Subscribe Us

सांस्कृतिक पद लिन भारतमै लिगलिगे !

काठमाडौं । नेपाली जनताको मतले निर्वाचित भए पनि भारतीय संस्थापनको आशिर्वादबिना सत्तामा नपुग्ने नेपाली राजनीतिको रोग नै हो । 

थाइल्यान्ड भ्रमणमा भारतीय अधिकारीसँग एक किसिमको सहमति गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न आतुर छन् । 

अन्य नेताले पनि भारतको भरोसामा नै नेपाली सत्ताको चाबी लिने गरेका थिए । मधेसको राजनीति त झन् भारतबिना असम्भवजस्तै नै देखिएकाले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले ०६४ मा भनेका थिए– यस विषयमा हिन्दुस्तानसँग कुरा गरेपछि मिल्छ । अब राजनीतिको रथमात्र भारतबाट होइन, दरबारको रथ पनि भारतकै भरोसामा भएकाले पूर्वराजा ज्ञानेन्द्र त्यतातिर लम्किएका छन् । 

ज्ञानेन्द्रले भारतको उडिसा भ्रमण आइतबार सम्पन्न गरेका छन् । उनी एउटा धार्मिक अनुष्ठानको मुख्य अतिथिका रूपमा त्यहाँ पुगेका थिए । अझ केही दिन उनी भारतको भ्रमणमा व्यस्त रहँदा उच्च राजनीतिक भेट गर्नेछन् । 

उनले उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकसँग भेट गरिसकेका छन् । पटनायक भारतीय जनता पार्टी गठबन्धनको विजु जनता दलबाट निर्वाचित थिए । धार्मिक क्षेत्रको प्रतिनिधित्व गर्दै त्यसैको आडबलमा भारतको दबाब सृजना गरी उनी सांस्कृतिक राजाको पद हात पार्ने दाउमा रहेको स्रोतहरूको दाबी छ ।

 केही दिनयता उनमा त्यो आत्मविश्वास पनि पलाएका कारणले भारत उड्दै गर्दा भनेका थिए,‘पात फेरिरहन्छ जरा अटल रहन्छ ।’ उनको संकेत राजसंस्था नेपालकोे धरातल भएकैले पनि राजनीतिक दल र व्यवस्थाभन्दा बलियो रहेको भन्ने थियो । बारम्बार मिडियामा विभिन्न राजनीतिक संकेतका आधारमा खुलेर आउने ज्ञानेन्द्रले भारतको भ्रमणअघि यस्ता अभिव्यक्ति दिँदै आएका छन् । 

हिन्दुवादी शक्ति भारतीय जनता पार्टीको सत्तारोहणपछि त्यहाँका राजनीतिज्ञ र नेतासँगको भेटघाटलाई बाक्लो बनाएका ज्ञानेन्द्रले गत महिना भारतको लखनऊमा पुगी मध्यप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटे । पश्चिम नेपालको भ्रमणका क्रममा गत महिना मुख्यमन्त्रीको कार्यालय लखनऊमा ज्ञानेन्द्रलाई स्वागत गर्दै आदित्यनाथले सम्बोधनमा ‘राजा’ नै भने । त्यो भेटको मेसो कांग्रेसका नेता खुमबहादुर खड्काबाट मिलेको थियो । 

योगीले ट्वीटरमा लेखे,‘नेपालको राजालाई सम्झना स्वरूप उपहार दिन पाउँदा खुशी छु । धार्मिक र सांस्कृतिक सम्बन्धका विविध पक्षमा कुराकानी भयो ।’ आदित्यनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र मात्र होइन, रणनीतिक सल्लाहकारका रूपमा पनि चिनिने गरेका छन् । आदित्यनाथ विश्व हिन्दु महासंघका कार्यक्रममा सक्रिय छन् । 

मुख्यमन्त्री निर्वाचित हुनुपूर्व आदित्यनाथ र ज्ञानेन्द्रको भेट काठमाडौंमा भएको थियो । विराट हिन्दु सम्मेलनका अवसरमा आदित्यनाथले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग लामो छलफल गरेका थिए । विभिन्न दिवसर र अवसर पारेर फरक तर राजनीतिक विज्ञप्ति जारी गर्दै आएका ज्ञानेन्द्रलाई उडिसामा धार्मिक नेताहरूले भव्य स्वागत गरेका थिए । 

भारतीय मिडियाले उनलाई नेपालका राजा ‘ज्ञानेन्द्र वीरविक्रम शाह’ भन्दै भव्य स्वागत भएको समाचार उच्च प्राथमिकतासाथ प्रकाशन र प्रशारण गरे । त्यहाँ उनलाई आरती गरी गरेर स्वागत गरिएको थियो । ज्ञानेन्द्रले सो क्रममा भने,‘म पशुपतिनाथदेखि जगन्नाथसम्म आइपुगेको छु ।’ उडिसा र नेपाललाई जोड्न चहानुहुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै ज्ञानेन्द्रले भने,‘निश्चय नै धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ र उडिसलाई म जोड्न चहान्छु ।’ 

०७३ र ०७४ सालको नयाँ वर्षका अवसर पारी ज्ञानेन्द्रले जारी गरेका विज्ञप्तिमा राजनीतिक टिप्पणीसहितको शुभकामना थियो । उनले ति विज्ञप्तिहरूमा देशभक्तहरूलाई समेटेर अघि बढ्नुपर्नेमात्र बताएका थिएनन् राजनीतिक दलको शाशकीय शैलीले मुलुक अघि बढ्न नसक्ने प्रष्ट सन्देश थियो । 

‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ति नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको’ उनको टिप्पणी थियो । उनले बारम्बार भन्दै आएका छन्,‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरूलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’

संविधान कार्यान्वयनको चरणमा संघीय चुनाव समेत सम्पन्न भई राजनीति नयाँ चरणमा प्रवेश गरिसक्दा ज्ञानेन्द्रको भ्रमणको सक्रियता र टिप्पणी अर्थपूर्ण नै रहेको बताइन्छ । धार्मिक अनुष्ठान र नेपालको संविधानको कार्यान्वयन दुवैलाई हानी नहुनेगरी ज्ञानेन्द्र सांस्कृतिक राजाका रूपमा प्रतिस्थापित हुने प्रयत्नमा रहेको उच्च स्रोतहरूको दाबी छ ।

यस्तो सहमति यो संविधान जारी हुनुपूर्व एक तहमा भइसकेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा सांस्कृतिक राजा राख्न सकिने अभिव्यक्ति दिनु, स्व. गिरीजाप्रसाद कोइरालाले बेबी किङको प्रसङ्ग कोट्याउनु र विभिन्न टेलिभिजनमा दलहरूसँग फरक प्रकारको ७ बुँदे सम्झौता भएको दाबी गर्दै ज्ञानेन्द्रको अन्तरवार्ता आउनु पनि संकेतका रूपमा व्याख्या गरिँदै आएको छ । 

१३ चैत २०६६ मा ज्ञानेन्द्र पहिलो पटक एउटा टेलिभिजन अन्तरवार्तामा आउँदै भनेका थिए,‘राजतन्त्रको अन्त्य भन्नु काल्पनिक कुरामात्र हो । राजतन्त्रको अन्त्य भएको छैन ।’ गणतन्त्र घोषणा भएको दुई वर्षपछि ज्ञानेन्द्रले त्यो अन्तरवार्तामा भनेका थिए,‘नेपाली राजतन्त्रको इतिहास सक्रिय र संवैधानिक लगायतका आरोह अवरोहबाट गुज्रिएकाले वर्तमान अवस्था पनि राजतन्त्रको इतिहासमा एक अवरोह मात्र हो अन्त्य होइन ।’ 

उनको त्यो अन्तरवार्तामा समयानुकुलमा राजतन्त्र संवैधानिक वा सांस्कृतिक रूपमा व्युँतने संकेत थियो । विगत केही वर्षयता उनको देशका विभिन्न स्थान भ्रमण र देशविदेशका धार्मिक अनुष्ठानको सक्रियताले त्यस्तो संकेत गरिरहेको विश्लेषकहरू बताउँछन् । 

११ वैशाख ०६३ मा जनआन्दोलनको दबाबपछि तत्कालिन प्रतिनिधि सभा पुनस्र्थापना गरी संवैधानिक बनेका ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतबाट भने १५ जेठ २०६४ को तत्कालिन संविधानसभाको पहिलो वैठकबाट मुक्त गरिएकोे थियो । यो सांस्कृतिक पद लिनकै लागि ज्ञानेन्द्र पनि भारतको लिगलिगे दौडमा सामेल भएका छन् । 

ज्ञानेन्द्र सचिवालयका अधिकारीहरूले राजतन्त्र फर्कनसक्ने संकेत पनि गरेका छन् । संवैधानिक वा सांस्कृतिक रूपमा राजाको पुर्नोत्थान हुनसक्ने संकेत उनीहरूले गरेका छन् । ज्ञानेन्द्र २ फागुनमा नेपाल फर्किने तयारीमा छन् । यसबीचमा उनले गोप्य रूपमा भारतीय प्रधानमन्त्री मोदीका सल्लाहकार, रअका अधिकारी र मोदीसँग पनि भेट गर्ने उच्च स्रोतको दाबी छ । 


Post a Comment

0 Comments