Subscribe Us

आक्रामक आईजी,
पहिलो आदेश– चेन अफ कमान्ड !

काठमाडौं । गत साता सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ आईजीपी बढुवा नियुक्ति गरेको छ । 

नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनालको नियुक्तिसँगै दुवै संगठनभित्र खैलाबैला मच्चिएको छ । 

आईजीको फूली लगाएपछि दुवै प्रहरी प्रमुखले आफू मातहतलाई ब्रिफिङ दिँदै कडा चेतावनी दिएपछि संगठन भित्र र बाहिर खैलाबैला मच्चिएको हो । 

आईजीद्वय खनालले चेनअफ कमाण्ड भन्दा बाहिर जाने र आपराधिक गिरोहसँग साँठगाँठ गर्नेलाई संगठनमा ठाँउ नहुने भन्दै चेतावनी दिएका थिए । सिपाही हबल्दारको पिडाको बिषयमा दुवै संगठन प्रमुखले आफ्नो ध्यानआकर्षण गराएका थिए । प्रहरीका आईजी खनालले सिपाही हवल्दारलाई कारवाही गरेर उम्कने दिन गएको भन्दै हाकिमलाई सचेत हुन सुझाएका छन ।

सशस्त्रका आईजी खनालले रातभर बन्दुक भिररे जागराम भएर हाकिमलाई निद्रा दिलाउने सिपाही हवल्दारको सुबिधाको बिषयमा आफू गम्भिर भएको बताउँदै देशमा सुरक्षा चुनौती बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्नका लागि पनि आफूले प्रभावकारी ढंगले सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खनालले देश, जनता र संगठनप्रति सधैँ वफादार र उत्तरदायी रही कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । संगठनलाई अझै मजबुत र नमूनाको रूपमा स्थापित गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू एक जुट भई सामूहिक भावनाका साथ अघि बढ्ने उल्लेख गर्दै चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही हरेकले आफ्नो कार्यशैली, सोच र व्यवहारमा परिवर्तन ल्याउँदै कर्तव्य निर्वाहमा दत्तचित्त भएर नलागे कारवाहीको भागिदार बन्नुपर्ने सुझाएका छन् । 

कोहीप्रति पूर्वाग्रह नराखी सबैलाई न्यायोचित तवरले वृत्तिविकास लगायतका संगठनका हरेक अवसर र काम–कारवाही पारदर्शी र प्रभावकारी ढंगबाट सञ्चालन गर्नमा आफूले समेत कुर्नै कसर बाँकी नराख्नेमा सशस्त्र आईजी  खनालले प्रतिबद्धता जनाएका छन् ।  

खनालद्वयको नियुक्तिसँगै दुवै संगठनका मै हुँ भन्ने हाकिमका निद हराम भएको छ । संगठनको प्रमुखको रूपमा व्यावसायीक छवि भएका प्रमुख पाएपछि सिपाही हवल्दार देखि जेहन्दार प्रहरी अधिकृत भने खुशी छन् । कर्मचारीको वृत्ति बिकासमा अब ठेस नपुग्ने अनुमान उनीहरूले गरेका छन् । चाकडी चाप्लुसी गर्ने तथा आर्थिक र राजनीतिक दबाब दिएर बढुवा र राम्रा पोस्टिङ खाँदै आएका प्रहरी अधिकृतका समेत निद हराम भएको चर्चा दुवै प्रहरी संगठन भित्र चल्न थालेको छ । 

Post a Comment

0 Comments