Subscribe Us

मोष्ट वान्टेड बारुद सिंह सिआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले हत्या, अपहरण तथा विष्फोटन कार्यमा संलग्नलाई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर-२ मा प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई ब्यूरोले पक्राउ गर्न सफल भएको हो । 
तराईका विभिन्न जिल्लाहरुका दर्जनौं अपराध गरी फरार भएको उनीमाथि अभियोग थियो । रौतहट जिल्ला साविकको पोटियाही गाउँ विकास समिति वडा नम्बर-८ अमरपट्टी (हाल गरुडा नगरापालिका ७) स्थायी ठेगाना भएका बारुद सिंहलाई विरगञ्जबाट पक्राउ गरिएको हो ।
दर्जनौं अपराधिक घटनामा संलग्न बारुद सिंह पर्साको बिरगञ्ज महानगरपालिकामा लुकेर बसेको सूचना पाएपछि ब्यूरोको टोली उनलाई पक्राउ गर्न खटिएको थियो । सोही क्रममा पर्साको बिरगञ्ज ममहानगरपालिका वडा नम्बर ३ छपकैया नजिकबाट उनलाई पक्राउ कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको व्यूरोले जनाएको छ ।
अपहरण गरी कर्तब्य ज्यानः ब्यूरोका अनुसार पक्राउ परेका बारुद्ध सिंहले गत ०६७ साल ७ महिना १९ गते सर्लाही जिल्ला औरही गाउँ विकास समिति वडा नम्बर-९ ढेग्रापुलबाट शंकरपुर गाउँ विकास समिति वडा नं-७ बस्ने विजय यादवलाई अपहरण गरी फिरौती रकम माग गरेका थिए । फिरौती नपाएपछि गोली प्रहार गरी उनको हत्या गरिएको थियो । उनको हत्या काण्डका उनी फरार अभियुक्त हुन् । उनको समूहले माग गरेको रकम नदिएको भन्दै आगजनी गरेको र सो स्थानमा कार्यरत चुनचुन भण्डारीलाई पनि गोली हानी घाइते बनाएको थियो ।
कर्तब्य ज्यान : गत ०७३ साल भाद्र १७ गते राती अन्दाजी ८ बजे सर्लाही जिल्लाको बरहथवा नगरपालिका-७ बस्ने शम्भु दासले आफ्नो किराना पसल बन्द गरी घरतर्फ गईरहेको अवस्थामा बारुद सिंह लगायतका ४ जनाले गोली हानी उनको हत्या गरेका थिए ।
अपहरण तथा शरिर बन्धकः गत २०७४ जेठ १५ गते राती रौतहट जिल्लाको हर्दिया गाउँ विकास समिति वडा नम्बर ८ घर भई सर्लाही बरहथवा वडा नं.६ मा बस्ने रामपुकार राय यादवको ७ बर्षीय छोरा राकेशकुमार यादवलाई अपहरण काण्डमा समेत बारुद सिंह र उनको समूहको संलग्नता रहेको ब्यूरोले भनाई छ ।
लागुऔषध तथा हातहतियार खरखजानाः ०६७ साल साउन १७ गते रौतहट गौर नगरपालिका वडा नम्बर-५ स्थित अवैध लागुऔषध तथा हातहतियार तथा खरखजाना मुद्दाका उनी फरार अभियुक्त हुन् ।
बिष्फोटन तथा आगजनी: ०६८ असार ३१ गते रौतहट जिल्लाको गम्हरीया विर्ता-२ घर भई पोठियाही गाउँ विकास समितिको तत्कालीन सचिव महेन्द्र पण्डितलाई मागे अनुसारको रकम नदिएको भन्दै उनको घरमा बम बिष्फोट गराई आगजनी गरेको घटना उनको संलग्नता रहेको प्रहरीको दावी छ ।
प्रदेश नम्बर -२ मा सिंहको आतंकः बारुद सिंहको आतंक विशेषगरी प्रदेश नंम्बर-२ मा सवैभन्दा बढि देखिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बारुद सिंह भन्ने सुरेन्द्र यादवले विशेषगरी सर्लाही, रौतहट, बारा, धनुषा, पर्सालगायतका जिल्लाहरुमा आतंक मच्चाउँदै आएको थियो ।
उनले त्यहाँका उद्योग, ब्यवसायी तथा राजनैतिक दलका नेताहरुलाई फोन गरी धम्काउने, पैसा माग्ने तथा रकम लिई अपहरण तथा हत्या गर्ने जस्ता कार्य गर्दै आएका थिए । उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा समेत आवद्ध रहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

Post a Comment

0 Comments