Subscribe Us

ओलीले पार्टी बुझाए,
प्रचण्डले कार्यकर्ता डुबाए

एकीकृत पार्टी कमाण्डको जिम्मा पाएपछि प्रचण्डले ३० प्रतिशतमै चित्त बुझाए

प्रधानमन्त्री पदमा रहेसम्म ओलीले पार्टीको कमान्डर प्रचण्डलाई स्वीकारेका छन् । 

त्यसको बदलामा एमालेको ७० र माओवादीको ३० प्रतिशतको हिस्सेदारीमा प्रचण्डले चित्त बुझाएका छन् / 

प्राविधिक कुराका विषयमा महाधिवेशनमा पनि कुरा टुंगिन सक्छ अथवा विशेष सम्मेलन गरेर अनुमोदन हुन सक्छ

काठमाडौं । बामपन्थी एकीकरण निश्चित विन्दुमा पुगेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण आज विहान बस्ने एकता संयोजन समितिले टुंगो लगाउँदैछ । ९ वैशाख उपयुक्त मिति भन्दै एकीकरणका लागि गठन गरेका कार्यदलका प्रस्तावहरू संयोजन समितिमा पुगिसकेका छन् । त्यसमा आज छलफल हुँदैछ । तर, त्यसअघि नै सोमबार एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लेनादेनामा सहमति भएको छ । 

पार्टी नेतृत्वमा ओली र प्रचण्डको समान हैसियतसहित हिस्सेदारीमा पनि भागवन्डा भएको छ । प्रधानमन्त्री पदमा रहेसम्म ओलीले पार्टीको कमान्डर प्रचण्डलाई स्वीकारेका छन् । त्यसको बदलामा एमालेको ७० र माओवादीको ३० प्रतिशतको हिस्सेदारीमा प्रचण्डले चित्त बुझाएका छन् । कार्यकर्ताले समानताका आधारमा एकीकरणको दबाब दिएका बेला प्रचण्डले उक्त सुझावलाई मानेनन् । एकीकरण पूर्व माकेका विभिन्न फ्याक्सन र विभागका प्रमूखलाई राखेर प्रचण्डले सम्बोधन गरी चित्त बुझाउने प्रयास पनि  गर्नेछन् । 

‘एकीकरण रोकिएन, कसैले न कसैले सहमतिको विन्दुमा पुग्न केही त्याग गर्नुपर्ने देखियो । यसकारण आपसी समझादारीको त्याग गर्ने निर्णयमा अध्यक्षहरू पुगे ।’, स्रोतले भन्यो । सिन्धुपाल्चोकको सुकुटेबाट सिधै बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच अढाई घन्टा वार्ता भएको थियो । ‘भोली (मंगलबार) बस्ने बैठकमा ९ गते नै पार्टी एकीकरणको घोषणाको तयारी पनि हुनेछ । चित्त नबुझेका कुरामा बृहत छलफल हुनेछ । दुई अध्यक्षबीच भएको सहमतिका आधारमा निर्णय हुनेछ’, बालुवाटार स्रोतले भन्यो ।

नेकपा एमाले र नेकपा माओवादीले एकता घोषणाको तयारी गरिरहँदा मिति सर्नसक्ने बताउन थालिएको थियो । खासगरी एकता संयोजन समितिमा रहेका नेताहरूको विरोधाभाषपूर्ण प्रतिक्रियाका कारण यस्तो हल्ला चलेको हो । यता एकता पछि आफ्ना हैसियत र नेतृत्वमा समस्या आउन सक्ने भएपछि विभिन्न कोणबाट संशयको काम भइरहेको छ । ठूला भ्रातृ संगठनको अवस्था कस्तो हुने भन्ने चिन्ताले पनि विभाग इञ्चार्जहरू र संगठनका प्रमुखहरूमा संशय पैदा भएको थियो ।

मार्गनिर्देशक सिद्धान्त र चुनाव चिन्हमा पनि कुरा मिलेको छ । ‘यी प्राविधिक कुराका विषयमा महाधिवेशनमा पनि कुरा टुंगिन सक्छ अथवा विशेष सम्मेलन गरेर अनुमोदन हुन सक्छ । अहिले भागवन्डा र कसरी एकीकरणमा जाने भन्ने नै थियो ।’, उच्च स्रोतले भन्यो,‘यो विषयको अन्त्य भएको छ । घोषणा भएपछि अन्य कुरा मिल्दै जान्छन् ।’  

माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले जनयुद्धलाई मार्ग निर्देशक सैद्धान्तिक कडी बनाउनुपर्ने दबाब प्रचण्डसामु राखेको थियो । ओली र प्रचण्डले एकीकरण नचाहने एमाले र माओवादीकै नेताहरूको मिडिया हल्लालाई पनि चिरेर तोकिएको समयमा घोषणा सभा गर्न सहमति भएको छ । पछिल्लो पटक माओवादीमा एकीकरणपछि मिसिएका नेताहरू एकीकरणका लागि सकारात्मक छैनन् । खासगरी रामबहादुर थापा बादल, मणि थापालगायतका नेता एमालेमा पार्टी हराउने विषयले त्रसित छन् । 

बालुवाटार स्रोतका अनुसार सबै विषयमा प्रचण्डसँग मौखिक सहमति भइसकेको छ । जनयुद्धलाई सिद्धान्त भन्दा पनि कम्युनिष्ट आन्दोलनको मुख्य कडी बनाउनका लागि एमाले तयार भइसकेको छ । संख्यात्मक हैसियत भने चुनावी तालमेलका आधारमा नै तय हुनेछ । 


Post a Comment

0 Comments