Subscribe Us

यसरी हुँदैछ एमालेमा विस्फोट ,
एक दर्जन ‘क्रिम’ नेतासहित नेपालले लिँदैछन् बोल्ड निर्णय

पहिलो पार्टी बनेपछि ओली भारतसँग लम्पसार परेको, आवेग र उत्तेजनामा आएको अनि राजतन्त्र फर्काउन सक्रिय रहेको आरोप एमालेभित्रैबाट लाग्न थालेको छ 
पार्टी एकीकरणको वार्ता चलिरहेको बेला ओलीले देखाएको हर्कतले अहिले पार्टीभित्र विभाजनको विऊ रोपिएपछि एकीकरणमा पनि शंका उव्जिएको छ

काठमाडौं । नेता राजेन्द्र पाण्डे र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच मुख्यमन्त्रीको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली निकट डोरमणि नेपाल संसदीय दलको नेता चुनिँदै ३ नम्बर प्रदेशको मुख्यमन्त्री निर्वाचित भए । नेपालको शपथ सोमबार भयो तर शाक्य त्यहाँ देखिइनन् । एमालेले महिला मुख्यमन्त्री बनाउने इतिहाँसलाई चुकाएको उनको प्रतिक्रियामा रोष, आवेग र आशा गुमेपछिको थकित अनुहार देखिन्थ्यो ।

लामो समयसम्म एमालेको राजनीतिमा सक्रियता देखाएकी शाक्यलाई गुट राजनीतिको अचानोमा राखेर ओलीले बाटो छेकिदिए । ओलीको यो रणनीतिसँग पार्टी नेता अमृतकुमार बोहरा रिसाए । त्यतिमात्र होइन माधवकुमार नेपाल पक्षकी मानिने शाक्यप्रतिको निर्णयविरूद्ध घोचपेच सुरू भइसकेको छ । ‘फेरि गुट राजनीतिलाई मल हालिरहेको पाइयो, प्रदेशमा छेक्ने काम भएको छ । यसको हिसाबकिताब हुन्छ’, नेपाल पक्षका एकजना पोलिटव्युरो सदस्यले भने । 

प्रदेश नेतृत्वदेखि सभामुखसम्ममा ओलीले एक्लौटी निर्णय लिएपछि नेपाललगायतका नेताहरू रूष्ट बनेका हुन् । ओलीका पछिल्ला गतिविधिले बामदेव गौतम, झलनाथ खनाल, विष्णु पौडेल, भिम रावलपनि इतरमा सक्रिय हुन थालेका छन् । संसदीय दलको नेता, सभामुख र उपसभामुखमा ओलीले मनोपोली ढंगले मनोनित र नियुक्ति गर्न बाध्य पारेको भन्दै नेपाल पक्षले विरोध जनाएको हो । प्रदेश सरकारमा आफ्नो पक्षको पनि हिस्सेदारी चाहेको नेपाल पक्षको उपस्थिति कतै पनि देखिएको छैन ।

 बाम गठबन्धनको बहुमत रहेकोे ६ वटा प्रदेश मध्ये एमालले लिएको १,३,४ र ५ चारवटै प्रदेशमा ओली निकटका नेतालाई सर्वसम्मत, जालझेल गरी निर्वाचित गराउने काम भएको पार्टीभित्रै आरोप लागेको हो । शेरधन राई, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरूङ र शंकर पोखरेल ओलीकै विश्वासपात्रहरू हुन् । 

 पोखरेल र गुरूङ निर्विरोध चयन भएका थिए । राई र पौडेल निर्वाचनमार्फत् छानिए पनि जालझेल गरेर हराइएको नेपाल पक्षको आरोप छ । पार्टीको प्रदेश प्रमुख भएर संगठन सञ्चालन गरिरहेका नेपाल पक्षका तीनजना नेतालाई संस्थापनले पाखा लगाएपछि उनीहरूपनि अध्यक्ष ओलीप्रति आक्रोशित भएका हुन् । 

मुख्यमन्त्रीमा स्थान नपाएको नेपालपक्षले एउटा सभामुखमा चित्त बुझाउनुपरेको छ । प्रदेश १ का सभामुख प्रदीप भण्डारी मात्र नेपाल पक्षका हुन् । प्रदेश ७ बाट ओली पक्षकै अर्जुनबहादुर थापा सभामुख चयन भइसकेका छन् । प्रदेश ६ मा वाम गठबन्धनका ओलीपक्षकै राजबहादुर शाहीलाई सभामुख बनाउने तयारी रहेको बताइएको छ । ४ प्रदेशको सभामुख  एमालेको भागमा परेको छ  । प्रदेश ३ को सभामुख सानुकुमार श्रेष्ठ पनि ओलीकै निकटवर्ती हुन् । 

स्थायी कमिटि वैठकमा ओलीको यो हर्कतको बलियो प्रतिरोध भएको छ । शाक्यले भनिन्,‘चुनाव गर्ने भनेर अध्यक्षज्यूबाट छक्याउने काम भयो । प्रदेशका सांसदहरूलाई भेडाबाख्रा जस्तो थुन्ने काम गरियो । विहान सिधै भोट हाल्ने ठाउँमा लिएर आइयो । मलाई मुख्यमन्त्री बन्न नदिन गुटको चरम प्रयोग भयो । म गुटबन्दीको शिकार भएँ । मेरो राजनीतिक इतिहासको धज्जी उडाइयो ।’

एक दर्जन क्रिम नेताहरूसँग माधव नेपालले छलफल गरेर निर्णय दिने तयारी गरेका छन् । पार्टीभित्र ओली सर्वसत्तावाद निक्कै नै पेचिलो भएको भन्दै उपाध्यक्ष भिम रावलले नेपालसँग गुनासो समेत गरेको स्रोतको दाबी छ । ओलीको यो निर्णयको विरोधमा उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे, पोलिटव्युरो सदस्य पशुपति चौलागाईलगायतले कडा निर्णय लिनुपर्ने आवाज उठाएका छन् ।

 नेपालले ओलीको चरित्रले बेइमानीको हद नाघेको र एमालेलाई ओलीको प्रालि बनाउने कोशिश भएको बताएका थिए । ‘यसरी गुटलाई बलियो बनाउने र पार्टीलाई कमजोर बनाउने काम भएको छ । यसैबेला एकीकरणको कुरा पनि रोकिएको छ । खास कुरो के हो ? भन्ने बुझेर छुट्टै निर्णयको तयारी भएको छ ।’, उच्च स्रोतले भन्यो,‘यस्तै अवस्था आयो र ओली अनुकुलतामा मात्र निर्णय हुँदै गयो भने पार्टी उनलाई जिम्मा लगाउन सकिँदैन, हस्तक्षेप गर्न सकिन्छ ।’

अध्यक्षमा निर्वाचित भएपछि ओली पार्टीका शक्तिशाली निकाय स्थायी कमिटि, पोलिटव्युरो र केन्द्रिय समितिमा आफू बहुमतमा रहेका छन् । ‘त्यहि बहुमतका आधारमा जुँगामा ताउ लगाउने कोशिश गरिए प्रजातान्त्रिक प्रणालीको हत्या हुन्छ । पार्टी यसरी चल्दैन भन्नेमा पुगेका छौं’, नेपाल पक्षका एकजना नेताले भने,‘हामीले स्थायी कमिटिमा पनि यो कुरा राखेका छौं । पोलिटव्युरोमा पनि राख्छौं । केन्द्रिय कमिटिको पनि वैठक राखेर कुरा उठाउनुपर्छ ।’

ओलीलाई पहिलो पार्टी बनेपछि भारतसँग लम्पसार परेको, आवेग र उत्तेजनामा आएको अनि राजतन्त्र फर्काउन सक्रिय रहेको आरोप पनि लगाइएको छ । उनी केही समयअघि थाइल्यान्ड उपचारमा जाँदा भारतीय अधिकारीसँग भेट गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै विदेशमन्त्री सुष्मा स्वराजलाई बोलाएको विषयमा आलोचित छन् । 

पार्टी एकीकरणको वार्ता चलिरहेको बेला ओलीले देखाएको हर्कतले अहिले पार्टीभित्र विभाजनको विऊ रोपिएपछि एकीकरणमा पनि शंका उव्जिएको नेपाल पक्षको आरोप छ । नेपाल पक्षले ओली नसच्चिए पार्टी विभाजनसम्म हुनसक्ने संकेत गरेका छन् । 

Post a Comment

0 Comments