Subscribe Us

मोदीअघि अब्बासीको यो अर्थपूर्ण भ्रमण ,
दक्षिण एसीयामा फरक कुटनीतिक सम्बन्ध विस्तारको योजनामा नेपाल

काठमाडौं । प्रधानमन्त्री नियुक्ति हुनु अघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणका निम्ति बोलाएका थिए । 

विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा उनले यस्तो निम्तोमात्र पठाएनन्, पत्रमा पनि लेखेका थिए । मोदी समय मिलाएर चाँडै नेपाल आउने तयारीमा रहेका बेला यो दौडलाई पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान  अब्बासीले उछिनेका छन् । उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन सोमबारै काठमाडौं ओर्लिए । 

पाकिस्तानसँग चिसो सम्बन्ध रहेको भारतका प्रधानमन्त्री मोदीअघि खकानको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसलाई भारतभन्दा अघि चीन र पाकिस्तानले दक्षिण एसीयामा नेपाललाई आफ्नो पक्षमा राख्नका लागि सम्बन्ध विस्तारको योजना अघि सारेको भारतीय उच्च अधिकारीले तयार पारेको कुटनीतिक रिपोर्टमा उल्लेख रहेको स्रोतले दाबी गरेको छ । भारतीय अधिकारीले खकानको नेपाल भ्रमणका विषयमा पनि निक्कै चासो देखाएका छन् ।

नेपालका लागि पाकिस्तानी दुतावासले आफ्ना प्रधानमन्त्रीको भ्रमण नेपाल सरकारको निम्तोमा भएको उल्लेख गर्दै बधाईका लागि खकान काठमाडौंमा ओर्लिएको उल्लेख गरेको छ । दुईपक्षीय सम्बन्ध, सार्क शिखर सम्मेलनको तयारीका लागि पनि सल्लाह लिने दुतावासले उल्लेख गरेको छ । खकानले समकक्षी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेट गरी दुई दिने भ्रमण सिध्याएर स्वदेश फर्कने उल्लेख छ । 

उनलाई समकक्षी ओलीले खुलामञ्चमा गार्ड अफ अनरको सम्मान समेत दिएका छन् । तर, पाकिस्तानी अधिकारीहरूले नेपाल सरकारले विमानस्थलमा दिँदै आएको गार्ड अफ अनर खुलामञ्चमा दिनुलाई भारतीय दबाबको काम भएको ठानेका छन् । यद्यपि पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणले दक्षिण एसीयामा नेपालको राजनीतिक सम्बन्ध नयाँ शिराबाट सुरू हुनसक्ने अनुमान धेरैले गरेका छन् । पाकिस्तान सरकारले प्रजातान्त्रिक मुलुक नेपालसँगको दुईपक्षीय सम्बन्ध र सहयोगका लागि भ्रमण सफल हुने जनाइसकेको छ ।

 ‘क्षेत्रीय देशहरूको सम्बन्धको आधारलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री अब्बासीको भ्रमण तय भएको हो । यसले सहयोग र सार्क क्षेत्रको आगामी बैठकको तयारीका लागि सफलता पाउनेछ’, पाकिस्तानी दूतावासले भनेको छ । पाकिस्तानले नेपालका राजनीतिक दलले सफलतापूर्वक पार गरेको लोकतान्त्रिक प्रक्रियालाई बधाई दिँदै शान्ति प्रक्रियाको टुंगो लगाउने विधिका बारेमा पनि नेपाल पक्षसँग सुझाव लिने संकेत गरेको छ । 

नेपाल सरकारले शुक्रबार मात्रै अब्बासीको भ्रमणका लागि जानकारी पठाएको थियो । पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले उक्त सन्देश त्यहाँको सरकारसमक्ष पुराएपछि अब्बासीको नेपाल भ्रमण भएको हो । अब्बासी ३२ सदस्यीय टोलीसहित काठमाडौंमा छन् । 

यो भ्रमणलाई भारतीय विश्लेषकहरूले नेपालको नयाँ राजनीतिक रणनीतिका आधारमा भएको पनि टिप्पणी गरिसकेका छन् । कतिपयले नेपालमा बामपन्थी सरकार बहुमतमा आउनु चीनसँग पाकिस्तानको सम्बन्ध बलियो रहनुलाई जोडेर यो भ्रमणलाई व्याख्या गरेका छन् । भारतले दक्षिण एसीयामा बढाएको राजनीतिक दबाब चिर्नका लागि नेपालमा अनुकुल प्रधानमन्त्री ओलीका पालामा भ्रमण सिद्ध गराई पाकिस्तान सार्कमा नयाँ सम्बन्धका लागि अघि बढेको भनेर पनि टिप्पणी गरिएको छ ।

 पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण मिनि चीनको भ्रमण समेत भएका उच्चतहमा छलफल भएको छ । ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिएका छन् । वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेताको सहभागीता थियो । यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो । 

मंसिर, २०७१ मा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्क सम्मेलनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसलाई अघि बढाउन प्रधानमन्त्री अब्बासीले जोड दिएका छन् । पूर्वराजदूत डा. दिनेश भट्टराईले पाकिस्तान सरकारले नेपालको संस्थागत भएको लोकतान्त्रिक प्रक्रियालाई हेर्न आउनु सकारात्मक पक्ष भएको बताए । उनले भने,‘यस्तो भ्रमणलाई अन्यथा लिनु हुँदैन । तर, पाकिस्तान पनि दक्षिण एसीयामा फरक प्रकारको सम्बन्ध विस्तारका लागि सक्रिय छ भन्ने बुझ्न आवश्यक छ ।’

Post a Comment

0 Comments