Subscribe Us

इन्स्पेक्टर ठकुरीले बलात्कारी जोगाउन खोज्दा ...........

सर्लाही, वैशाख १६ । करिब तीन महिनाअगाडि काठमाडौंको ल्यान्डमार्क होटेलको बलात्कार काण्डमा मिलापत्र गराउन खोजेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे ।

सोही घटनाको विवादमा तानिएपछि वृत्त प्रमुख डीएसपी तिलक भारतीलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाइयो । 

सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउन प्रहरीकै सिनियर अधिकृतको संलग्नता पश्चात् उक्त घटनाले पवित्र संगठन नेपाल प्रहरीको बर्दीमा कहिल्यै नमेटिने दाग लाग्न पुग्यो । त्यसबेला राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित उक्त काण्ड सेलाउन नपाउँदै गतहप्ता सर्लाहीमा त्यस्तै किसिमको घटना घटेको छ । 

छिमेकी एक युवाको बलात्कारको शिकार भएकी एक किशोरीलाई न्याय दिलाउनुको साटो घटनालाई गुपचुपमा मिलाउन प्रहरी नै सक्रिय भएको रहस्य सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीका इन्स्पेक्टर अनिल ठकुरीले बलात्कृत किशोरीका आफन्तलाई घटना गुपचुपमै मिलाउन र मुद्दाको प्रक्रियामा नजान दवाव दिएको खुलासा भएको छ । कविलासी नगरपालिका–५ का ३१ वर्षे सुनिल पासवानले सोही स्थानकै १३ वर्षीय किशोरीलाई यही वैशाख ९ गते आइतबार करिब ८ः३० को समयमा बलात्कार गरेका थिए । 
घटनालगत्तै बलात्कारको शिकार भएकी किशोरीका बाबुले दोषीमाथी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिन गए । तर जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरी नलिई सम्बन्धित इलाका प्रहरी कार्यालय हरिपुरमा पठाइदियो । जाहेरी आएपछि हरिपुरका इन्स्पेक्टर अनिल ठकुरीले आर्थिक प्रलोभनमा परेर पीडक पक्षको बचाउ गर्दै पीडितलाई मिलापत्र गराउन दवाव दिएको पीडित पक्षले आरोप लगाएका छन् ।

निम्न आय भएको आफूलाई पीडक पासवान परिवारले आर्थिक प्रलोभन तथा बिभिन्न धाक धम्की दिएर बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिन खोजेको र प्रहरीले पनि पीडकको पक्षमा वकालत गर्न थालेपछि बलात्कृत किशोरीका बुवा महिला अधिकारकर्मी सावित्री सुवेदीलाई फोन गरी सम्पर्कमा गएपछि उक्त घटना बाहिरिएको हो । 

यौन दुराचार तथा हिंसाबाट पीडित किशोरीहरुको पक्षमा आवाज उठाउँदै उनीहरुको उद्धारमा काम गर्दै आएको संस्था छोराछोरी  नेपालमा आबद्ध महिला अधिकारकर्मी सुवेदीले पीडित किशोरी र उनका बाबुलाई काठमाडौं लिएर आएकी छन् । पीडित किशोरी अहिले ललितपुरको गोदावरीस्थित छोराछोरी नेपाल नामक संस्थाको संरक्षणमा छन् । किशोरीको उपचार, पालनपोषण तथा अध्ययनको व्यवस्था सोही संस्थाले गर्ने सुवेदीले जानकारी दिइन् । 

‘प्रहरी पनि पीडकसंगै मिलेपछि गाउँमा उहाँहरु असुरक्षित हुनुभयो त्यसले काठमाडौ लिएर आएको छु,’ सुवेदीले भनिन्, ‘इन्स्पेक्टर अनिल ठकुरीले पीडितलाई मिलापत्र गर्न दवाव त दिए नै, मैले यता झ्याप मिलाउला भनेको थिएँ तपाईंले फुत्त वीरगञ्ज लिएर जानुभएछ सम्म भन्न भ्याए ।’ उनले भनिन्, ‘शुरु शुरुमा मुद्दा दर्ता गर्न नमानेको प्रहरीले मिडियाको प्रेसरपछि मुद्दा दर्ता त ग¥यो तर आरोपी पक्रन आलटाल गर्दै आइरहेको छ । 

अधिकारकर्मी सुवेदीका अनुसार पीडक सुनिल पासवानका बाबु सुर्य पासवानले आर्थिक प्रलोभन देखाएर मिलापत्र गर्न दवाव दिएका थिए । पासवानको उक्त प्रस्तावमा इन्स्पेक्टर ठकुरीले सहमति जनाएको पुष्टि हुने प्रमाण प्राप्त भएको छ ।  प्राप्त प्रमाणमा इन्स्पेक्टर ठकुरी र अधिकारकर्मी सुवेदी बिचको टेलिफोन सम्वादको अडियो क्लिपमा ठकुरीले भनेका छन् ‘पैसा लेनदेन बाहिरै गरे पनि मिलापत्र गर्न चौकी जानुपर्छ भनेर भन्नुहोला है ।’

उच्च स्रोतका अनुसार उक्त घटना सार्वजनिक भएपछि नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले आवश्यक छानबिन गर्न प्रहरी मुख्यालयको उजुरी छानबिन शाखालाई आइतबार निर्देशन दिएका छन् । खनालको निर्देशनलगत्तै दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली छानबिनको लागि घटनास्थलतर्फ पठाउने तयारी  गरीएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । 

विवादास्पद पृष्ठभूमिका इन्स्पेक्टर ठकुरी यसअगाडि लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । ब्युरोमा रहँदा उनीमाथि बहुचर्चित प्रिकर्सर केमिकल काण्डमा संघाई समूहसँग आर्थिक लाभ लिएर मुद्दा कमजोर बनाएको आरोप लागेको थियो । तत्कालीन ब्युरो प्रमुख तथा पूर्वएआइजी जयबहादुर चन्दका विश्वासपात्र मानिने उनलाई गत वर्षको प्रहरी दिवसमा उत्कृष्ट अनुसन्धान कर्ताको पुरस्कार दिइएपछि संगठनमा असन्तुष्टि चुलिएको थियो । ठकुरीलाई चन्दकै जोडबलमा केही महिनाअगाडि इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीको प्रमुखमा सरुवा गरिएको थियो । 

Post a Comment

0 Comments