छ । एजुकेसन कन्सल्टेन्सी सञ्चालकसँगको मिलेमतोमा काउन्सिलका कर्मचारी प्रश्नपत्र विक्रीमा संलग्न रहेको स्रोतको भनाइ छ ।
काउन्सिलका कर्मचारीले एक जनालाई प्रश्नपत्र विक्री गरेको डेढदेखि २ लाख ५० हजारसम्म लिने गरेका छन् । लामो समयदेखि पैसा लिएर प्रश्नपत्र विक्री गर्दै आएका र आफूलाई काउन्सिलको कर्मचारीसमेत बताउने पक्राउ परेका सुरज तामाङले काउन्सिलबाटै प्रश्नपत्र विक्री हुने गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा जानकारी दिएको प्रहरी स्रोतको भनाइ छ । नेपालमा रहेको ब्रिटिस काउन्सिलबाट मात्र नभएर विदेशका काउन्सिलबाटसमेत नेपाली विद्यार्थीलाई प्रश्नपत्र विक्री हुने स्रोतको दाबी छ ।
अनुसन्धानका क्रममा आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका एक एजेन्टले आधा दर्जन विद्यार्थीसँग करिब चार लाख रुपैयाँभन्दा बढी उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशमा जानुअघि विद्यार्थीले यस्तो परीक्षा पास गर्नुपर्ने हुन्छ । आइइएलटिएसमा ६ दशमलव ५ भन्दा बढी अंक ल्याएमा भिसा लाग्ने सम्भावना बढी हुने गर्दछ ।

Post a Comment

0 Comments